अन्नपूर्णमा अलपत्र आरोहीको उद्धार

अन्नपूर्णमा अलपत्र आरोहीको उद्धार

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १३, २०७६

पोखरा । गत मंगलबार अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहण गरेर फर्कने क्रममा मलेसियाका ४८ वर्षीय आरोही वुई किन चिन समूहबाट छुटे। निर्धारित समयमा तोकिएको गन्तव्यमा नफर्केपछि बल्ल उनी छुटेको थाहा भयो। अनि उद्धारको प्रयास भए पनि तत्काल सम्भव भएन। निर्धारित समयमा चिन तोकिएको गन्तव्यमा नआएपछि साथमा गएका अरु आरोहीसहितको टोली फर्कियो।

साथमा गएको टोलीका सबै आरोही सदस्य र सहयोगी शेर्पाहरु बुधबार नै फर्किसक्दा पनि चिन नफर्किएपछि परिवारका सदस्यलाई चस्को पस्यो। अनि मलेसियामा रहेकी चिनकी श्रीमतीले हराएका पतिबारे पदयात्रा बिमा गरेको ‘ग्लोबल इन्सुरेन्स इन्टरनेसनल’ लाई उद्धार र खोजीका लागि गुहारिन्। त्यहाँबाट पनि पार लाग्ने अवस्था नआएपछि उनले सिम्रिक एयरलाइन्सलाई खोजिदिन आग्रह गरिन्।

सिम्रिकको हेलिकोप्टर उडाएका क्याप्टेन सिद्धार्थजंग गुरुङले बिहीबार बिहान अन्नपूर्ण प्रथमको झन्डै ७५ सय मिटर उचाइमा चिनले हात हल्लाइरहेको देखे। त्यसपछि उनलाई उद्धार प्रयास थालिए पनि बढी उचाइमा रहेकाले तत्काल सम्भव नभएको गुरुङले जानकारी दिए। ‘चिन हिँड्न सक्ने अवस्थामा छैनन्। उनले हात हल्लाइरहेको मैले करिब ५०–६० मिटर टाढाबाट देखेको हुँ,’ क्याप्टेन गुरुङले भने, ‘निकै नै कमजोर भएकाले पनि हिँड्न सकेका छैनन्। तर जीवित रहेको पुष्टि भएको छ।’ त्यसपछि ६५ सय मिटर उचाइमा चारजना शेर्पालाई डोरीको सहायताले पु¥याएर उद्धारमा खटाएको उनले बताए। ‘हामीले चारजना शेर्पालाई ६५ सय मिटर उचाइमा छाडेका छौं। उनीहरु अक्सिजन र खानासहितका उद्धारकर्ता हुन्,’ गुरुङले भने, ‘ती शेर्पाहरु चिन भएको ठाउँतर्फ उक्लिनेछन् र उद्धार गर्नेछन्।’ आजको नागरिक दैनिकमा खबर छ ।