लोकसंवाद संवाददाता | समाचार | बैशाख १३, २०७८
काठमाडौं । कोरोना संक्रमण तीव्र रूपमा विस्तार भइरहेका बेला प्रमुख दलहरू भने सत्ता फेरबदलको राजनीतिक हिसाबकिताबमा व्यस्त छन् । एमाले र कांग्रेस दुवैले आइतबार पनि आन्तरिक बैठकमार्फत सम्भावित सत्ता समीकरण र जोखिमबारे समीक्षा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक गरेर आफूविरुद्ध आउन सक्ने अविश्वास प्रस्ताव सामना गर्ने रणनीतिबारे छलफल गरे । यता करिब एक महिनाअघिबाट आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निष्कर्षमा पुगेको कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारीहरूको बैठक बस्यो ।
प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सरकारविरुद्ध अविश्वास प्रस्ताव आए पार्टीका असन्तुष्ट माधव नेपाललगायत केही नेताले फ्लोर क्रस गर्न सक्नेबारे समीक्षा भएको छ । ‘अहिले अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेका छन् ।
विपक्षीले ल्याउने कुरा त ठूलो भएन तर कर्णालीमा जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउने कोसिस भइरहेको आफुलेले जानकारी पाएका प्रवक्ता प्रदीप ज्ञवाली बताउनु भएको छ । त्यसबारेमा पार्टीले आवश्यक समयमा निर्णय गर्नुपर्छ बताउनु भयो ।
कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी माओवादीसँग मिलेर एमालेकै नेता नेपाललगायतका सांसदले फ्लोर क्रस गर्ने योजना बनाइरहेको सूचना बालुवाटारमा निरन्तर रूपमा पुगिरहेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।