आज बनारस मोदीमय

आज बनारस मोदीमय

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७६

भोलि शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो संसदीय क्षेत्र बाराणसी नामांकनपत्र दर्ता गराउने छन् । भाजपाले यस अवसरलाई ऐतिहासिक बनाउन जोरदार तयारी गरेको छ । 
काठमाडौं । भारतीय प्रधानमन्त्री एक पटक पुनः उत्तरप्रदेश वाराणसी सिटबाट चुनाव लड्न गइरहेका छन् । चुनाव घोषणाताका मोदीले गुजरातको कुनै सिट वा उडिसाको कुनै सिटबाट पनि चुनाव लड्ने चर्चा चलेका थिए । तर, मोदीले वाराणसीका मतदातामाथि विश्वास गर्दै अर्काे सिटबाट लड्ने मनस्थिति बनाएनन् । 

वाराणसीमा मतदान अन्तिम सातौं चरणमा हुने कार्यक्रम छ । नामांकनपत्र दाखिल गर्न आज दिउँसो ३ बजे मोदी बनारस पुग्दैछन् । उनी २ बजेर ३० मिनेट जाँदा वाराणसीको वाबतपुर एअरपोर्टमा ओर्लिनेछन् । एअरपोर्टबाट मोदी हेलिकोप्टरद्वारा ‘बिएचयु’ पुग्नेछन् । 

वाराणसी पुगेर सर्वप्रथम मोदीले महामना मदन मोहन मालवियको प्रतिमामा माल्यार्पण गरेर रोड सोमा भाग लिनेछन् । यस रोड सोका लागि भाजपा अध्यक्ष अमित साह पहिलादेखि नै वाराणसी पुगिसकेका छन् । भाजपाले रोड सोमा पाँच लाखभन्दा बढीको जनसहभागिता रहने अनुमान छ । 

रोड सोका लागि सुरक्षाको व्यापक व्यवस्था मिलाइएको छ । रोड सोमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ, केन्द्रीय गृहमन्त्री राजनाथको सहभागिता रहनेछ । 
रोड सोको अन्त्यमा मोदी गंगाघाटको आरतीमा सम्मिलित हुनेछन् । 

इसैगरी भोलि बिहान काशी विश्वनाथ र काशीका कोतवाल भनिने कालभैरवको दर्शन उपरान्त मोदीले नामांकन पत्र दर्ता गराउनेछन् । मोदीले नामांकन पत्र दर्ता गराउन जाँदा एनडिए गठबन्धनका तमाम दिग्गज नेताहरूको उपस्थिति रहनेछ । 

शिवसेनाका उद्धव ठाकरे, विहारका मुख्यमन्त्री नीतिश लगायतका ठूला अनुहार भोलि वाराणसीमा उपस्थित हुनेछन् । 

भाजपाका स्थानीय नेता तथा कार्यकर्ताको आँकलन अनुसार यस पटक मोदीले ७ लाखभन्दा बढी मत अन्तरले चुनाव जित्नेछन् ।