खुलामंच अतिक्रमणविरुद्ध जनता सडकमा

खुलामंच अतिक्रमणविरुद्ध जनता सडकमा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १३, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका र जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएकोमा सर्वसाधारणले विरोध जनाएका छन्। सम्पदा अभियन्ता र स्थानीयले खुलामञ्च अतिक्रमण गरेर मास्न खोजेको भन्दै बिहीबार विरोध प्रदर्शन गरेका हुन्।

काठमाडौं महानगरपालिका र कम्पनीको मिलेमतोमा खुलामञ्चमा ४४ व्यापारिक सटर बनाइएको छ। कम्पनीले महानगरपालिकालाई आर्थिक प्रलोभनमा पारेर व्यापारिक सटर निर्माण गरेको हो। महानगरले सुविधासम्पन्न काठमाडौं भ्यु टावर निर्माण गर्ने भन्दै बसपार्कलाई २०७३ वैशाखमा दुई वर्षका लागि खुलामञ्चमा सारेको थियो।

दुवै पक्षबीच भएको सम्झौतामा खुलामञ्चमा निर्माण गरिने अस्थायी बसपार्कमा तीन बस काउन्टर, तीन यात्रु प्रतीक्षालय, एक सार्वजनिक शौचालय र एउटा क्यान्टिन निर्माण गर्ने उल्लेख थियो। तर निर्माण कम्पनीले सम्झौताको धज्जी उठाउँदै अहिले ४४ भन्दा धेरै व्यापारिक सटर बनाएर भाडामा लगाएको छ। यो समाचार आजको नागरिक दैनिकले पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।