लोकसंवाद संवाददाता | स्वास्थ्य | बैशाख १९, २०७८
काठमाडौं । अस्पतालमा खाली बेड नभएको विज्ञप्ति निकालेर सरकारले नागरिकलाई आफ्नो सुरक्षा आफैँ गर्न अलपत्र छाडिदिएको छ । देशमा उपलब्ध वैकल्पिक संचरनामा अलिकति लगानी गरेर जनतालाई सेवा दिन सकिन्छ, तर सरकारले त्यतातिर सोच्ने जमर्को गरेको छैन ।
काठमाडौं उपत्यकासहित देशभरका होटेलका कोठा अहिले रित्तै छन् । त्यसलाई उपयोग गरेर सर्वसाधारणलाई सुबिस्ता पु¥याउन सकिन्छ, तर शिलान्यासमा व्यस्त सरकारसँग विकल्पबारे सोच्ने फुर्सद छैन ।
गत वर्ष उपत्यकाभित्र र बाहिरका केही जिल्लामा होटेललाई क्वारेन्टिन बनाइएको थियो । तर, यस वर्ष सुनामीझैँ महामारी फैलिँदा पनि त्यसमा छलफलसम्म पनि भएको छैन । होटेल संघ नेपाल (हान)मा आबद्ध होटेलका काठमाडौंमा मात्रै तारे होटेलका ६ हजार पाँच सय र देशभर ६० हजार कोठा छन् । त्यस्तै, देशभर साना ननतारे होटेलमा एक लाख ६० हजार कोठा छन् ।
सरकारले सामान्य मेडिकल टिम राखेर हजारौँ बिरामीलाई सहज सेवा दिन सकिने हानका प्रथम उपाध्यक्ष विनायक शाहले नयाँ पत्रिकासँग बताए । ‘सरकारले यसमा रुचि नै दिएको छैन । सामान्य बिरामीलाई होटेलमा राख्न सकिन्छ । त्यसो हुँदा गम्भीर बिरामीलाई अस्पतालका बेडहरू उपलब्ध गराउन सकिन्छ,’ शाहले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले सिसिएमसीमा सबै क्षेत्रका व्यक्ति भएकाले त्यहीँबाट आवश्यकताअनुसार निर्णय लिने बताए । ‘होटेलका संरचना प्रयोग गर्न सकेमा धेरै समस्या समाधान हुन सक्छ, यो विषयमा छलफल हुन्छ,’ प्रवक्ता अधिकारीले भने ।
अघिल्लोपटक केही होटेलले विदेशबाट आएका नेपालीलाई १४ दिन क्वारेन्टिनमा समेत राखेका थिए, केहीले आइसोलेसनमा समेत राखेका थिए । तर, यसपटक अवस्था गम्भीर भएकाले कोभिडका बिरामी राख्ने पहल आफैँ गर्न होटेलहरू हच्किएका छन् ।
‘क्वारेन्टिन त अहिले पनि राखिएको छ, तर कोरोना लागेका बिरामीलाई आइसोलेसनमा राख्नका लागि सरकारले पहल गर्नुपर्ने हुन्छ,’ उपाध्यक्ष शाहले भने, ‘कम्तीमा बिरामीको अवस्था हेरी होटेलमै राख्ने कि अस्पताल पठाउने भन्ने मेडिकल टिम त हुनैपर्छ ।’
त्यसैगरी, होटेलका कर्मचारीले जोखिम लिँदा जोखिम बिमा पनि आवश्यक हुने र त्यसमा पनि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ । गत वर्ष पनि केही होटेल र अस्पतालको समन्वयमा आइसोलेसन बनाइएको थियो । स्टार अस्पतालले सोल्टी होटेलमा अक्सिजन र मेडिकल टिमसमेत राखेर कोठाहरू तयार गरिएका थिए, जसको सुविधा लिनेमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसमेत थिए ।
गत वर्ष पर्यटन मन्त्रालयको सहमतिमा काठमाडौं जिल्ला प्रशासनले ५४ वटा होटेललाई क्वारेन्टिन बनाउने निर्णय गरेको थियो । त्यस्तै, काठमाडौंबाहिर चितवन, रुपन्देही र कास्कीमा क्वारेन्टिनका लागि दुई–दुई दर्जन होटेलले अनुमित पाएका थिए ।
होटेललाई आइसोलेसन बनाए गम्भीर बिरामीलाई अस्पतालमा बेड उपलब्ध गराउन सकिन्छ : विनायक शाह प्रथम उपाध्यक्ष, हान
होटेललाई क्वारेन्टाइन त अहिले पनि बनाइएको छ । हामीले आइसोलेसन बनाउन सकिन्छ भन्ने प्रस्ताव गरेका छौँ । तर सरकारले रुचि देखाएको छैन । गम्भीर प्रकृतिका संक्रमितहरूले अस्पतालमा बेड पाउन छाडेका छन् । यदि मेडिकल टिमसहित होटेललाई आइसोलेसन बनाएर सामान्य बिरामीलाई राख्ने हो भने गम्भीर बिरामीलाई अस्पतालका बेड उपलब्ध गराउन सकिन्छ ।
अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द गर्न सिफारिस
कोभिडको संक्रमण दर पहिलो लहरको उच्च बिन्दुभन्दा बढी देखिएपछि कोभिड नियन्त्रण गर्न बनेको उच्चस्तरीय समन्वय समिति ९सिसिएमसी०ले आन्तरिक र अन्तर्राष्ट्रियतर्फका उडान बन्द गर्न सिफारिस गरेको छ ।
केही दिनअगाडि सरकारले नेपाल भएर तेस्रो मुलुक जान प्रतिबन्ध लगाएको थियो । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने कुनै निर्णय नलिए पनि नेपालसँग हवाई सेवा हुने देशले भने धमाधम बन्द गर्न थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालमा कोरोना बढेको भन्दै नेपालसँग हवाई सेवा भएका देशहरूले आफैँ उडान बन्द गर्न थालेको बताए । ‘आन्तरिकतर्फ हामीले नै कटौती गरिहेका थियौँ, अन्तर्राष्ट्रियमा विभिन्न मुलुकले कटौती गरिरहेका छन्,’ महानिर्देशक पोखरेलले भने ।
हङकङ र जापानले नेपालसँगको उडान बन्द गरिसकेका छन् । साउदी अरब पनि नेपालमा उडान बन्द गर्ने प्रक्रियामा छ । हाल नेपालबाट मलेसिया, कतार, दुबई, भारत, टर्कीलगायत देशमा मात्रै उडान भइरहेको छ । भारतमा उडान गर्न संसारभरबाट रोक लगाइँदा नेपाल र भारतबाट दुइतर्फी एक–एक हवाई सेवा सुचारु नै छ ।
भारतीयहरू नेपाल हुँदै सउदीतर्फ उडान गरिरहेका थिए । त्यसमा नेपालले गत सातादेखि नै कडाइ गरेको छ । हाल आन्तरिकतर्फ दैनिक ७० र अन्तर्राष्ट्रियतर्फ २० वटा मात्रै उडानरअवतरण भइरहेका छन् । सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ दैनिक ९० र आन्तरिकतर्फ तीन सयभन्दा बढी उडानरअवतरण हुने गरेको छ ।