लोकसंवाद संवाददाता | समाचार | बैशाख २३, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारवाही गरिने बताउनुभयो ।
महामारीको यो सङ्कटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनावश्यक बढी शुल्क लिनेलगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थाउपर यस्ता गतिविधि नगर्न नगराउन भनेको छ ।