ज्ञानमित्र | समाज | बैशाख ११, २०७६
पुणेको बसाइपछि खजुराहो जाने क्रममा हामी जबलपुर पुगेका थियौं । त्यो वर्ष त्यस क्षेत्रमा घनघोर पानी परेको थियो, सारा प्रदेश नै बाढीमय बनेको थियो । हामी जबलपुर पुग्दा पनि रौद्ररूपमा इन्द्रदेव मेहरबान थिए । बाध्य भएर हामीले यात्रा रोक्नुपर्यो । भारत दर्शन पुस्तक धेरै समय आफ्नो ‘गीता’ बनेकाले जबलपुरका विषयमा प्रायः ज्ञात नै थियो । त्यहाँको प्रमुख आकर्षण थियो– भेडाघाट, जहाँ नर्मदा नदी क्रीडामय भएर बग्छिन् । मलाई नर्मदाको त्यो प्राकृतिक दृश्यावली हेर्ने अलिक बढी नै चाहना थियो । तर, झरी थियो आफ्नै हठमा अविरल, अविचल, सतत झरेकोझर्यै ।
स्थानीय पत्रपत्रिकामा भेडाघाटबारे समाचार प्रकाशित भइरहेका थिए, त्यहाँ पानी खतराको निशानभन्दा माथि बगिरहेको थियो । तर, मेरो अदम्य इच्छामा भने विचलन आएको थिएन । तीन दिन बितिसक्दा पनि इन्द्रदेवको कोप कम भइरहेको थिएन । मेरो मित्र हालिनाको भनाई थियो, ‘यो अविरल वर्षामा बाढी आएको क्षेत्रमा जाने जोखिम लिनु हुन्न’ । मेरो हठले तीन दिन होटलमा बिते । हालिनाले खजुराहोतिर लाग्ने कर गर्न थालिन्, ‘होइन, यो होटलको कोठामा थुनिनुको के मतलब ? ट्याक्सी लिएर हामी खजुराहो जाऊ ।’ मलाई भेडाघाट नगई जबलपुर छाड्ने मन थिएन । तर, परिस्थिति भने अनुकूल थिएन र अन्ततः मन मारेर मैले साथीको प्रस्ताव मान्नुपर्यो । झण्डै दुई सय किमिको यात्रा ट्याक्सीबाट गर्नु पनि जोखिममय नै थियो, आफू सुरक्षित हुनलाई महँगो भए पनि होटेलबाट नै ट्याक्सी लियौं । ड्राइभरले पानी परेकाले र मध्यप्रदेशका ‘दिग्वीजय सिंहकालीन’ सडक भएकाले खजुराहो पुग्न १४ घण्टा लाग्यो । रात्रि १२ बजेतिर हामीले खजुराहो टेक्यौं । चारैतिर रात्रिको निस्तब्ध्तता, कता जाने ? ट्याक्सी ड्राइभरले दुईवटा होटल खोलाउने प्रयास गरे । तर, कहीँबाट केही प्रत्युत्तर पाइएन । हामी थाकेका थियौं । तर, ट्याक्सी ड्राइभर भने भनी रहेका थिए, ‘साहबजी चिन्ता नगर्नुस्, कुनै न कुनै होटलमा कोठा पाइहाल्छ ।’
चित्रकुट उनको स्थायी घरबाट नजिक भएको हुनाले उनी त्यहाँका आश्रममा गएर बस्ने गर्दा रहेछन् र प्रायःजसो सबै आश्रम र आश्रमका मठाधिसहरूलाई चिन्दा रहेछन् । उनकी पत्नीलाई मसँग गफमा लीन भएको त्यति साह्रो मन परेन । र, उनले इशाराले केही आपत्ति गर्दा ती युवकले भने, ‘यी नयाँ सन्यासी हुन् आवेग र नवजोशले भरिएका, मेरा अनुभवले यिनलाई केही मद्दत हुनसक्छ भने तिमीले किन छटपटी मानेको, यिनीसँग आखिर मेरो यो पाँच–सात घण्टाको साथ न हो त्यसपछि यी कहाँ, म कहाँ ?’
आखिर उनको प्रयासले सफलता पायो । जैन होटलका मालिकले ढोका खोले र हामीलाई कोठा उपलब्ध गराए । जबलपुरबाट हिँड्ने बेलामा हतारमा होश नपुर्याएकाले हामीसँग ड्राइभरलाई भुक्तानी दिने भारतीय रूपैयाँ थिएन । दुई हजार रूपैया अपुग थियो । ड्राइभरले ‘युरो’ चिन्दैन, उनलाई ‘युरो’को भाउ पनि थाहा छैन र ऊ जबलपुर फर्किने हतारो पनि गर्दैछ । समस्यामा समाधान लिएर आए जैन होटलका मालिक, उनले अपुग धनराशी ड्राइभरलाई भुक्तानी गरी दिए र उसलाई रात्रि नफर्किने सल्लाह दिँदै खाने र बस्ने व्यवस्था सित्तैमा मिलाइदिए । होटलका मालिकको व्यवहार हाम्रा लागि अप्रत्याशित थियो, मानौ उनकै छोराछोरी धेरै वर्षपछि घर फर्केका हुन् । सुतिसकेका कामदारलाई उठाएर हाम्रा लागि चिया र खाना पकाउने व्यवस्था गराए । उनको हामीप्रतिको व्यवहार औपचारिकता एवम् व्यावसायिकताभन्दा निकै माथि अपनत्व र मानवताको थियो । बिहान खाजा खाएपछि हामी खजुराहोका मन्दिर हेर्न गयौं । विशाल प्रांगणमा अवस्थित ढुंगैढुंगा कुँदिएर बनाएका अनेकौं मन्दिर । ती मन्दिरले हजारौं वर्ष पहिलाको भारतीय संस्कृति र सभ्यताको परिचय दिइरहेका थिए । सबै मन्दिरका भित्ता कामक्रीडाका तमाम आकृतिले भरिएका थिए । भारतीय पुरातत्व विभागले मन्दिर प्रांगणको हेरचाह पनि सुव्यवस्थित ढंगले मिलाएको पाइयो । हालिनाको लागि मन्दिर प्रांगण काबा, काशी, जेरुसलम बन्न पुग्यो । मन्दिर अवलोकनमै उनका दिन बित्न थाले । आफूलाई भने कलाको कुनै ज्ञान र त्यसप्रति कुनै रुचि नभएकाले त्यहाँको चौरमा सुत्नेबाहेक कुनै अन्य आकर्षणले छोएन । हालिना भने ‘गाइड’ फिल्मको वहीदा रहमानजस्तै एक–एक मन्दिरको एक–एक मूर्तिसँग संवाद स्थापित गर्ने प्रयास गर्थिन्, मूर्तिजस्तै भावभंगिमा बनाउँथिन्, नाच्थिन्, गाउथिन्, गाउँदै नाच्थिन् । मन्दिरमा आएका अन्य पर्यटक भने पत्थरका मूर्तिसँगै एउटा सजीव मूर्ति पनि हेर्थे । तर, हालिना भने आफैमा मगन हुन्थिन्, उनलाई अरु कसैको मतलब हुँदैनथ्यो ।
एक दिन बिहान हुँदा म सात दिनका लागि पैसाविहीन यात्रा अनुभव लिन हिँडे । बाटोमा एक जना मुस्लिम युवकलाई भेटे । टेम्पो चढ्दै गर्दा उनी मेरो सहयात्री हुन पुगे । उनी चित्रकूट नजिकको एउटा सानो सहरमा बस्थे । उनी पत्नीसँग खजुराहो घुम्न आएका रहेछन् । दुब्ला मिजासिला स्वभावका अत्यन्त मिलनसार उनले नै बाटोभरि ममाथि खर्च गरे । मलाई सन्यासी पोशाकमा हेरेर उनले धर्म र धर्माचार्यहरूको सम्बन्धमा मसँग निकै गफ गरे । चित्रकुट उनको स्थायी घरबाट नजिक भएको हुनाले उनी त्यहाँका आश्रममा गएर बस्ने गर्दा रहेछन् र प्रायःजसो सबै आश्रम र आश्रमका मठाधिसहरूलाई चिन्दा रहेछन् । उनकी पत्नीलाई मसँग गफमा लीन भएको त्यति साह्रो मन परेन । र, उनले इशाराले केही आपत्ति गर्दा ती युवकले भने, ‘यी नयाँ सन्यासी हुन् आवेग र नवजोशले भरिएका, मेरा अनुभवले यिनलाई केही मद्दत हुनसक्छ भने तिमीले किन छटपटी मानेको, यिनीसँग आखिर मेरो यो पाँच–सात घण्टाको साथ न हो त्यसपछि यी कहाँ, म कहाँ ?’
मैले उनलाई सोधें, ‘मुस्लिम भएर हिन्दूहरूको आश्रममा गएर बस्दा र हिन्दु गुरुहरूसँग संगत गर्दा तपाईंलाई अप्ठेरो हुँदैन ?’
‘किन अप्ठेरो ? उनीहरू पनि मानिस हुन्, म पनि मानिस हो । म मेरो लागि र आफ्नो घर परिवार समाजमा मुस्लिम हो, त्यो बाहेक म मानिस हो । मेरा लागि धर्म आन्तरिक आचरणको कुरा हो । बनावटी र देखावटी धर्म मेरा लागि मात्र पाखण्ड हो, आडम्बर हो ।’
हठात् कति ठूलो र मर्मस्पर्शी कुरा गरिदिए ती युवकले ! जुन कुराको बोध जति धर्मग्रन्थ पढे पनि, जति उपदेश सुने पनि धर्मका ‘ठेकेदारहरू’ले बुझ्न सकेका छैनन् । यो पृथ्वीमा मानिसको इतिहास नै देखावटी र आडम्बरी धर्मले ग्रसित छ । धर्मले लुगा, रंग, आफूले मानेका आफ्ना बिम्ब, आफूले बनाएका मन्दिर तथा मस्जिदका लागि सधैं लडिआएको छ । यहाँ पुस्तकका लागि युद्ध भएका छन्, सिद्धान्त र मतका लागि
रगत बगेको छ । काश ! एक्काइसौं शताब्दीको मानिस पनि ती मुस्लिम नवयुवकजस्तै धर्मको व्याख्या बुझ्न र ग्रहण गर्न समर्थ हुन्थ्यो...।
त्यसपछि म मेरा लागि मात्र हिन्दू रहेँ, मेरा लागि मात्र सन्यासी भएँ र क्रमशः एक दिन ‘त्यो मेरा लागि’ पनि तिरोहित हुँदै गयो । म रहिरहे, म अझै छु । तर, मेरा सारा पहिचान ध्वस्त भए । मेरा गुमनाम गुरुको लिस्टमा एउटा नाम अकिंत भयो, ती मुस्लिम युवक ।