लोकसंवाद संवाददाता | समाचार | बैशाख १२, २०७६
काठमाडौं । २०७२ सालको गोरखा भूकम्पपछिका चार वर्षमा ४५ हजारवटा परकम्प आएका छन् । भूकम्पविद्हरूका अनुसार अहिले आइरहेका कम्पनहरू भूकम्प नभएर ‘आफ्टरशक’ अर्थात् परकम्पन हुन् । २०७२ वैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी वैज्ञानिक संस्था यूएसजीएसले भने उक्त भूकम्पलाई ७.८ म्याग्निच्युड भनेको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक एवं भूकम्पविद् डा. सोमनाथ सापकोटाका अनुसार २०७२ वैशाख १२ को भूकम्पले मर्स्याङदीदेखि सुनकोसी नदीसम्मको जमिनभित्र हल्लाएर धाँजाधाँजा पारेको थियो । अहिले तिनै स्थानमा परकम्प गइरहेका हुन् । बुधबार बिहान दुईपटक धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर गएका पनि भूकम्प नभई परकम्प नै हुन् ।
चार वर्षका बीचमा कुनै महिना दिनहुँजसो धेरै संख्यामा र कुनै महिना दिन बिराएर परकम्प आएको राष्ट्रिय भूकम्पन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ‘१५० किलोमिटर लम्बाइ र ५० किमि उत्तरदक्षिण चौडाइको ब्लकमा धेरै धाँजा बनेका थिए,’ सापकोटाले बुधबार कान्तिपुरसित भने, ‘त्यही भएर लमजुङदेखि रामेछापसम्म पछिल्ला तीन वर्षमा परकम्प आइरहेका छन् ।’ ठूला भूकम्पपछि २०औं वर्षसम्म पनि परकम्प आइरहने भएकाले सामान्य रूपमा लिनुपर्ने उनको भनाइ छ । उत्तरमा तिब्बतसम्मै परकम्प आएको देखिन्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।