लोकसंवाद संवाददाता | विदेश | बैशाख १५, २०७८
एजेन्सी । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । दिल्ली राज्य सरकारले आफ्नो राज्यका लागि बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको छ भने । अक्सिजन मगाइएको ट्याङ्कर बुधबारदेखि दिल्लीमा आउन थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभयो ।
मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एयर फोर्स विमान उपलब्ध गराइदिन आग्रह गरेका छन् । केन्द्र सरकारले एयर फोर्स विमान उपलब्ध गराएको खण्डमा अक्सिजन ल्याउन सकिने उनको भनाइ छ । दिल्ली सरकारले फ्रान्सबाट २१ वटा तत्काल प्रयोग गर्न मिल्ने अक्सिजन प्लान्ट आयात गर्न लागेको बताउँदै त्यसले दिल्लीमा अक्सिजनको समस्या समाधान गर्ने बताए । ल्याइएको २१ वटा अक्सिजन प्लान्टलाई दिल्लीको विभिन्न अस्पतालमा लगाइने बताउनुभयो ।
भारतमा दैनिक तीन लाखभन्दा धेरै कोरोना संक्रमित थपिँदै गएपछि अस्पताल भर्ना भएका ९० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक भएपछि त्यहाँ अक्सिजनको अभाव भइरहेको छ । अक्सिजनको अभावमा त्यहाँ दैनिक सैैयौंले ज्यान गुमाइरहेका स्थानीय समाचार माध्यमहरूले बताएका छन् ।
देशमा अक्सिजन अभाब देखिएपछि भारतले तत्कालका लागि अक्सिजन निर्यातमा रोक लगाएको छ । यसबाट नेपाल, बङ्गलादेश, श्रीलङ्कालगायतका एशियाली मुलुकमा समेत अक्सिजनको अभाव आउनसक्ने अनुमान गरिएको छ ।
केन्द्र सरकारले विरामीका लागि अक्सिजनको कमी भएको भन्दै अक्सिजन आवश्यक पर्ने कतिपय कलकारखानाहरू सञ्चालन नगर्न निर्देशनसमेत दिइसकेको छ ।