कैलाशकुमार सिवाकोटी | शिक्षा | बैशाख २३, २०७८
बा, भाइबहिनी बिग्रिए, म सुधारुँला,
आमा, बा बिग्रिए तपाईं सुधार्नुहोला
नेता बिग्रिए जनताले सुधार्छन्
जनता बिग्रिए, नेताले सुधार्छन
तर मलाई भन्नुहोस्ः
शिक्षा नै बिग्रिए, कसले, कसलाई सुधार्ने ?
विगतदेखि नै उठदै आएको तर अहिलेसम्म पनि समाधान हुन नसकेको अहिलेको जङ्गी प्रश्न हो यो ! धेर हेर्नुपर्दैन, हाम्रो लवाइ, खवाइ, हिँडाइ, आचरण, बानीव्यवहोराले धेरै कुरा बोल्छन् । मन्दिरमा जल, फूल चढाएर पूजाआजा गरी घरमा छिमेकीसँग लफडा गर्ने हामी नै हौँ । बच्चालाई कुरकुरे, चिजबल, चाउचाउमा बानी पार्ने हामी नै हौँ । सन्तानको परीक्षण त्यहाँ भयो, भइरहेको छ, जम्माजम्मी कति अङ्क वा कुन श्रेणी ल्यायो ? छिमेकीका छोराछोरीको भन्दा बढी ल्याएको कि ल्याएन ? अङ्ग्रेजी बोल्न छिप्पु छ कि छैन ?
छोराछोरी अष्टेलिया, जापान, अमेरिका, युरोप...मा छन्–छैनन् ? माने पनि, नमाने पनि, भने पनि नभने पनि हाम्रा सन्तान सफल कि असफल भन्ने मापन यी र यस्तै हुन् । उमेरअनुसार लडेको गिलास उठाउँछ, उठाउँदैन ? खान पकाएर खान्छ, खाँदैन ? सक्ने प्रकृतिका व्यवहारिक समस्या सल्टाउँछ, सल्टाउँदैन ? अर्थात् जीवनमा ऊ सफल छ कि असफल ? यी हाम्रा मापन बनेका छैनन् र केही समय बन्दैनन् पनि ! यो नकारात्मक टिप्पणी होइन, यो आम (अपवादबाहेक) प्रवृति हो, यथार्थ बिम्ब हो । सामान्य नियम होः शिक्षा बिग्रिएपछि संस्कार सिद्धिन्छ, त्यसपछि के नै बाँकी रहन्छ र !
फटाहा, लफुङ्गा, बेरोजगारमा संविधानले आधारभूत शिक्षा निःशुल्क भन्यो । हुने खाने र नहुने बिचको दुरी बाक्लियो । एउटा रातो बङ्गालाको शिक्षा भयो, अर्को डोल्पा अर्थात दुरदराजको शिक्षा ! शिक्षामा गुणात्मकताको खडेरी एउटा पाटो, अर्को मूल्याङ्कन पद्धति, जहाँ शहरका विद्यालय सारा सुविधाको वरिपरि छन् भने दुर्गममा परीक्षा सकिएपछि पनि पाठ्यपुस्तक पुग्दैनन् ।
ज्ञान, बुद्धि, विवेक, जसको, जहाँको, जहिले लिए पनि हुन्छ तर आफ्नो बारीमा बारी सुहाउँदौ बीज हुँदाहुँदै अर्काको बीउ रोप्नु, गोडमेल गर्नु, फुलाउन/फलाउन लागिपर्नु विडम्बना नै हो । हामी कसरी मानिसबाट दास भयौँ ? जवाफ खोज्दै जाँदा भन्न कर लाग्छ- तत्कालीन भारतमा बेलायती उपनिवेशवादको प्रवेश नै यसको मुख्य कारण बन्यो । उनीहरूले पूर्वको शिक्षा, भाषा, संस्कृति, सभ्यतालाई कसरी चट् पारे यो /दृष्टान्त/पत्र नै पर्याप्त होलाः
मेकालेको ‘कुटिल’ शिक्षा
बेलाइती उपनिवेश बनाएपछि दिगो र अखण्ड शासन गर्न भारतमा संस्कृतको साटो अनिवार्य अङ्ग्रजी शिक्षा लाद्नुपर्ने विचार अघि सार्दै लर्ड थोमस मेकालेले बेलाइती संसद्मा (२ फरबरी १८३५) यस्तो प्रस्ताव राखेका थिए अरे, ‘मैले भारतवर्षमा सर्वत्र चहार्दा एउटै माग्ने पनि देखिनँ, एउटै चोर पनि फेला परेन । त्यहाँका मान्छेको कस्तो उच्च नैतिकता ! कस्तो महान् चरित्र ! त्यहाँको कस्तो समृद्धि ! अहँ ! मलाई त के लाग्यो भने, त्यहाँको आध्यात्मिक र सांस्कृतिक सम्पदा अनि प्राचीन शिक्षा प्रणालीलाई हटाएर (अर्थात् तिनीहरूको अस्मिताको ढाड भाँचेर) त्यसका ठाउँमा हाम्रो लगाएनौं भने, मरी गए हामी त्यस देशलाई जित्न र त्यहाँ दिगो शासन गर्न सक्तैनौँ ।
त्यति गरेपछि (अर्थात् संस्कृत माध्यमको उनीहरूको शिक्षाको साटो अंग्रेजी माध्यमको हामीले योजना गरेको शिक्षा लादयौँ भने) मात्रै, बल्ल, भारतीयहरूलाई जे–जे बेलाइती र विदेशी हो, त्यो नै आफ्नोभन्दा उन्नत हो भन्ने पर्छ । त्यति भएपछि चाहिँ तिनीहरूले आत्मसम्मान र जातीय संस्कृति गुमाउछन् अनि मात्र हामी पराजित राज्यका नागरिकलाई झैँ तिनीहरूलाई हामीले जे भन्यो त्यही मान्ने बनाउन सक्छौँ ।’ (डा. माधवप्रसाद पोखरेलको १० कार्तिक, २०७५ मा कान्तिपुर दैनिकमा उल्टो बाटोमा शिक्षा शीर्षक लेखबाट)
मेरा प्यारा बा,
हाम्रा अङ्ग्रेजी स्कुलहरू उदेक लाग्ने गरी सप्रिरहेका छन् । हिन्दुहरूमा अङ्ग्रेजी शिक्षाको असर अच्चम्म लाग्दो गरी देखिन थालेको छ । अबदेखि अङ्ग्रेजी पढेको कुनै हिन्दु पनि आफ्नो धर्ममा इमानदार हुन सक्तैन । अब कतिले हाम्रै नीतिको पालन गरी रहन्छन्, अनि कति त, धर्म परिवर्तन गरेर इसाई नै हुन्छन् । मलाई त के विश्वास छ भने, हाम्रो शिक्षा योजना यसै गरी सफल भएर चल्यो भने, अब आजको ३० वर्षपछि बंगालका छेत्री–बाहुनका घरमा मूर्ति पूजा गर्ने मान्छे एउटै पनि भेटिँदैन । यो सबै काम धर्म परिवर्तन गराउने कुनै प्रयास नगरे पनि, धार्मिक स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरे पनि उनीहरूले पाएको ज्ञान र त्यसले जन्माउने सोचबाटै स्वतः सम्भव हुन्छ । यो कुराले म कस्तो गदगद भएको छु ! यहाँलाई सदा माया गर्ने
टीबी मेकाले कलकत्ता, १२ अक्टोबर १८३९ (उही)
त्यतिबेला यसबाहेक अङ्ग्रेजी पढ्, रोजगार प्राप्त गर । सस्कृत पढ्, बेरोजगारको कारखाना चलाएर बस् । अन्ततः चाहे पनि नचाहे पनि यही शिक्षा नेपालमा पनि भित्रियो / भित्र्याइयो । भाषा अङ्ग्रेजी भयो भन्नेमा पीर होइन, अङ्ग्रेजीको नाममा पूर्वको सारा वैभव सिध्याइयो भन्ने हो । शिक्षालाई पूर्णत राजनीति बनाइयो । शिक्षाविद् डा. केदारभक्त माथेमाको भनाइमा पाउलो फ्रेरे भन्छन्ः सबै शिक्षकहरू राजनीतिक हुन्छन् । वास्तवमा शिक्षा भनेको सधैँ राजनीतिक नै हुन्छ, त्यो कहिल्यै पनि तटष्ट हुन सक्दैन । त्यसअनुसार नै उनीहरूको पनि उद्देष्य राजमुकुट र राज्यप्रति वफादार तथा पञ्चायती व्यवस्थाअनुकूलका आचरण गर्ने बफादार नागरिक तयार पार्ने नै थियो । (सार्वजनिक शिक्षाः कहाँ चुक्यौँ हामी ? २३ वैशाख, २०७८,रातोपाटी अनलाइन) आज नागरिक नागरिक भएनन्, अधिकार बुझे, कर्तव्य कुल्चे । फटाहा, लफुङ्गा, बेरोजगारमा संविधानले आधारभूत शिक्षा निःशुल्क भन्यो । हुने खाने र नहुने बिचको दुरी बाक्लियो । एउटा रातो बङ्गालाको शिक्षा भयो, अर्को डोल्पा अर्थात दुरदराजको शिक्षा ! शिक्षामा गुणात्मकताको खडेरी एउटा पाटो, अर्को मूल्याङ्कन पद्धति, जहाँ शहरका विद्यालय सारा सुविधाको वरिपरि छन् भने दुर्गममा परीक्षा सकिएपछि पनि पाठ्यपुस्तक पुग्दैनन् ।
धेरै कुरा बिग्रिसकेको छ, सकिएको भने होइन । एकातिर हामी शिक्षित भनिएका एकथरी पश्चिम जिन्दावाद ! भन्छौँ, उसैको सक्कल नक्कल गर्छौँ । अर्को पक्ष जे थियो, जस्तो थियो, त्यसैको वकालत गर्छ । ऋषीमुनिहरूको वैज्ञानिकपनलाई समयअनुसार अगाडि ल्याउन नसक्नु, वैज्ञानिक पक्षलाई कर्मकाण्ड र आफ्नो अनुकूल व्याख्या गर्नु नै विडम्बना हुन पुग्यो । अब भनेको कि सिद्धिने हो, कि दास हुने हो, कि बन्ने र बनाउने हो । बनाउनको लागि आफ्नोमा गर्व गर्ने र समयसापेक्ष शिक्षा र व्यवहारमा परिमार्जन गर्नुको विकल्प छैन, जो आज पश्चिमले पूर्वका असल पक्षलाई आत्मसात गर्दै अगाडि बढिरहेको छ । हामी भने उसले थन्क्याएका, फ्याँकेका सूत्र समाएर आधुनिक बनिरहेका छौँ । अतः शिक्षा बिग्रिए व्यक्ति बिग्रन्छ, व्यक्ति बिग्रिए परिवार, परिवार बिग्रिए, समाज, समाज बिग्रिए राष्ट्र ! चेतना भया !