हावाहुरीबाट केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा दुई करोडको क्षति

हावाहुरीबाट केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा दुई करोडको क्षति

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख १०, २०७८

झापा । लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडकोे क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पु¥याउँदा एक करोड ९८ लाख ६० हजार बराबरका क्षति भएको हो ।

कृषि ज्ञान केन्द्र झापाका कृषि प्राविधिक शालिकराम भट्टराईले वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार घोगा लागिसकेका मकै र बह्रदशी गाउँपालिका–७ स्थित प्रधानमन्त्री कृषि आधुनिकीरणअन्तर्गतको दुर्गा माता कोलाखेती तथा कृषि फार्मले सञ्चालन गरेको केरा ब्लकका २०० बोट केरा भाँचिएका छन् ।

उहाँले हावाहुरीले करीब  ५० लाख बराबरको केराको बोट नष्ट भएको बताउनुभयो । मकै जोनअन्तर्गत खेती गरिरहेका किसान हावाहुरीले दाना लाग्न थालेको मकै नष्ट गरेपछि चिन्तित बनेका छन् ।
     
जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको तरकारी बाली र फलफूलसमेत नष्ट भएको उहाँको भनाइ छ । आँप र लिचीका हाँगा भाँच्चिनुका साथै चिचिला प्रायः सबै झरेका छन् ।