कानुनी प्रक्रिया अपनाएरै एनसेलको कर असुल्न नेकपाका विद्यार्थी र युवा संगठनको आग्रह

कानुनी प्रक्रिया अपनाएरै एनसेलको कर असुल्न नेकपाका विद्यार्थी र युवा संगठनको आग्रह
अनेरास्ववियु अध्यक्ष नवीना लामा, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङ, युवा संघ, नेपाल अध्यक्ष रमेशकुमार पौडेल, र वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ (बायाँबाट क्रमशः) ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७६

काठमाडौं । नेकपाका युवा तथा विद्यार्थी संगठनले कानुनी प्रक्रिया अपनाएर एनसेलबाट कर असुली गर्न सम्बद्ध निकायलाई अनुरोध गरेका छन् । 

अनेरास्ववियु, युवा संघ, नेपाल, अनेरास्ववियु (क्रान्तिकारी) र वाइसिएल, नेपालले बिहीबार विज्ञप्ति जारी गर्दै एनसेलबाट  जसरी पनि कर असुल्न आग्रह गरेका हुन् । ‘एनसेलले राज्यलाई तिर्नुपर्ने करको सम्बन्धमा सम्मानित सर्वाेच्च अदालतले फैसला गरेको र ठूला करदाता कार्यालयले सात दिनको समयसीमा तोकेकोमा त्यसमा पनि आनाकानी गरेको अवस्थाले हामीलाई ज्यादै गम्भीर बनाएको छ । सर्वाेच्च अदालतको फैसलालाई समेत अवज्ञा गर्ने एनसेलको यस्तो रवैया खेदजनक छ । ‘कर तिर्नु नपरोस्’ भन्ने मनसायले उसले गर्ने कुनै पनि चालबाजी वा बहानाबाजी हामीलाई किमार्थ स्वीकार्य छैन । यसर्थ, जुनसुकै कानुनी प्रक्रिया अपनाएर भए पनि एनसेलबाट कुर असुल गर्न नेपाल सरकार र सम्बद्ध निकायहरू समक्ष हामी अनुरोध गर्दछौं,’ अनेरास्ववियु अध्यक्ष नवीना लामा,युवा संघ,नेपालका अध्यक्ष रमेशकुमार पौडेल, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ र वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।  

विज्ञप्तिमा एनसेललाई कर छुट दिने वा अन्य कुनै प्रकारका विशेष सहुलियत दिने जस्ता राष्ट्रघाती निर्णय नगर्न सम्बद्ध निकायलाई आग्रह गरिएको छ । 

ती संगठनले एनसेललाई पनि सिघ्र कर तिर्न अपिल गरेका छन् ।

२४ घन्टाभित्र एनसेलले कर नतिरे दबाबका कार्यक्रम घोषणा गर्ने ती संगठनको चेतावनी छ ।