सुरेश याक्सो | साहित्य | बैशाख २५, २०७८
‘म’ म नै हो त ? के मैले देखेजति सबै सत्य हुन् ? म कतै गरीब नभएर धनीका सन्तान त होईन ? हुनसक्छ मेरो परीक्षा लिन माथिबाट यहाँ खटाएको पो हो कि ! म मर्ने बित्तिकै सबसब क्षणमै परिवर्तन भई मैले अर्को रूप लिने त होईन ? किन यस्तो लाग्छ कि कतिपय घटनाहरू पहिले नै भएका थिए । अघिल्लो जन्ममा । साँझ नपर्दै जोडी कोठाभित्र छिरिसकेका छन् । आज अलि चाँडो । हिजो अस्तिभन्दा । भोलि जानु छ जो बिदेश । २ वर्षको लागि । हुन सक्छ अझै धेर ।
दिउँसो छिमेकीहरू आउने-जाने भए । बिदाइका लागि । अहिले ठप्प छ । कटुसेनी काकी भने अघिदेखि बात मार्दै हुनुहुन्छ । लगभग खतम हुनै लाग्यो । हुन त अघि जान्छु भनेको । आमा थोरै अरू बस्दिए हुन्थ्यो जस्तो गर्दै हुनुहुन्छ । थोरै तारिफ पुगेन । फ्याट्ट, ‘तिमी जत्तिको दु:ख गर्ने यो गाउँमै छैन’ भन्दिए नि हुने । आमालाई मस्त निन्द्रा परिहाल्थ्यो । दिदी जुठेल्ना गर्दैछ । आँगनको अर्को छेऊ । चुपचाप छे । बरू भाँडाकुँडाको हल्लिखल्ली बढी छ । नहोस् पनि कसरी । आज जो एक्लै गर्नु पर्या छ । दिदी हल्ला सुनाउन लागि पर्या छे ।
जोडी भित्र के गर्दैछन्, म सुन्दिनँ । त्यही बाटो ओहोरदोहोर गर्छु । केही भन्दो हो । मनका कुरा खोल्दो हो । खासखुस खासखुस । पर्वाह छैन बाहिरी संसारको । सायद भाउजू रुँदै होला । दाई फकाउँदै होला । हैन, दुबै रुँदै होलान् । एकअर्कालाई सम्झाउँदै होलान् । बुझाउँने शक्ति खोज्दै होलान् । हुन सक्छ लामो बिछोडको पीडा ती आज सकेसम्म घटाउने कोसिशमा होलान् । सोच्छु, कुनैदिन म पनि त जाने होला नि बिदेश ! यसरी नै । अञ्जान देशमा । परिवार छोडेर । बुडी छोडेर । के थाहा, बिहे नगरि मरिने पो हो कि ? खाटमा पल्टन्छु । भतिजो फिलिङ्गे अघि सुतिसकेको छ । केही दिन भयो ऊ मसँग सुत्न थालेको । सबैको वास्ता हुने यो आज भने बेवास्तामा परेको छ ।
आज दाई जाने दिन । दिउँसो १ बजेतिर दाई ठूलो भारि लिएर बस बिसौनीतिर झर्नु भयो । दाईसँगै हामी सबै झर्यौँ । भाउजू अघिदेखि आँसु झारिरहनु भएको थियो । भतिजलाई बर्किले पछाडि बोक्नु भएको थियो । नाइटबस आउँदै गर्दा दाईले टिकट निकालेर चालकले देख्ने गरी हल्लाउनु भयो । बस रोकिएपछि आमा पनि रुन थाल्नु भयो । ‘फिलिङ्गेको हातमा थुकेर जा’ आमाले केही सम्झेजस्तो गर्नु भयो । दिदीले ‘यो ब्याग चै तैसँग राख्’ भन्दै खलासिलाई लगेज डिकिमा राख्न सघायो । दाई भारि मन लिएर बस चढ्यो ।
काठमाडौं पुगेर दाई बिदेश उडेको खबर आयो । काम सुरू भएपछि फोन गर्नु भयो । पालैपालो बोल्यौँ । बिस्तारै सबै आ-आफ्नै काममा ब्यस्त हुन थाले । भाउजू पनि फिलिङ्गेको स्याहारसुसार र घरधन्दा मै भुल्न थाल्नु भयो । केही दिन न्यास्रो भयो । नास्रो त भाउजूलाई जति कसलाई पो हुन्थ्यो होला र ! कुरा गर्नलाई दिदी, आमा र छरछिमेकका सबै थिए । तर कुरो नमिल्दा भने भाउजूलाई भित्ता मै पुर्याउँथे । तिमी बुहारी हौ भनेर बारबार याद दिलाई राख्थे । मतलब हरेक कुरा गर्नलाई सीमा लगाइएको छ । त्यही जानेर नै भाउजू सबैसँग दूरि राखेर हेलमेल गर्नु हुन्थ्यो ।
आमा रन्थनिँदै बाहिर निस्केर मंगलेदाईलाई झम्टिन्दै दुई झाप्पु हान्नु भयो । ‘आइन्दा तिमेरुसँगै हिंडेको देखेँ भने सात डाँडा कटाउँछु बुझिस्’ भन्दै भाउजूको जगटा पनि लुछ्नु भयो । चोर औंला बाहिरतिर तेर्साउँदै, ‘लु तँ भागिहाल’ भन्दै मंगलेदाईलाई कराउनु भयो । ‘तँ बेजेती भित्र जा’ भन्दै भाउजूतिर फर्केर हप्काउनु भयो ।
कतै जान परे बरू भाउजूले मलाई साथ लिएर जानु हुन्थ्यो । केही काम परिहाले मलाई अह्राउनु हुन्थ्यो । मलाई असाध्यै माया गर्नु हुन्थ्यो । राति दिसा लागे मलाई उठाउनु हुन्थ्यो । शौचालय अलि तल भएकोले आधा वर बारिको डिलमा बस्नु हुन्थ्यो । सजिलोको लागि भोगटेको पात खोजेर छेउमा राखिदिन्थे । कहिले नुहाएपछि हातले पछाडि खिप लाउन नसकेर मलाई लाइदेउ भन्नु हुन्थ्यो । भर-अभरमा मलाई सम्झनु हुन्थ्यो । दुःख सुख सुन्ने मै हुन्थेँ । कमसे कम मैले अरूलाई कुरा लाउदैन भन्नेमा भाउजू ढुक्क हुनुहुन्थ्यो । भन्नु हुन्थ्यो, ‘कान्छा तिम्रो हँसाइ त दाजुकै जस्तो लाग्छ । छिट्टै रिसाउने, फकि पनि हाल्ने ।’
भतिजो ’फिलिङ्गे’ जन्मेको तीन वर्षमा बाबा बित्नु भयो । वहाँले नै राखिदिएको नाम हो ‘फिलिङ्गे‘ । उसको उपद्रो ठ्याक्कै बराजूको जस्तो । अन्ततः बराजूकै नाम सर्लक्कै खनातिलाई जुराए ‘फिलिङ्गे’ । त्यो बेला म त्यहीँ थिएँ । बाबाले फिलिङ्गेलाई दुबै हातले उचालेर घाम देखाउँदै भने, 'हेर बाबु हिजो तँ अर्कै संसारमा थिस् । आज यो संसारमा आइस् । हाम्रो घरमा आइस् । हाम्रो वंसमा जन्म लिस् । हेर्, हामी राजा, महाराजाका सन्तान हुम् । हाम्रा बाऊबाजेले यो ठाउँमा राज गर्थे । हामी वीरहरूका सन्तान् हुम् । अब तैले हामीसँगै हुर्कनु पर्छ । हामी जे खान्छुम् तैले तेइ खानु पर्छ । यै छानामूनी तैले पनि बस्नु पर्छ । आजबाट हाम्रो दुःख तेरो भो । तेरो दुःख हाम्रो भो । लु बाबु ! जे-जस्तो छ स्वीकार गर है । एस्तै छ । मन नदुखा । र आजबाट तेरो नाम ‘फिलिङ्गे’ राखे है ।'
दाईले घरिघरि मोबाइलमा फोन गर्नु हुन्थ्यो । एउटामात्र फोन भएकोले आमा, दिदिको सकिएपछि भाउजू पालो आउँथ्यो । मलाई राम्रोसँग पढ् भनिराख्थ्यो । म र फिलिङ्गे सुतेको कोठामा आएर भाउजू बोल्नु हुन्थ्यो । भिडियोमा फिलिङ्गेलाई देखाइदिनु हुन्थ्यो । छोरोको अनुहार हेरेपछि दाई पनि ढुक्कले फोन राख्नु हुन्थ्यो । आमा, दिदि जसरी भाउजू खुलेर बोल्न पाउनु हुन्थेन । अप्ठेरो मान्नु हुन्थ्यो । लाग्थ्यो भाउजूसँग भन्नलाई थुप्रै कुराहरू छन् ।
हाम्रो घरदेखि निकै माथि ठूलो जङ्गल छ । दाउरा लिन एकाबिहानै झिसमिसेमा एक हुल त्यतातिर लाग्थे । त्यही हुलमा भाउजू पनि जानु हुन्थ्यो । घरमा दाउरा किन्न पर्दैन । हामी भाउजू कै भर पर्थ्यौं । बञ्चरो लिएर लाट्ठेहरू रुखहरू ढाल्थे । माथि चढेर सुकेका हाँगा काट्थे । धेरै भएको लुकाएर भोलिलाई सँगाल्थे । काँचो रुख पनि पछिलाई काटिराख्थे । अरूले छिटो गरेर भारि पुर्याउँथे । भाउजू रुख चढ्न नसक्ने । खुर्पाको भरमा तलतलको हाँगाबिँगा लाथ्राकलुथ्रुक काटेर ल्याउनु हुन्थ्यो । घर आइपुग्दा ढिलो भइसक्थ्यो ।
अरूको चिर्पटको भारि आफ्नो बुहारीको सिन्काजस्तो भारि देखेर जलनले आमा मुर्मुरिनु हुन्थ्यो । जति गरे पनि जस् पाइन्न भनेर भाउजू लागेको छ । कतिपय अवस्थामा जानेरै भाउजू आमाको छेऊ पर्नु हुन्न थियो । आमाको कुरा बाल् दिनु हुन्थ्यो । अझ भनौ कान थेत्तरो भइसकेको छ । तै पनि भाउजू फिस्स हाँसिदिनु हुन्थ्यो । त्यसपछि आमाको रिस झन् टाउको वरिपरि घुम्थ्यो । ढिलो आएको वहाना पारी आमाबाट निस्किन्थ्यो, ‘अरू दाउरा ल्याएर भात पकाइसके महारानीको सवारि चै एतिखेर ।’ ५ कक्षाको वार्षिक परीक्षा सकेपछि भाउजूसँगै म पनि दाउरा लिन जान थालेँ । म जान थालेपछि मंगलेदाई पनि हामीसँगै मिसिन्थ्यो । ऊ अविवाहित । अझ भनौँ केटी नपाएर कुमार । लाट्ठे । साथी पाए रातभरी पिउने । होहल्ला मच्चाउने । मतलब रमाइलो खुब गर्नु पर्ने । कतिदिन त घरै नजाने ।
मंगलेदाई रुख चढ्न सिपालु । दाउरा छिन्मा भेला पारी सक्थ्यो । घरिघरि हामीलाई पनि सघाउथ्यो । ऊ अरूभन्दा हामीसँग हिंड्न रुचाउँथ्यो । उसले सहयोग गर्न थालेदेखि हाम्रो पनि चाँडो भारि पुग्न थाल्यो । घर पनि उनीहरू सँगै पुग्न थालिम् । बेलैमा घर पुगेर चिर्पट्को भारि सिक्वामा बिसाउँदा आमा पनि दङ्ग पर्न लाग्नु भयो । पढ्नुभन्दा भारि बोक्नु सजिलो । तर दिनै बोक्नु चैँ गाह्रो । मान्छेले जिन्दगीभर कसरी भारि बोक्न सकेको होला । त्यो पनि मुस्कानसहित । अचम्म लाग्छ ।
बिस्तारै मंगलेदाई हामीसँग झुम्मिन थाल्यो । भाउजुलाई जिस्काउने, घरि तर्साउने गर्थ्यो । कैले हात लाएर चल्थ्यो । भाउजूलाई शरिरमा छोएर चलेको पटक्कै मन परेको थिएन । ‘मुखले चल्नु हातले नचल्नु’ भनेर सुरुसुरुमा हप्काउनु हुन्थ्यो । केही हदसम्म उसलाई बर्दास् गर्नै पर्थ्यो । काम जो लिनु थियो । बिच्किहाल्छ कि भनेर भाउजू सतर्क हुँदै फेरि जिस्काइदिनु हुन्थ्यो । पुनर्ताजगिसाथ मंगलेदाई मख्ख परेर सघाउन थालिहाल्थ्यो ।
गाउँमा भाउजूसँग जोडिएको, भाकोनभाको गफ् जति पहिले दिदीकोमा ठोकिन्थ्यो । त्यसपछि आमाहुँदै बिदेश दाईसम्म पुग्थ्यो । कुरो पादो भन्दा हगो, हगो भम्दा छेरो भन्दै बढेर गनाउँनेसम्म पुगाइसक्थे । दाईको घरमा बाक्लो फोन आइबस्थ्यो । आमा र दिदीसँग फोनमा बोलिरहेको सुन्थेँ । भाउजुलाइ कमै खोज्न थाल्नु भयो । आजकाल दिदीको काम मेरो कोठामा छिरेर फिलिङ्गेलाई भिडियोमा देखाइदिनु थियो । छोरोको मुख हेरेपछि दाई ढुक्कले फोन राख्नु हुन्थ्यो । फोन दिन्छ कि भनेर भाउजू आशमा हुन्थ्यो । दाईले भाउजूको नाम लिँला कि भनेर चनाखो बस्नु हुन्थ्यो तर सब बेकार ।
म कक्षा ६ मा भर्ना भएँ । मेरो स्कुल लाग्न थाल्यो । म शनिबार र सार्वजनिक बिदामा मात्र दाउरा लिन जान थाले । स्कुल जान थालेपछि भाउजूसँग मेरो दूरि बढ्दै गयो । मंगलेदाई उसरी नै सघाई राख्थे । दुईजना पहिलेभन्दा झन् बढी जिस्कन थालेका थिए । उनीहरू पहिले जसरी नै जाने आउने गर्दथे । बाहिर देख्दा सबै उस्तै लाग्थ्यो । हाउभाऊ अलि फेरिए जस्तो । घरिघरि आफू-आफू सुन्ने गरी मात्र बोल्थे । हाँस्थे । उनीहरू त्यसरी बोलेको कसैलाई निको लागेको थिएन । भाउजू मंगलेदाईसँग नजिकिंदै जान थाल्नु भयो । भाउजूको सानोतिनो काम मंगलेदाइले गर्दिन थाले । सँगै हिंड्थे तर कम बोल्थे । हात लाएर चलेको पनि भाउजूले चाल पाउन छाड्नु भयो । एकदिन ढाँडको पछाडिबाट लाउने खिप मंगलेदाईले लगाउन सघाउँदै गरेको देखेँ ।
स्कुलबाट घर फर्कँदै थिएँ । सिकुवामा भाउजू र मंगलेदाइसँगै तर अर्को दिशातिर फर्केर सुकुलमा बसिरहेका थिए । ८र ९ जना गाउँले आँगनमा उभिएर उनीहरूलाई नै हेरिरहेका थिए । दिदी घरभित्र छिर्दै भनी, ‘आमा जितेन्द्रसर त नआउने रे’ ! के भन्छ ? एक्छिन् मात्रै आउनु भनिनस् ?
सप्पै भनेको । मान्छे भेला नपार्नु । झन् कुरो बिग्रिन्छ । म त आउदिन भनो ।
नआए नआओस् । एत्रैसित ।
आमा रन्थनिँदै बाहिर निस्केर मंगलेदाईलाई झम्टिन्दै दुई झाप्पु हान्नु भयो । ‘आइन्दा तिमेरुसँगै हिंडेको देखेँ भने सात डाँडा कटाउँछु बुझिस्’ भन्दै भाउजूको जगटा पनि लुछ्नु भयो । चोर औंला बाहिरतिर तेर्साउँदै, ‘लु तँ भागिहाल’ भन्दै मंगलेदाईलाई कराउनु भयो । ‘तँ बेजेती भित्र जा’ भन्दै भाउजूतिर फर्केर हप्काउनु भयो । यतिबेला सम्म १५र २० जना छिमेकीहरू भेला भइसकेका थिए । किन यसो गरियो मलाई कसैले भनेनन् । सोधिन पनि । बस् टुलुटुलु हेर्नु शिबाय केही गर्न सकिनँ । दाईको फोन आइ नै बस्थ्यो । दाई-भाउजूको कुराकानी ठप्प छ । दाईले भाउजूलाई सोध्नै छाडिदिनु भयो । यदी कुरा भएको भए भाउजूले के भन्नु हुन्थ्यो होला ? सरी या झुटो थियो । तर प्रस्टाउने मौकै पाउनु भएन ।
भाउजू दिन बिराएर दाउरा लिन जान थाल्नु भयो । उही ढिलो । उही सोरपटार दाउरा । तर आमाले कराउन छाड्नु भएको छ । भाउजूले फिस्स हाँस्न पनि छाड्नु भएको छ । प्रतिकृया बिहीन, बेसहारा । घना जङ्गल । जङ्गलमा हत्या । वरिपरि थुप्रै मान्छे । नजिकै पुग्नै लाग्दा सबैले मलाई हेरे । लास हेरेँ चिनिनँ । सबैले तेरो दाईको हो भने । अनुहार अर्कैको थियो । यो हत्या तैले गरेको हो भनेर आरोप लाए । यो कसरी सम्भव हुन्छ ? केही भन्न नपाउँदै त्यहीँ भीडबाट फुत्तफुत्त प्रहरीहरू निस्किए । म निर्दोष थिएँ । मैले भाग्नु थियो । ओरालै ओरालो भागेँ । यो बाटो पहिला पनि कुदेको हो । सजिलो भयो तर गति धिमा । कुद्नै सकिरहेको थिइनँ । मेरो पछाडि समाउनै लागेका थिए । मैले उड्न जानेको थिएँ । म उड्न थालेँ । तर आज उड्न सजिलो थिएन । माथिमाथि उड्ने म थोरैथोरै मात्र उड्न सकेँ । म खोला तरेर पारि पुगेँ । प्रहरीले वारिसम्म मात्र खेदाए । यो ठाउँमा प्रहरी कहिल्यै आउँदैन भन्नेमा विश्वस्त थिएँ । र आएनन् पनि । म बचेँ ।
होईन यो त सपना हो । सपनामा ‘सपना’ हो भनेँ । फिलिङ्गे रोइरहेछ । सुक्कसुक्क । आवाज बढ्दै गयो । उठ्न खोजेँ जिऊ चलेन । फिलिङ्गेलाई बोलाएँ । सुनेन । चिच्याएँ । अहँ सुन्दैसुनेन । कसैले यस्तोबेला खुट्टाको बुढि औंला चलाउनु पर्छ भनेको याद आयो । बुढि औंला चलाएँ । चल्यो । जिऊ चलाएँ । चलेन । बुडिऔंला चलाई बसेँ । केहिबेर पछि हातका औँला चलाएँ । चल्यो । बिस्तारै जिऊ पनि चल्न थाल्यो । आँखा खुल्यो । हेर्छु भाउजू मेरो खटियामा । झ्यालबाट छिरेको मधुर प्रकाशले मान्छेसम्म ठम्याउन सकिन्थ्यो । ओहो ! हैन के हुन लागिरहेछ ? सपना हो कि बिपना ? पक्कै राम्रो संकेत होईन । भाउजू फिलिङ्गेको हात समाएर सुक्कसुक्क गर्दै रुँदै हुनुदोरहेछ । रूने त फिलिङ्गे होईन बिपनामा भाउजू नै पो रहेछ । सपनामा पारि छिरिसकेको मान्छेलाई गेम उल्टापल्टा गरेर कोठामा ल्याइ पुर्याउनु भएछ भाउजूको रुवाईले ।
यति राति दाउरा जाने बेला पनि होईन यो । भाउजू कतै बिष खान त लाग्नु भएको छैन ? कतै झुन्डिएर आफैलाई सिध्याउन त लाग्नु भएन ? त्यसो हो भने बाहिर जाने लुगा नलगाउनु पर्ने । अनेक प्रस्न सरर आए । घुमे । कुनैलाई समात्न सकेन । ढुकढुकी झन् बढेर आयो । सास लामो गरी फेर्न थालेँ । डरले जिऊ नै हलुङ्गो भयो । उठेर बोलाउँने आँटसम्म आएन । आधा आँखा खोलेर चिहाइ रहेँ ।
भाउजूले चारैतिर आँखा डुलाउनु भयो । ढोकाको दिशातिर टाउको टक्क अडियो । उठेर ढोका पछाडि झुन्डिएको मेरो पेन्ट छाम्नु भयो । र बाहिर लाग्नु भयो । मूलढोकाको आग्लो बिस्तारै खोलेको र ढोका बन्द भएको अन्दाज लाएँ ।
भाउजूले के गर्न लाग्नु भइरहेछ । अचम्म । एकदम खुल्दुली भयो । उठेर झ्यालबाट बाटोतिर हेरेँ । अलि पर बाटोछेऊ रूखको मुढाजस्तो आक्रिति देखिन्थ्यो । त्यही आक्रितिमा घरबाट निस्किएको अर्को आक्रिति मिसिएर अर्को रुप लियो । हेर्दाहेर्दै ती अध्यारोमा बिलाउँदै गए ।
हत्तनपत्त ढोकामा झुन्डिएको पेन्ट निकालेर गोजी छमछुम गरेँ । देब्रे गोजीमा सानो कागजको पोको भेटेँ । भाउजूले नै राखेको हो भनेर दुईमत भएन । खोलेँ । तिलहरी रहेछ । सुनको नाममा त्यही एउटा भाउजू घाँटिमा जहिले झुन्डिन्थ्यो । त्यो पनि छोड्नु भएछ । कागजमा केही लेखे जस्तो थियो । झ्यालतिर गएर बुझ्ने कोसिस गरेँ- 'कान्छा यो तिमसँगै राखनु । साराइ भोक लागो भने बेचेर फिलिङ्गेलाई केके जाती किन्दनु । फारो गरनु । चकचक गरछ । कुटे पनि तेललाई नमार्नु है ।'
हङकङ