लोकसंवाद संवाददाता | समाचार | बैशाख २३, २०७८
काठमाडौं । महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा अस्वाभाविक मूल्यवृद्धि पाइएको हो ।
यही सोमबारसम्म २ सय ५० पर्ने सनफ्लावर तेलको २ सय ८० र ८१ को ८६ रुपैयाँमा बेच्न थालिएको छ । दाल, गेडागुडी, चना, केराउ, मास, मुसुरोलगायत वस्तुमा प्रतिकेजी १० देखि १५ रुपैयाँ बढाइएको छ । कोरोना संक्रमित तीव्र बढेसँगै सर्जिकल मास्कमा समेत अत्यधिक मूल्य बढेको उपभोक्ताको गुनासो छ ।
राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन ठूला व्यापारीको पहुँच माथिसम्म हुने भएकाले संकटका समय अत्यावश्यक वस्तुमा कालोबजारी मौलाउने गरेको दाबी गर्छन् ।
‘दैनिक उपभोग्यदेखि अत्यावश्यक स्वास्थ्य सामग्रीमा कृत्रिम अभाव देखाएर कालोबजारी भइरहेको महर्जनले बताउनु भयो । लकडाउनपछि मात्रै चिनी, खाने तेल, दाल गेडागुडीलगायतमा अस्वाभाविक मूल्यवृद्धि गरिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक अनुगमन पनि गर्दै आए पनि ‘प्रभावकारी हुन नसकेको राष्ट्रिय उपभोक्ता मञ्च अध्यक्ष महर्जनको गुनासो छ । नेपाल खुद्रा व्यापार संघ अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार ठूला व्यापारी ‘मिलेमत्तो’मा खाद्यवस्तुको मूल्य बढाउने गर्छन् ।
बजारमा दैनिक उपभोग्य वस्तु पर्याप्त हुँदाहुँदै पनि ‘कृत्रिम अभाव’ सिर्जना गरी अत्यधिक मूल्यवृद्धि गर्ने गरेको उहाँको दावि छ । ‘कालोबजारीको संरक्षक नै सरकार भएपछि कसले कारबाही गर्ने ? जसले गर्दा आमसर्वसाधारण सधैं मर्कामा पर्ने गरेका छन् ।’ यो समाचार राजधानी दैनिकमा छ ।