भूकम्पले झस्काउँदै छ : समाजले बिर्संदै छ

भूकम्पले झस्काउँदै छ : समाजले बिर्संदै छ

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७६

काठमाडाैं । बिहीबार गोरखा भूकम्पको चार वर्ष पुग्दै छ । एक दिनअघि जोडदार धक्काले झस्काएको छ । धादिङको नौबिसे क्षेत्रलाई केन्द्र बनाएर बुधबार बिहान ५.२ रेक्टर स्केलको भूकम्प गएको छ । काठमाडौं उपत्यकामा पनि भूकम्पको धक्का महसुस भएको छ । 

राष्ट्रिय भूकम्पमापन केन्द्रले बुधबार बिहान ६:२९ मा गएको भूकम्पलाई पनि परकम्प भनेको छ । पछिल्लापटक २२ मंसिर ०७४ मा दोलखालाई केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको परकम्प गएको थियो । त्यस्तै, १४ मंसिर ०७३ मा रामेछाप–सोलखुम्बुलाई केन्द्र बनाएर ५.६ रेक्टर स्केलको भूकम्प गएको थियो । ०७२ वैशाखयता ४ रेक्टर स्केलभन्दा माथिका पाँच सयभन्दा बढी भूकम्पको धक्का गइसकेको केन्द्रले जनाएको छ ।

गोरखा भूकम्पको चार वर्षसम्म पनि आधा पीडितको घर बन्न सकेको छैन । ३२ जिल्लाका सात लाख ६२ हजार तीन सय सात भूकम्प प्रभावितमध्ये तीन लाख ८० हजार ३० परिवारले सरकारी पूरा अनुदान पाएका छैनन् । तीन लाख ८२ हजार दुई सय ७७ परिवार मात्रै नयाँ घरमा प्रवेश गरेका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार हाल दुई लाख ३० हजार ६ सय ६५ घर निर्माणाधीन छन् र चालू आर्थिक वर्षको अन्त्यसम्म सक्ने लक्ष्य छ । तर, यी घर निर्माण सकिँदा पनि एक लाख ४९ हजार तीन सय ६८ परिवार अर्थात् २० प्रतिशत भने छाप्रो र पालमुनि नै हुनेछन् । भूमिहीन, जोखिम वर्ग, एकीकृत बस्ती र परम्परागत बस्तीमा रहेका तथा गुनासो सुनुवाइ जारी रहेका परिवारको घर पुनर्निर्माण हुन नसकेको प्राधिकरणले जनाएको छ । यस्ता घर आव ०७७/७८ सम्म सम्पन्न गर्ने उसको लक्ष्य छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।