हरिविनोद अधिकारी | साहित्य | बैशाख ११, २०७८
पुराना यादहरूमा अहिले पनि बारम्बार आउने याद हो बर्लिनको । २५ जुलाई २०१९मा बर्लिन् जाँदा मैले सम्झेका व्यक्तिहरू हुन् - नाजी पार्टीको सर्वेसर्वा हिट्लर, वाइमर संविधानलाई प्रजातान्त्रिक तरिकाले प्रयोग गर्ने फ्रेडरिक एबर्ट र विश्व प्रजातान्त्रिक आन्दोलनका नेता तथा भूतपूर्व जर्मन चान्सलर बिल्ली ब्रान्ट जसले सोसलिस्ट इन्टर नेसनलको अध्यक्षता गरेका थिए र नेपालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाएका थिए । उनकै कार्यसमितिमा बिपी कोइराला उपाध्यक्ष पनि हुनु भएको थियो ।
आज पनि विश्वभर प्रजातान्त्रिक समाजवादका बारेमा अनुसन्धान, कार्यपत्र तथा प्रचारको काम गर्ने अनि विश्वमा प्रजातान्त्रिक समाजवादका बारेमा सचेतना जगाउने काम फ्रेडरिक एबर्टको नाममा स्थापित संस्था फ्रेडरिक एबर्ट स्टिफटुङ् अर्थात् फाउन्डेसन छँदै छ र त्यसको नेपालमा कार्यालय छ । त्यसको मुख्य कार्यालय बर्लिनमा रहेछ र त्यो ठाउँमा जाने पनि इच्छा पूरा गरेँ तर मलाई हेर्ने मन मन भनेको बर्लिनको पर्खालको अवशेष हेर्न मन थियो । नेपाली वैज्ञानिक डाक्टर हिमेन्द्र झाको सहयोगमा बर्लिनको भ्रमण गरिएको थियो । राजविराजका डाक्टर हिमेन्द्र झा आफ्नो परिवारसहित बर्लिनमा बस्छन् उनकी अर्धाङ्गिनी कोइलासम्बन्धी विज्ञ डाक्टर रानी झा र दुई ओटी छोरीहरूसहित ।
उनले दिएको जानकारी अनुसार अहिलेको जर्मनीमा हिट्लरको नाम लिँदा पनि फौजदारी अपराध गरे जस्तै कानुन छ रे त्यहाँ । त्यसैले उनले मलाई बेलैमा सतर्क गराएका थिए सार्वजनिक बस, रेल, पार्कमा र बजार कतै पनि हिट्लरका बारेमा कुरा नगर्नुहोला । किनभने नाजीबाट जर्मनहरूले पाएको दुःखको कुनै क्षतिपूर्ति छैन र अहिले पनि हिट्लर एउटा अपराधी जस्तै ठानिन्छ ।
अनि मैले सोचेँ-नेपालमा त २०४७ साल २०६३ सालमा प्रजातन्त्रका विरोधीहरूका बारेमा तयार गरिएको उच्चस्तरीय प्रतिवेदनसमेत अहिलेसम्म गुपचुप राखिएको छ र प्रजातन्त्र विरोधीहरूलाई बारम्बार सत्ताको खेलमा रातो कार्पेट बिछ्याइन्छ । नयाँ संविधान बन्दा जसले संविधानका विरोधमा मतदान गरेका थिए, जसले हिजोका दिनमा बिपीलाई फाँसी दिनुपर्छ भनेर नारा लगाएका थिए, बिपीको यात्रामा अवरोध गरेर गोली चलाएका थिए, तिनलाई प्रजातन्त्रका सबैभन्दा बढी मान मनितो गरिएको इतिहास भएको मेरो देशका लागि जर्मनहरू कस्ता हुन् या जर्मनी कस्तो हो , भन्न गाह्रो परेको छ मलाई ।
तल्लो भाग नचल्ने अरुण नै सूर्यका बलवान र सूर्यको तापक्रमलाई सहन सक्ने सारथि हुन् जसले सात ओटा घोडालाई सन्तुलनमा हाँक्छन् । न छिटो, न ढिलो । एक निमेष पनि । लाख वर्षसम्मको तथ्याङ्क हेर्यो भने पनि सूर्योदय र सूर्यास्तको समयमा कुनै फरक पर्नेछैन । न सूर्योदय हुन्छ, न सूर्यास्त हुन्छ, तर त्यो प्राकृतिक भ्रम र यथार्थमा पनि कुनै फरक पर्दैन समयको परिधिमा ।
सायद त्यही कारणले पनि हुनसक्छ , जर्मनहरूले फेरि नाजी बाँचेर आउन नसकोस् या नाजी प्रवृत्तिले टाउको उठाउन नसकोस् भन्ने धारणाले नाजीप्रति प्रतिबन्ध लागेको छ र कसैले अहिले पनि नाजी त ठिकै थिए नि, भन्यो भने पनि त्यसले कडा दण्ड भोग्नु पर्छ । त्यसैले पनि मलाई चाहिँ बर्लिनको भ्रमण गर्ने इच्छा पहिलेदेखि नै थियो ।
बर्लिन्, जर्मनीको राजधानी र आधुनिक सम्पन्न सहर । एउटा भनाइ नै रहेछ युरोपमा, बर्लिनको भ्रमण जसरी पनि गर्नू । पेरिसको भ्रमण त सबैले भन्छन् तर बर्लिनको भ्रमणको अर्थ छ- एउटा ज्युँदो तर कालो इतिहासको साक्षी छ आधुनिक युगमा । एउटा निरंकुश शासकको पीडा खपेर पनि र त्यो निरंकुश शासक आफैँ आत्महत्या गर्न विवश भएको इतिहास , त्यसपछि त्यो शासकको कालो इतिहासको बर्बर छायामा पनि आफैँ जनताको मायाले विकसित भएको बर्लिन् । आफ्नो छातीमा पर्खाल लगाएको खपेर पनि बाँचेको बर्लिन् । ती निरपराध जर्मनहरूको के अपराध थियो र लाखौँलाख जर्मनहरू अगेनामा आलु पोलेको जस्तो गरेर श्रम शिविरमा पोलिनु परेको थियो ?
लाखौँ मानिसहरूको चिहानमा राज्य गर्न रुचाउने हिट्लर पनि अचिन्त्य मृत्यु वरण गर्न बाध्य भयो । हिट्लरको इतिहासले प्रत्येक निरंकुश शासक अनि निरंकुश शासनको अन्त्यको कथा भन्छ तर जुनसुकै निरंकुश शासकले आफ्नो नियतको कालो चेहरा प्रजातन्त्र र संविधानको धाराभित्र लुकाएर राख्छ र भन्छ- म नै राज्य हुँ, म नै नियम हुँ , म नै सबै थोक हुँ मेरो विरोध गर्नेहरू सबै प्रजातन्त्र विरोधी हुन् , मेरो विरोध मुलुकको विरोध हो मेरो शासन मान्नै पर्छ अन्यथा......।
उनीहरूलाई पश्चिम र पूर्व भनेर विभाजित गरियो अनि उनीहरूको छातीमा अनुल्लंघनीय पर्खालको सीमा लगाइयो ? त्यसको कारणमा थियो हिट्लर जसले द्वितीय विश्वयुद्धको आमन्त्रण गरेको थियो आफ्नो पावन भूमिमा, फगत आफ्नो निरंकुशताको लागि शासन जोगाउन । जर्मनहरूमा उग्र राष्ट्रवादको नारा उरालेर मुलुकलाई अँध्यारो खाल्डोमा जाक्ने व्यक्ति थिए शासक हिट्लर । त्यस्तो पछिल्लो शासक थिए हिट्लर । हिट्लर आज पनि जर्मनीका अविस्मरणीय विम्ब हुन् । मैले बर्लिनको साक्षात्कार पाएको थिएँ बिपी कोइरालाको हिट्लर र यहुदी नामक उपन्यासबाट । हिट्लरका बारेमा सुनियो र पढियो । नक्कली राष्ट्रवादभित्रको सक्कली अनुहारका बारेमा अहिले पनि कुनै उदाहरण दिनुपर्छ भने हिट्लरको नाम नै पहिले आउने गर्छ अझैसम्म ।
कुनै संविधान जतिसुकै प्रजातान्त्रिक बनाए पनि त्यसको कार्यान्वयन गर्ने पात्रको नियत खराब भयो भने संविधानका धारामा टेकेर कसरी त्यो संविधानलाई धुजा धुजा पार्ने भन्ने असल उदाहरण पनि हिट्लरलाई नै लिने गरिन्छ । वाइमर संविधान भनेपछि अत्यन्त आदरका साथ लिइन्छ आज पनि तर त्यही प्रजातान्त्रिक संविधानका धारालाई दुरुपयोग गरेर निरंकुशताले कसरी जन्म लियो भन्ने कुराको उदाहरण आज पनि लिइन्छ । निरंकुशताले सत्ताको आडमा र सत्ता उन्मादको कुतर्कको बलमा राज्य गरेको हुन्छ र त्यसको परिणाम पनि हिट्लरकै जस्तो हुन्छ भन्ने पनि उदाहरण दिन सकिन्छ । हाम्रो जर्मनी, हामी जर्मन भनेर मुलुकलाई विश्वको शान्ति खलबल्याउने ठाउँमा लगेर तहस नहस पार्ने हिट्लरलाई आज जर्मनहरूले अपराधीको रुपमा चिन्छन् र नाजी पार्टीमा लागेको व्यक्तिको सन्तान समेत छ भन्ने सुइँको पाउँदा पनि त्यो अपराधी मानिन्छ र समाजमा अहिले पनि छि छि र दुरदुरको भागी हुने रहेछ ।
हिट्लर र यहुदी फगत एउटा काल्पनिक उपन्यास हो र पनि त्यो उपन्यासमा जब लेखक बर्लिन् पुग्छ र आफ्नी श्रीमती लक्ष्मीलाई पत्र लेख्दै भन्छ , ऊ जब सहर अवलोकनमा जान्छ, त्यस बेलामा पथप्रदर्शकसँग भन्छ- के पो छ र तिम्रो सहरमा हेर्नका लागि ? त्यही कैसर चिल्हेम(विल्हेम?) स्मारक चर्चको के बयान गरूँ जसको शिर ठुँगिएको छ । त्यो चर्चको ठुँगिएको शिरलाई अहिले पनि स्मारकको रुपमा राखिएको रहेछ । बर्लिन् सहरको केन्द्रमा रहेको दोस्रो विश्वयुद्धको चरम विन्दुमा जर्मन विरोधी समूहले बम पड्काएका थिए । अहिले पनि त्यो चर्चलाई परबाट हेर्नका पाइन्छ ।
त्यो चर्चको छेउमै बनाएको अर्को चर्चको आँगनमा पनि अहिलेको नयाँ आतङ्कमा बम राखिएको ट्रक छोडेर त्यहाँ पड्काइयो र ४१ जना व्यक्तिहरुको त्यो घटनामा मृत्यु भएको भनिन्छ र उनीहरुको सम्झनामा, मृतकहरुको फोटोमा अहिले पनि फूल चढाएको देख्न सकिन्छ ।
दोस्रो विश्व युद्धपछि जर्मनीको शक्तिराष्ट्रहरुको कोप भाजनमा पश्चिमी जर्मनी र पूर्वी जर्मनी भनेर विभाजन भयो । पूर्व जर्मनीचाहिँ तत्कालीन सोभियत सङ्घको अधीनमा रह्यो र पश्चिमी जर्मनीचाहिँ स्वतन्त्रतापूर्वक प्रजातान्त्रिक देशको रुपमा रह्यो । पछि जर्मनहरुले त्यो कृत्रिम विभाजनलाई आफ्नो छातीमा आरोले चिरेको जस्तो ठानेर त्यो बर्लिनको पर्खाल भत्काए र अहिले एउटै जर्मनी देश छ । अहिले पनि त्यो पर्खालको अवशेष देख्न सकिन्छ । अहिले त्यो कतै कतै अवशेषको रुपमा रहेको पर्खाललाई हिजोका दुःस्वप्न र गलत इतिहासको अवशेषको रुपमा तर स्वतन्त्रताको पाटीको रुपमा चित्रित गरिएको रहेछ ।
ती पर्खालका अवशेषहरु हेर्न पर्यटकहरुको घुइँचो लाग्ने रहेछ । कतिपय ठाउँमा भत्केको पर्खाललाई संकेतको रुपमा चिन्ह लगाएर यहाँ थियो भनेर देखाइएको रहेछ । बर्लिनको मुटुमा र केन्द्रमा व्यवस्थापिका भवन बुन्डेस्ट्यागको पूर्वको भागमा त्यस्तो चिन्हले पुरानो पर्खालको संकेत गरिएको रहेछ ।
बर्लिनमा कर्णेलको घोडा
बर्लिनमा कर्णेलको घोडा । विचित्रको कुरा जस्तो लाग्छ होला । कहाँ कथाकार बीपी कोेइरालाको चर्चित तथा प्रसिद्ध यौन मनोवैज्ञनिक तथा तत्कालीन सामाजिक यथार्थताको कथा कर्णेलको घोडा, कहाँ बर्लिनको प्रसिद्ध डोमको प्राङ्गणमा रहेको एउटा मूर्तिसँगको तुलना । तर मूर्ति हेर्नुस् त, छैन त बीपीको कथाको आधारमा बनाएको जस्तो ?
एकपटक बिपीको चर्चित कथा कर्णेलको घोडा पढ्नुस् र कल्पना गर्नुस्- कर्नेल्नीले किन घोडालाई बढी मन पराइन् र त्यो घोडा जसलाई कर्णेलले गोली हानेर मारे ? त्यो कुरा कर्णेलको घोडा कथा पढिसकेकाहरूका लागि सामान्य ज्ञान हो तर जसले त्यो कथा अर्थात् कर्णेलको घोडा पढेको छैन, त्यसका लागि भने यो मूर्तिको बिम्बले खासै अर्थ राख्ने छैन र पनि कहाँ नेपालका कथाकार बिपी र कता जर्मनीका मूर्तिकारको भव्य मूर्तिका बिचमा भावनात्मक सामीप्यता ?
अझ भन्दा, यो सामीप्यता भावनात्मक भन्दा पनि बिपीको कथा पढेर कसैले मूर्ति बनाउँछ अहिले पनि भने यति मिलाएर र अर्थ दिने गरी नबनाउला । पक्कै पनि यो मूर्ति सात दशक पुरानो होइन होला किनभने यो प्रसिद्ध चर्चको प्राङ्गणमा आराम गर्न र अरु पनि मूर्तिहरू अवलोकन गर्नका लागि आउने पर्यटकहरूलाई ध्यानमा राखी तयार गरिएको बुझ्न सकिन्छ किनभने जब यो मूर्तिको तस्बिर मैले भाइ तारानाथ दाहाल( नेपाल पत्रकार महासङ्घका पूर्व सभापति तथा वरिष्ठ पत्रकार)लाई मेसेन्जरमा पठाएँ, तत्काल भाइको प्रतिक्रिया थियो- दाजु, यो मूर्ति मैले पनि बर्लिनको पुरानो डोमको पछिल्तिरको पटाङ्गिनीमा देखेजस्तो लाग्छ । अनि मैले भनेँ -भाइ, यो मूर्तिलाई बिपी कोइरालाको कथा कर्णेलको घोडाको बिम्ब माने कस्तो होला ? अनि दाहालको प्रतिक्रिया थियो - हो नि त, बिपीको कथाको भाषालाई चित्रमा उतार्ने यो भन्दा उम्दा मूर्ति कहाँ पो होला र ?
चित्र या मूर्तिले बोल्ने भाषा भनेको हजारौँ शब्दले पनि व्याख्या गर्न सकिँदैन भन्ने चलन छ । सायद त्यही भएर समाचार वा विचारलाई पुष्टि गर्नका लागि वृत्तचित्र, तस्बिर या मूर्तिको सहारा लिइन्छ । तर मलाई अचम्म लागेको पक्ष भनेको के हो भने सर्जक जहाँको भए पनि एउटै धारणा राख्ने हुँदा रहेछन् ।
कथा कर्णेलको घोडाको धेरै ओटा आयाम रहेछन् । आजभन्दा करिब सात दशक पहिलेको समयमा बहु विवाह गरिन्थ्यो मात्र होइन धेरै विवाह गर्नु नै पौरुष्य मानिन्थ्यो । झन् त्यसमा पनि कान्छी श्रीमती र पतिका बिचको उमेरमा ठुलो फरक हुनेगर्थ्यो । नेपालको परिप्रेक्ष्य र युरोपको परिप्रेक्ष्य एउटै त पक्कै होइन तर बिलासी जीवनको मनोविज्ञान र बहुविवाहको परिस्थितिले भने एउटै मनोदशा देखाएको छ । एउटी तरुनी पत्नी वा प्रेमिका जो भए पनि उसमा जागेको यौन चाहना पूरा गर्न पक्कै पनि वृद्ध पति या प्रेमीबाट सम्भव भएन नै ।
त्यो अवस्थालाई जसरी बिपीले आफ्नो यौन मनोविज्ञान प्रधान कथामा शब्दमार्फत स्पष्ट गर्न चाहनु भएको छ, जर्मन मूर्तिकारले पनि बडो सुन्दर तरिकाले आफ्नो चाहना पूरा गर्न नसक्ने पुरुषलाई बुढो घोडाको रुपमा बिम्ब प्रयोग गरेको पाइन्छ । या त भनौँ घोडालाई वृद्धको रुपमा बिम्ब होस् या बद्धलाई घोडाको रुपमा बिम्ब होस् । असक्त घोडा । चित्त नबुझेर नै उसको हेराइ, घोडाबाट मन नलागी नलागी देखिने झराइ र पुरुषको रुपमा देखिएको घोडाले देखाएको अन्यमनस्क सहृदयता स्तुत्य छ । र पनि युवतीमा एउटा अतृप्त भोक देखिन्छ र त्यो भोकको ओखती त्यो पुरुषसँग छैन भन्ने कुरा मूर्तिको सम्पूर्ण पक्षले झलझली देखाउँछ । त्यो घोडारूपी पुरुषसँग भनौँ कि पुरुषरूपी घोडासँग ।
म कला पारखी पनि होइन र कला समीक्षक पनि होइन तर जर्मनीदेखि सुदूर पूर्व दक्षिण एसियाका एउटा कथाकारको भावनासँग कसरी त्यो कलाले तादात्म्यता राख्यो , त्यो नै ताज्जुब लाग्दो भएकाले मैले यो कुरा राखेको हुँ ।
हुनसक्छ यो मूर्तिको सम्बन्धमा पनि बाइबलको कुनै सूत्रमा यसको चर्चा होला किनभने घोडाको मुख भएका देवता हाम्रो पूर्वीय संस्कृतिमा पनि पाइन्छन् । बाइबल संस्कृतिमा पनि होला । घोडालाई हामीले पनि पौरुषेय बिम्बमा लिने गरेका छौँ । घोडाजस्तै बलवान, हर्सपावरको क्षमता र सूर्य भगवानका सात ओटा घोडाले चलाएको रथ , भनौँ सात वारलाई हामीले घोडाको रुपमा मानेका छौँ ।
ती घोडाको सारथि अरुण हुन् जसको कम्मर मुनिको भाग चल्दैन र पनि सूर्यभन्दा पहिले सुनौलो र रातो रङ्को सङ्केतमा अरुणोदय हुन्छ जसले सूर्योदयको जानकारी दिन्छ । तल्लो भाग नचल्ने अरुण नै सूर्यका बलवान र सूर्यको तापक्रमलाई सहन सक्ने सारथि हुन् जसले सात ओटा घोडालाई सन्तुलनमा हाँक्छन् । न छिटो, न ढिलो । एक निमेष पनि । लाख वर्षसम्मको तथ्याङ्क हेर्यो भने पनि सूर्योदय र सूर्यास्तको समयमा कुनै फरक पर्नेछैन । न सूर्योदय हुन्छ, न सूर्यास्त हुन्छ, तर त्यो प्राकृतिक भ्रम र यथार्थमा पनि कुनै फरक पर्दैन समयको परिधिमा ।
सर्जक जहाँ भए पनि , संसारको जुन कुनामा जन्मे पनि एउटा भावनाको स्फुरण एकै प्रकारले हुने रहेछ भन्ने मात्र यस आलेखमा देखाउन खोजिएको हो । मिल्दैन त कर्नेलको घोडाका कथासँग पाठक वर्ग । यदि तपाईँले कर्नेलको घोडा नपढेको भए एकपल्ट पढ्नुस् र यो मूर्ति हेर्नुस् । यदि पढ्नु भएको छ भने त्यो मनोवैज्ञानिक तथा नेपाली अतीतको समयलाई सम्झँदै मूर्तिसँग तुलना गरेर समानता पत्ता लगाउनुस् । यो विज्ञ पाठकको जिम्मा भयो । क्रमशः