डा.भोजराज घिमिरे | साहित्य | बैशाख ११, २०७८
जहाँ म जाऊँ सँगै छ पीडा हजार तिम्रो,
सहन्न भन्दै सही रहन्छु प्रहार तिम्रो !
शिकार खेल्ने हुँ भन्दथेँ भै स्वयम् शिकारी,
फगत म आफैँ भएँ नयनको शिकार तिम्रो !
उषा-निसाको कुरा त त्यस्तै रहेछ बुझ्नू,
निसा यताको हुँदैछ हरपल सखार तिम्रो !
म होसमै थेँ, र पो छु हरपल बेहोस आफैँ,
पिएर बस्दा त्यही नयनको निगार तिम्रो !
न पस्न पाएँ म भित्र आफू, न बस्न बाहिर,
ढुकूँ अझै के त्यही हृदयको सँघार तिम्रो !
म पीरमा बाँच्न सक्छु हेर्दै खुसी हमेसा,
हजुर म खै के लिऊँ खुसीको ‘निथार’ तिम्रो !
उदाउने घामको छ अस्तय सदैव निश्चित,
नसोच यस्तै रहन्छ प्रेमिल बजार तिम्रो !