लोकसंवाद संवाददाता | समाचार | बैशाख २९, २०७८
काठमाडौं । कोभिड–१९ संक्रमणको फाइदा उठाउँदै कम गुणस्तरको अक्सिमिटर बिक्री गर्ने सातजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका शिखर श्रेष्ठ, बाजुराका थुमराज उपाध्याय, स्याङ्जाका शेषकान्त अधिकारी, सुनसरीका पुष्कर घिमिरे, मोरङका विशाल आचार्य, सिन्धुपाल्चोकका सन्तोष भण्डारी र भारत राजस्थानका जगदीशप्रसाद रानासरिया छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट सात सय ६५ अक्सिमिटर पनि बरामद गरेको छ । बजारमा ६ सय रूपैयाँमा पाउने अक्सिमिटर उनीहरूले दुई हजार दुई सय बीस रूपैयाँमा बिक्री गर्दै आएका थिए ।
महाशाखाका प्रवक्ता एसपी कृष्ण कोराइलाले बरामद अक्सिमिटर कम गुणस्तरको, तर अत्यधिक मूल्यमा बिक्री हुँदै आएको बताए । ‘कम गुणस्तरका सात सय ६५ अक्सिमिटर बरामद भएका छन् । अक्सिमिटरले राम्रोसँग काम नगर्ने गरेको पाइयो । तर, मूल्य भने २२ सय रूपैयाँ लिएका रहेछन् ।
प्रहरीका अनुसार बरामद अक्सिमिटर आहा इन्डस्ट्रियल कम्पनीका कामदार विशाल आचार्यले न्युरोडमा रहेको डि एन्ड डि इन्टरप्राइजेजमार्फत ल्याएका थिए । उनले चीनबाट मास्कको तुना ल्याउने बाकसमा अक्सिमिटर लुकाई ल्याएका थिए । अक्सिमिटर ल्याउँदा भन्सार तिरिएको छैन । न उत्पादक कम्पनी र मूल्य नै लेखिएको छ ।