चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी

चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १३, २०७६

पर्वत  । पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा मेघगर्जन शुरु भएपछि घरभित्र दाैडिन्छन् । घरमा रक्सी छर्केर ।

उक्त गाउँमा चट्याङ्बाट वर्षेनी ठूलाे धनजनकाे क्षति हुन्छ । त्यसैले मदिरा छर्केपछि चट्याङ नपर्ने परम्परागत मान्यता रहेकाेले उनीहरु मेघगर्जन हुने समयमा रक्सी छर्केर घरभित्र पस्ने गरेका हुन् ।

“घरमा रक्सी छर्केको दिन चट्याङ नपरेकाले विश्वास छ ”, स्थानीय जीतबहादुर विकले भने “मदिरा घर वरिपरि छर्केपछि दैवीप्रकोप हट्ने विश्वासले मदिरा छर्कने गरिएको हो ।”

फलामखानी गाउँमा वर्षेनी चट्याङका कारण एकदेखि तीनसम्म मानिसको ज्यान जाने र धेरै पशुधनको समेत क्षति हुने गरेको सो गाउँका ठाकुर रसाइलीको भनाइ छ । “मानवीय क्षति नभएको वर्ष नै हुँदैन ”, उनले भने ।  

उक्त गाउँ पर्वतको सबैभन्दा बढी चट्याङ पर्ने गाउँको रुपमा परिचितसमेत रहेको छ । आफूले थाहा पाएदेखि झण्डै २० को चट्याङका कारण मृत्यु र त्यत्तिकै संख्यामा घाइते भएको उनले बताए ।

अर्का वृद्ध धनबहादुर विश्वकर्माले चट्याङका कारण गाउँमा ठूलो समस्या भएपनि वर्षेनी चट्याङ पर्नुको कारण पत्ता नलागेको बताए । “फलामको धाऊ भएर हो वा अन्य कारणले हो भन्ने पत्ता लगाउन सके सुरक्षित हुन सकिन्थ्यो”, उनले भने।

झण्डै ८० वर्ष अघिसम्म उक्त स्थानमा रहेको फलामखानीबाट फलाम निकाल्ने गरिएको स्थानीयको भनाइ छ । अहिले भने उक्त खानी बन्द छ । उक्त गाउँ जिल्लाकै सबैभन्दा विकट गाउँसमेत हो ।

पछिल्लो समय नेपाल टेलिकम र एनसेलको टावरसमेत निर्माण भएको उक्त गाउँमा चट्याङका घटना झनै बढ्न थालेको स्थानीयवासीले बताएका छन् । दिउँसोको समयमा मेघगर्जन भएमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था रहेको स्थानीय बलबहादुर क्षेत्रीले बताए ।

वर्षेनी चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि कुनै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन हुन नसकेको स्थानीयको गुनासो छ । वर्षेनी चट्याङको पीडा खेप्न नसकेको गाउँका झण्डै एक दर्जन परिवार बसाइँसराइसमेत गरेका छन् । रासस