विद्यालय निर्माणको रकम पार्टी कार्यकर्ताको खातामा

विद्यालय निर्माणको रकम पार्टी कार्यकर्ताको खातामा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १३, २०७६

धादिङ । भूकम्प गएको चार वर्ष बित्यो। गोरखाको बारपाक केन्द्रबिन्दु रहेको भूकम्पले हजारौंको ज्यान र लाखौंको बास खोसेको थियो। भूकम्पपछि भत्किएका विद्यालय पुनर्निर्माण नहुँदा विद्यार्थी अझै पनि टहरा र खुला आकाशमुनि पढ्न बाँध्य छन्। उदाहरणको रूपमा उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेवीस्थित बच्छलादेवी माविमा अझै पनि टहरामै पढाइ हुन्छ। भूकम्पले विद्यालय भवन भत्किएपछि जस्ताले बारेर पढाउँदै आइरहेको संरचना अझै परिवर्तन हुन सकेको छैन।

विद्यालय निर्माणका लागि अस्ट्रेलियन नागरिक मोयालिया तोकमकले विद्यालयको भम्रण गरी अस्ट्रेलियन ३० हजार डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोही बमोजिम मोयालियाले सत्यदेवी गाउँकै अस्टे«लियामा ग्रीनकार्ड परेर उतै बस्दै आइरहेका मंगलबहादुर तामाङमार्फत नेपाली २० लाख (२० हजार अस्ट्रेलियन डलर) विद्यालय निर्माणका लागि पठाएका थिए। मंगलबहादुर तामाङले विद्यालयको खातामा जम्मा नगरी विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाका अध्यक्ष नै अध्यक्ष रहेको दामन पाख्रिन स्मृति प्रतिष्ठानको खातामा जम्मा गरिदिएका थिए। दामन पाख्रिन स्मृति प्रतिष्ठान नेपाली कांग्रेसका नेता दामन पाख्रिनको नाममा कांग्रेस कार्यकर्ताहरूले स्थापना गरेका हुन्।

विद्यालय निर्माणका लागि भनेर प्रतिष्ठानको खातामा तीन वर्षअगाडि जम्मा गरिएको सो रकम विद्यालयको खातामा ल्याउन पटकपटक माग गर्दासमेत नल्याइदिएको विद्यालय व्यवस्थापन समिति सदस्य निकिता तामाङले बताइन्। ‘विद्यालय निर्माणका लागि विदेशी नागरिकले पठाएको रकम मंगलबहादुरले सो प्रतिष्ठानको खातामा जम्मा गरिदिएका रहेछन्,’ उनले भनिन्, ‘सो रकम विद्यालय व्यवस्थापन समितिको बैठकमा बारम्बार विद्यालयको खातामा हाल्नका लागि अनुरोध गरे पनि अध्यक्ष सधैं चुपचाप बस्ने गर्छन्।’ आजको नागरिक दैनिकमा खबर छ ।