२०७२ सालको भूकम्पको सम्झना : सबै सम्पदा पुनर्निर्माण गर्न १२ अर्ब लाग्ने

२०७२ सालको भूकम्पको सम्झना : सबै सम्पदा पुनर्निर्माण गर्न १२ अर्ब लाग्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७६

काठमाडाैं । भूकम्पले ध्वस्त देशभरका अधिकांश सम्पदाको पुनर्निर्माण कार्य भइरहेको छ । भूकम्पले क्षति बनाएका विश्वसम्पदा सूचीमा रहेका उपत्यकाका ७ क्षेत्रका १ सय ७३ मध्ये ८७ सम्पदा पुनर्निर्माण भइसकेका छन् । विश्वको ध्यान खिच्न सफल रानीपोखरी पुनर्निर्माणको क्रममा रहेको छ । हनुमानढोका दरबार क्षेत्रको काष्ठमण्डप र धरहरा पुनर्निर्माणको क्रममा रहेका छन् ।

चीन सरकारको सहयोगमा वसन्तपुरस्थित नौतले दरबार यो वर्षको अन्त्यसम्ममा र दरबार हाइस्कुल आगामी वर्ष सम्पन्न हुने गरी पुनर्निर्माण भइरहेका छन् । अमेरिकी सरकारको सहयोगमा गद्दी बैठक निर्माण सम्पन्न भइसकेको छ । भक्तपुर र पाटन दरबार क्षेत्रका अधिकांश सम्पदा पुनर्निर्माण भइरहेका छन् । विभागको तथ्यांकअनुसार पाटनको भीमसेन मन्दिरअगाडिको सिंहको मूर्ति, योगनरेन्द्र मल्लको सालिक, सुन्दरीचोकको पूर्वी लङ, तलेजु र मूलचोकको छाना, मणिमण्डप, सोह्रखुट्टे पाटी निर्माण सम्पन्न भइकेका छन् । भक्तपु्र दरबार क्षेत्रका अधिकांश सम्पदाहरु पुनर्निर्माण भइसकेका छन् ।

हनुमानढोकाको लक्ष्मीनारायण, महादेव, सरस्वती, नगरा, सिंहसत्तल, मोहनकाली चोकको माथिल्लो मोहडा, पञ्चमुखी हनुमान, श्वेतभैरव, मसानचोकको नृत्येश्वर मन्दिर, प्रतापमल्लको सालिक, देगु तलेजु, नौतले र गद्दी बैठकबीचको राणाकालीन भवन पुनर्निर्माण भइसकेका छन् । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूका एक दर्जन सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । स्वयम्भूको टासी गोर्माग चैत्य, अनन्तपुर, प्रतापपुर, शान्तिपुरको पाटी, मञ्जुश्री सत्तल पु्नर्निर्माण भइसकेका छन् । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।