नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो

नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७८

काठमाडौं । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तत्थ्यांक अनुसार हाल सक्रिय संक्रमित १ लाख एक हजार ६ सय ३४ छन् ।संक्रमितहरू होम आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा रहनेको संख्या पाँच सय १७ पुगेको छ ।

देशभर पछिल्लो २४ घन्टामा नौ हजार तीन सय पाँचजना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या चार लाख २२ हजार तीन सय ४९ जना पुगेको छ । संक्रमितमध्ये तीन लाख १६ हजार चार सय ६३ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा चार हजार चार सय ४४ संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा एक सय ६८ संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुने संक्रमितको संख्या चार हजार दुई सय ५२ पुगेको छ ।