लोकसंवाद संवाददाता | समाचार | बैशाख १६, २०७८
काठमाडौं । एमाले ओली समूहतिर लागेको भन्दै रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र)ले पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचारसमेत गरेको छ ।
पार्टीको प्रदेश समिति सदस्य रहेका नगर प्रमुखहरु मौलापुरमा रिनाकुमारी साह र कटहरियाका सियाराम कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको माओवादीले जनाएको छ ।
यस्तै, उपप्रमुखहरु मौलापुर नगरपालिकाका गौरीशंकर प्रसाद जयसवाल, फतुवाविजयपुरकी कान्तिदेवी महतो, देवाही गोनाहीकी परनियादेवी पटेल, माधवनारायणकी सिमलकुमारी साह र यमुनामाइ गाउँपालिका उपाध्यक्ष गीतादेवी साहलाई पार्टीबाट निष्कासित गरेको माओवादी केन्द्रका रौतहट जिल्ला सचिव देवेन्द्र पेटलले बताउनुभयो । स्थानीय तह निर्वाचनमा माओवादीबाट विजयी उनीहरु एमालेको राजनीतिक गतिविधिमा संलग्न रहेकाले पार्टीको विधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार कारबाही गरिएको उहाँको भनाइ छ ।
‘पार्टीको विधानविपरीत काम गरेकाले उहाँहरुसित स्पष्टीकरण सोध्ने काम भएको थियो । चित्तबुझ्दो जवाफ नआएपछि पार्टीले निष्कासन गरेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरेको भन्दै पार्टी केन्द्रीय समितिको बैठकले दुई मेयर र पाँच उपमेयरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासित गरिएको पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
सर्वोच्च अदालतको २०७७ फागुन २३ को निर्णयले पूर्ववत रुपमा कायम भएको नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाले कारबाही गरिएको पत्रमा उल्लेख छ ।
यो समाचार कान्तिपुर दैनिकमा छ ।