लोकसंवाद संवाददाता | समाचार | बैशाख २४, २०७८
काठमाडौं । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । उपत्यकाका अक्सिजन प्लान्टलाई बुधबारबाट पूर्ण क्षमतामा सञ्चालन गरिए पनि उपत्यकाबाहिरका प्लान्टले क्षमताको ५५ प्रतिशत मात्र अक्सिजन उत्पादन गरिरहेका छन् । उत्पादकहरूले भने सबै प्लान्ट पूर्ण क्षमतामा चल्ने गरी खाली सिलिन्डर नै नरहेको जनाएका छन् ।
अस्पताल भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन चाहिन थालेपछि कतिपय व्यापारीले कालोबजारी गर्दा र व्यक्तिगत तहमा समेत जोहो गरेर राख्नाले सिलिन्डर अभाव हुन थालेको जानकारहरू बताउँछन् । सिलिन्डर लुकाउने प्रवृत्ति बढेपछि स्थानीय प्रशासन र सरोकारवाला निकायले छापा मार्न थालेका छन् ।
काठमाडौं उपत्यकामा मात्र बिहीबार ६ हजार ७ सय ८४ थान अक्सिजन सिलिन्डर नियन्त्रणमा लिइएको छ । सिलिन्डर लुकाएर मोलमोलाइ गरेको गुनासोपछि बुधबार धनगढीमा जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायतको टोलीले अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेतको गोदाममा छापा मारेर ६० वटा सिलिन्डर बरामद गरेको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलका अनुसार प्लान्टका ८० प्रतिशतसम्म सिलिन्डर अस्पतालमै रहने भएकाले खाली सिलिन्डर पुनः भरेर पठाउन चुनौती छ ।
अक्सिजन प्लान्टहरूसँग करिब ६० हजार सिलिन्डर रहेको तथ्यांक छ । उत्पादकहरूले भने कोरोना संक्रमण बढिरहेकाले अक्सिजन अभाव हुन सक्ने आकलन गरेर तीन साताअघि नै व्यवस्थापनका लागि सरकारलाई आग्रह गरेको जनाएका छन् । ‘हामीले भारतबाहेकका मुलुकबाट एयर लिफ्ट गरेर तुरुन्त २० हजार अक्सिजन सिलिन्डर ल्याउन भनेको नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारदा बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने आत्तिहाल्नुपर्ने अवस्था नरहेको दाबी गरेका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।