सत्ताइस वर्षपछि हाेशमा

सत्ताइस वर्षपछि हाेशमा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७६

यूएईकी एक महिला जर्मनीको एउटा अस्पतालमा २७ वर्षपछि होसमा आएकी छन् । उनी  दुर्घटनामा परेर कोमामा गएकी थिइन् । 

उनी चढेको कार सन् १९९१ मा एउटा बससँग जुध्दा मुनिरा अब्दुल्लाको मस्तिष्कमा गम्भीर चोट लागेको थियो।

उनी चार वर्षीय छोरालाई लिएर विद्यालयबाट घर फर्किँदा सो दुर्घटना भएको थियो। त्यसबेला उनको उमेर ३२ वर्षको थियो।

मुनिराले दुर्घटना हुन लाग्दा छोरा ओमार वेबायरलाई काखमा लिएकाले उनलाई भने केही भएको थिएन।
मुनिराको होस गत वर्ष फर्किएको बताइएको छ।

ओमारले यूएईबाट प्रकाशित हुने द नेशनल समाचारपत्रिकालाई सो दुर्घटना र आफ्नी आमाको स्वास्थ्यस्थितिमा भएको अद्भुत सुधारबारे बताएका छन्।

ओमारले सो पत्रिकालाई भने, मैले कहिल्यै आशा मारिनँ किनभने मलाई सधैँ उहाँ ब्युँझनुहुन्छ भन्ने लाग्थ्यो।

मानिसहरूले आफ्ना प्रियजनप्रति रहेको आशा नगुमाऊन् भनेर आफ्नी आमाको कथा अहिले अरूलाई भनेको उनले बताएका छन्।

त्यस्तो स्थितिमा हुँदा तिनलाई मृत नठान्नुहोस्, उनले थपे। मेरी आमा मसँग पछाडिको सीटमा बस्नुभएको थियो। दुर्घटना हुन लागेको देखेपछि उहाँले मलाई जोगाउन अँगालो हाल्नुभयो।

दुर्घटनामा ओमारको टाउको अलिकति दर्फरायो। तर घाइते भएकी उनकी आमाले भने घण्टौँ उपचार पाइनन्।
मुनिरालाई अस्पताल लगियो। त्यहाँबाट पछि उनलाई लन्डन लगियो।

द नेशनलका अनुसार उनलाई त्यहाँ ‘भेजिटटिभ’ अवस्थामा भएको घोषणा गरियो। उनी कुनै प्रतिक्रिया दिन सक्दिनथिन्, तर उनलाई पीडा भने हुन्थ्यो।

लन्डनबाट उनलाई ओमानको सीमानजिकै रहेको उनको गृहनगर यूए‌ईको अल ऐन फिर्ता लगियो।
उनलाई विभिन्न चिकित्सालयमा बीमाका लागि आवश्यक प्रक्रियानुसार लगियो।

त्यहाँ उनी केही वर्ष बसिन्। उनलाई जीवित राख्न नलीबाट खाना खुवाइयो। हिँडडुल नगर्ने भएकाले मांसपेशी कमजोर नहोऊन् भनेर उनलाई फिजियोथेरापी गराइयो।

सन् २०१७ मा आबु धाबीस्थित एउटा सरकारी निकायले आर्थिक सहयोग उपलब्ध गरायो र मुनिरालाई जर्मनी सारियो।
त्यहाँ उनका छोटिएका पाखुरा र खुट्टाका मांसपेशीको उपचार गर्न धेरै पटक शल्यक्रिया गरियो र उनलाई जागृत बनाउन औषधि दिइयो

एक वर्षपछि उनका छोराको अस्पतालमा विवाद भयो। उनी राखिएकै कक्षमा भएको विवादले मुनिरामा केही प्रतिक्रिया भएको जस्तो देखियो।
अस्पताल कक्षमा केही मनोमालिन्य भएको थियो। उहाँलाई म जोखिम छु भन्ने थाहा भयो, त्यसले उहाँ आवेगमा आउनुभयो उहाँले अनौठो स्वर निकाल्नुभयो र मैले उहाँलाई जाँच्न चिकित्सकहरूलाई बोलाइरहेँ। 
त्यसको तीन दिनपछि कसैले मेरो नाम लिएर बोलाइरहेको सुनेर म ब्युँझिएँ।
उहाँ नै हुनुहुन्थ्यो उहाँ मेरो नाम लिँदै हुनुहुन्थ्यो। म खुसीले गदगद भए।

वर्षौँसम्म म यही क्षणको कल्पना गर्थेँ। अनि मेरो नाम नै उहाँले उच्चारण गरेको पहिलो शब्द थियो ।
उनी अझ बढी प्रतिक्रिया दिन थालिन्। अहिले उनी पीडाबोध गर्न र केही बोल्न सक्छिन्।

उनी आबुधाबी फर्किएकी छन्। उनलाई त्यहाँ फिजियोथेरापी र पुनर्स्थापनाका लागि अरू विधि गराइँदैछ।

बिबिसि नेपालीबाट साभार