लोकसंवाद संवाददाता | समाचार | बैशाख १६, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको हो । उपत्यकाका प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् ।
संघीय राजधानीमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेछ । त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।
निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु विहानैदेखि सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका र संचालन अनुमति पाएका गाडीहरु फाट्टफुट्ट चलेका देखिन्छ । कोरोना संक्रमणको चेन ब्रेक गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय सार्वजनिक भएलगत्तै धेरै व्यक्तिहरु गाउँ फर्किएका छन् ।
निषेधाज्ञा अवधिमा के के गर्न पाइन्छ ?
विवाह, व्रतबन्ध लगायतमा बेहुला–बेहुली पक्षका गरी बढीमा १५ जना सहभागी हुन पाइनेछ । दुवै पक्षले विवाहको ब्यानरसहित दुई वटासम्म गाडी प्रयोग गरी आउजाउ गर्न सक्ने छन् । विवाह–व्रतवन्धका लागि स्थानीय तहको सिफारिश अनुसार जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउँछ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।
एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, कुरिअर एवम् डाँक सेवा, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायातका साधनमा सञ्चालन गर्न पाइनेछ । सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाले सम्बन्धित मन्त्रालय वा विभागबाट जारी पास लिएर सवारीसाधन प्रयोग गर्न पाउने छन् ।
विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयले दिने पास लिएर सञ्चालन गर्न पाइनेछ । अस्पताल आउने–जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने अवस्थाका व्यक्तिहरुलाई पनि प्रमुख जिल्ला अधिकारीले दिएको पासका आधारमा गाडी प्रयोग गर्न पाइनेछ ।
डिपार्टमेन्टल स्टोर, खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म संचालन गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्था, बीमा एवम् राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ । पत्रकारहरुको हकमा सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा आउ–जाउ गर्न दिइनेछ ।