दुई भारतीयसहित तीनविरुद्ध ४६ करोड बिगोको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

दुई भारतीयसहित तीनविरुद्ध ४६ करोड बिगोको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १३, २०७६

काठमाडाैं । गैरकानुनी रूपमा आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भारतीय नागरिक विनोदकुमार गुप्ता र वीरेन्द्र महतो तथा गुप्ताकी पत्नी मधुकुमारी चौधरी (नेपाली नागरिक) विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध झन्डै ४६ करोड बिगो मागदाबी गरिएको छ । विभागले करिब सात महिना लामो अनुसन्धान गरी मुद्दा दायर गरेको हो । 

विभागले गरेको छानबिनले आर्थिक वर्ष ०६५/६६ देखि ०७४/७५ सम्मको अवधिमा उनीहरूले गैरकानुनी रूपमा २३ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको देखिएको छ । सो रकम बैंकमा जम्मा गर्नेदेखि घर बनाउने, संघसंस्थामा लगानी गर्नेसम्ममा प्रयोग गरेको विभागले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ । 

गैरकानुनी रूपमा आर्जित सम्पत्ति फर्मका कर्मचारीसमेतका नाममा विभिन्न बैंकमा गरी १० करोड १० लाख रुपैयाँ लुकाईछिपाई राखेको विभागको अनुसन्धानबाट खुलेको छ । ०६५ सालपछि काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घरजग्गामा उनीहरूले आठ करोड ३० लाख रुपैयाँ लगानी गरेको आरोपपत्रमा उल्लेख छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।