लोकसंवाद संवाददाता | समाचार | बैशाख १५, २०७८
काठमाडौं । कोरोना संक्रमण दर दैनिक बढ्न थालेपछि सरकारले नेपाल ‘ट्रान्जिट’ बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध लगाएको छ । सरकारको निणर्यसँगै आज बुधबार मध्यरात १२ बजेबाट त्रिभुवन विमानस्थललाई ‘ट्रान्जिट’का रूपमा प्रयोग गर्ने विदेशी नागरिकको आगमनमा रोक लगाइने भएको हो ।
बाहिरबाट आउने यात्रुबाट थप कोरोना संक्रमण फैलाउन सक्ने जोखिम न्यूनीकरणको उपायस्वरूप अध्यागमन विभागले अन्तर्राष्ट्रिय उडान भर्नेलाई यस्तो जानकारी गराएको छ ।
विभागले पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएकाले अर्को सूचना जारी नभएसम्मका प्रतिबन्ध लगाएको जनाएको छ । नेपाल अन्तिम गन्तव्य बनाएर आउने र अन्तर्राष्ट्रिय हवाई यात्रुले पाउँदै आएको सेवा भने यसअघिको उडान तालिका अनुरूप नियमित रहनेछ ।
हाल दैनिक साढे ३ लाखभन्दा बढी कोरोना संक्रमित संख्या देखिएको छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा नेपाल हुँदै आएका यात्रु साउदी अरब लगायत देशमा उडिरहेको पाइएपछि विभागले तेस्रो मुलुक उड्न नपाउने निर्णय गरेको हो ।
विभागका निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालका अनुसार नियम कडाइसाथ लागू हुनेछ । ‘विदेशबाट नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र बाहिर जाने यात्रुलाई भने रोक लगाइएको छैन । कोरोनाको नयाँ लहर आएसँगै नेपालमा थप संक्रमित संख्या बढ्न सक्ने उच्च जोखिम मध्यनजर गर्दै यस्तो निर्णय गरेको ढकालले बताउनु भयो । यो समाचार आजको राजधानी दैनिकमा छ ।