९२ वर्षअघिको त्यो तस्बीर

९२ वर्षअघिको त्यो तस्बीर

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १३, २०७६

काठमाडौं । अखबारमा पहिलोपटक सर्वसाधारणको तस्बिर छापिएको ९२ वर्ष पुगेको छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते सोमबार वीरगन्जकी एक महिलाको तस्बिरलाई तेस्रो पृष्ठमा छापेको थियो । त्यसअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको तस्बिर १९८३ साल साउन १८ गते सोमबार छापिएको थियो ।

सर्वसाधारणको तस्बिर छापिएकोले राष्ट्रिय फोटो पत्रकार समूहको सक्रियतामा झण्डै दुई दशकदेखि हरेक वैशाख १३ गतेलाई राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइँदैआएको छ ।

वि.सं. १९८४ वैशाख १३ गते गोरखापत्रमा ‘विविध विषय’ शीर्षकमा कपासको गुणका बारेमा एउटा आलेख छापिएको थियो । विविध विषयको ठिक मुनि “श्री चन्द्र कामधेनु चर्खा प्रचारका खेति विभागद्वारा प्रकाशित कपास खेतिको साधारण सूचना” भनी छापिएको थियो । त्यसको मुनी महिलाले चर्खाबाट धागो कातिरहेको तस्बिर छापिएको थियो र तस्बिरको मुनी “आफ्ना कपाशका बगैचामा ‘श्रीचन्द्र कामधेनुचर्खा’ द्वारा धागो काती रहेकी, वर्ष १२ को, वीरगन्ज बस्ने सूर्यमती श्रेष्ठनी” भनी तस्बिरको विवरण (क्याप्सन) छापिएको थियो ।

नेपाली अखबारमा सबैभन्दा पहिले कुन तस्बिर प्रकाशित गरिएको थियो भन्ने बारेमा फोटो पत्रकार समूहले अध्ययनको जिम्मा स्वतन्त्र फोटो पत्रकार उषा तितिक्षुलाई दिएको थियो । अध्ययनपछि पहिलो तस्बिर गोरखापत्रमा प्रकाशित भएको र ‘फोटो क्याप्सन’ भएकै कारण १९८४ सालमा प्रकाशित तस्बिरलाई नै समाचारमूलक पहिलो तस्बिर भएको ठहर्‍यारिएको थियो । समूहले उहाँको निष्कर्षका आधारमा हरेक वैशाख १३ लाई फोटो पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो ।