बोजुको माया

बोजुको माया

टोपबहादुर याक्खा  |  साहित्य  |  जेठ ०१, २०७८

होइन तपाईँहरुको काम छैन कि के हो प्रत्येक दिन डाँडाकाडा डुलेको, 'इन्जोय' गरेको मात्रै फोटोहरु देख्छु त ? 

‘हङकङ शहरमा 'नो मनी नो हनी, नो काम नो माम सर...,’ फेसबुक म्यासेन्जरमा यहाँको चलन चल्तिको भाषामा जिस्किदै साथीको प्रश्नलाई रिप्लाई दिए । 

वर्षको शुरुवातदेखि नै चीनको उहानबाट फैलिएको कोरोना भाइरसले संसारलाई नै ध्वस्त बनाइरहेको छ । साच्चै भन्नु पर्दा हुदा खानेहरुलाई भन्दा अझ हुने खानेहरुलाई बढी क्षति पुर्याइरहेको छ । अरबौं खरबौं डलरको व्यापार डामाडोल छ, रोजगारीको दर बढ्दो छ । तै पनि आज सम्म रोगले छुएको छैन र काम गुमेको पनि छैन, यसैमा सन्तोष हुनुको अर्को विकल्प पनि छैन । 

अन्य देशहरुमा झै यहाँको सरकारले हालसम्म पूर्णरुपमा लकडाउन गरि हालेको छैन ।जे जसरी हुन्छ व्यापार, व्यापारी र कामदारहरुलाई जोगाएर कोरोना भाइरस नियन्त्रणको लागि उत्कृष्ठ उपायहरु लागु गर्दै अगाडी बढि रहेको छ । संसारकै व्यापारिक केन्द्रको रुपमा रहेको यो शहरमा यसो गर्नुको अर्को विकल्प पनि नहोला । जे होस सरकारले देश र आफ्नो जनताहरुका लागि उत्कृष्ट भूमिका निर्वाह गर्दै अगाढी बढिरहेको छ । 

बोस ब्यापारको शिलशिलामा करिब एक महिना चाइना जादा अगष्ट भरि डुलघुममै बित्यो । साच्चै भन्नु पर्दा हङकङ आएको बाह्रतेह्र वर्षमा नघुमेको र नपुगेको डाँडाकाँडाका हाइकिङ रुट र पौडी खेल्न खोला खोल्सि एक महिनामा पुरै चाहारियो । गएका ठाउँहरु मध्ये पनि काउलुन पिकस्थित स्वि साइड क्लिप एकदमै खतरापूर्ण लाग्यो, जहाँ दर्जन बढि चिप्लिएर भीरबाट खस्दा र हाम फालेर आत्महत्या गरेका घटनाहरु रहेछन् । त्यस पछि हङकङकै दोस्रो अग्लो लान्ताउ पिक र तेस्रो अग्लो सनसेट पिक चढ्न पनि निक्कै कठिन लाग्यो ।पब्लिक स्विमिङ पुल र तरकारी भन्दा नुनिलो सुमन्द्रको पानीमा पौडी खेल्दा खेल्दा वाक्क दिक्क भएका हामी ताइ वो सिउ लो चो स्ट्रिम इन्फिनिटी पुल, साइकुङको नेचुरल स्ट्रिम लगायतका नेचुरल पौडी पोखरीमा पौडी खेल्नुको मज्जै बेग्लै । 

सबै हाइकिङ र पौडी पोखरीहरु चाहारी सके पछि महिनाको अन्ततिर भने हामीले युन लोङमा खसी काट्नु जाने योजना बनायौं । गुगलले अहिले संसारलाई साह्रै सजिलो र साघुरो बनाइदिएको छ । प्राय सबै हाइकिङ रुटहरु पनि गुगलम्यापकै सहयोगमा चाहार्यौ भने खसी काट्न पाउने ठाउँ (बाख्रा फार्म) पनि सहकर्मी दाइ बिनोदले गुगलम्यापकै सहायोगमा ड्राइभ गरी पुर्‍याउँनु भयो । 

प्राय साँझ परे पछि बोजु चुला छेउको कुनामा बसेर तुङबा तान्दै हामीलाई मिठा–मिठा कथा र ज्ञानगुनका कुराहरु सुनाउँनु हुन्थियो । स्योक्पा, बनझाक्री, चुडेल्नि र राँकेभुतका कथाहरु सुनेपछि बारीको एकडिल माथि भएको घर जानु पनि साह्रै डर लाथ्यो । 

बाख्रा फार्मका मालिक साइमनले भनेको ठाउँमा ड्राइभ गरेर पुगे पछि मधु दाईले उसलाई कल गर्नासाथ सानो गल्लि हुँदै साइकिलमा केही मिनेटमै हामीलाई लिन आइपुग्यो । त्यहाँबाट कार जान नसक्ने हुँदा कार पार्क गरी सामानहरु बोकेर हामी साइमनलाई पछ्याउँदै उसको फार्ममा पुग्यौ ।  

युन लङको वस्ती भित्रको एउटा कुनामा ठूलो बाख्रा फार्म खोलिएको रहेछ । यहाँको नियम कानुन राम्रोसँग बुझ्ने हो भने उक्त फार्म गैह्रकानुनी रुपमा खोलिएको हुनुपर्छ । जे होस साइमनका भनाई अनुसार पारिवारीक व्यावसायको रुपमा दश वर्ष पहिले खोलिएको फार्मको मुख्य ग्राहक भनेकै नेपाली, पाकिस्तानी, बंगालादेशी लगायतका मुलका मानिसहरु रहेछन् । 

फार्मको मुल ढोकाबाट भित्र प्रवेश गर्नासाथ साइमनले त्यहाँ काम गर्दै गरेका उसका परिवारका सदस्यहरुलाई परिचय गराइदियो । उसको श्रीमती लगायत सबैले नमस्ते भन्दै हामी सबैलाई स्वागत गरे । वर्षौदेखि खसी काट्न त्यहाँ पुग्ने नेपाली ग्राहकहरुसँगको सामिप्यताले गर्दा पनि होला नमस्ते भन्दै दुई हात जोडेर नमस्ते गर्न उनिहरु सिपालु भइसकेका रहेछन् । चाइनिज वस्ति भएता पनि नमस्ते सहितको न्यानो अविभादनले हामीलाई कताकता नेपालको कुनै गाउँ वस्तिमा पुगेको भान भयो । 

हामी पुगेर फार्मभित्र एउटा गतिलो खसी छानेर बनाउँने तयारीमा जुट्यौं । बिहानै पुगेकाले खाजा खाएको छैन भन्ने ठान्नु भएछ कि के हो घरकी फोफो (बोजु–साइमनको सासुआमा) ले भने किचनबाट हामीलाई अण्डा र ब्रेड डामेर ब्रेकफाष्ट ल्याइदिनु भयो । । सेसेनी (धन्यवाद) भनेर ब्रेड खादै हामी काम गर्न तर्फ लाग्यौ । फेरी एक छिनमा फोफोले फार्मभित्र बोटमै पाकिरहेको केरा खाउ भन्दै २ काङ्गियो टिपेर काम गरिरहेको ठाउँमा ल्याइदिनु भयो ।

साइमन बाहेक त्यहाँ रहेका परिवारका सबै सदस्यहरु मुख्य भूमि चीनको म्यान्दोरिन भाषा मात्र बोल्ने र बझ्ने भएकाले साइमन बाहेक अन्य सदस्यहरुसँग हाँसेर र अनुहार वा हातको हाउभाउले मात्रै दोहोरो संवाद चलाउनु पर्ने रहेछ । एक आपसमा भाषा नबुझे तापनि आफ्ना ग्राहक वा पाहुनाहरुको स्वागत गर्ने उनिहरुले शैली र व्यवहारले अर्को पटक पनि चाडै फर्केर आउँ–आउँ बनाइदिने रहेछन् ।   

दिनभरी खसी बनायौं । केही त्यही भुटेर खायौं र साइमनको परिवारलाई पनि नेपाली स्टाइलको मटन कुक टेष्ट गर भन्दै दियौं । बाँकी मासु भाग लगाएर साँझ घर फर्किने बेला फेरी फोफोले हामी चारै जनालाई फार्मको केरा र मेवा भाग लगाएर घर लैजाउ भन्दै ल्याइदिनु भयो । हामीले पनि फोफोले हामी प्रति देखाउनु भएको माया र आत्मियताको सम्मान गर्दै सल्लाह गरेर फर्किने बेला केही रकम हातमा थमाई दियौं । फोफोमा खुसीको सिमा रहेन । हसिलो अनुहार लगाएर सेसेनी (धन्यवाद) भनेर नमस्ते गर्दै पैसा थापिन र हतारिदै अलि माथि काम गर्दै गरेकी छोरी अर्थात साइमनको श्रीमती नजिक गएर कानेखुसी गर्दै पैसा गन्न थालिन । हामी बाटो लाग्दै गर्दा फेरी आमा छोरी दुबैले नमस्ते गर्दै पाई पाई (बाइबाइ) भने । 

एक आपसमा भाषा नबुझे र बोल्न नजाने पनि परिवारका सबै सदस्यहरु साह्रै हँसिला, फर्सैला अनि खुसी । फोफोको त कुरै नगरौं । साह्रै हसिलो अनुहार अनि मन पनि उस्तै सफा र मायालु । सामान्यत चाइनिज कल्चरमा घर बाहिरका मान्छेहरुसँग त्यसरी नजिक भएर बोल्ने, उनिहरुले दिएको खाने वा आफुले खान दिने गर्दैनन् । 

फोफोको त्यो सेत्तै कपाल फुलेको टाउको, चाहुरिएको गाला, हसिलो अनुहार सहितको मायालु स्वाभावले मलाई कताकता मेरा स्वर्गिय बोजुको याद दिलायो । बोजुको कुप्रो शरिर, चाहुरिएको गाला, हसिलो अनुहार र फोफोको जस्तै सबैलाई उत्तिकै माया गर्ने सफा मन...। 

७९ वर्षको उमेरमा बोजुको असामयीक निधन भयो । रोजगारीको शिलशिलामा उतिबेला म घरमा थिइन । म नजन्मदै ४९ वर्षको उमेरमा अल्पआयुमै स्वर्गबास हुनु भएका बाजे वैधार स्व. धन बहादुर राई (याक्खा) लाई मैले देख्न समेत पाइन । 

अहिले पनि बोजुको चाहुरिएको मायालु मुहार आँखाभरि घुमिरहन्छ । सानो चर्को स्वर कानमा गुञ्जिरहन्छ । स्कुलबाट घर आइपुग्नुसाथ किताबको झोला खाटमा राखेर बारीको एक डिल मुनि कान्छा काकाको साथमा बोजु बस्ने मूल घर पुग्दा साइला र कान्छा काकाका छोराहरु सहित हामी सबैलाई कहिले सक्खरको डल्लो त, कहिले बासी भात वा भुटेको मकै भटमास नत्र उसिनेको तरुल खाजा बोजुले राखिदिइ राखेको हुनु हुन्थियो ।

चाडबाड होस या त अरुबेला घरमा मिठो मसिनो पाकेको भए हामी नातिनातीनाको भाग नराखी, नदिई बोजुले कहिल्यै खानु हुन्थेन । त्यतिबेलाको हाम्रो बालापन, केही काम नभएता पनि मिठो मसिनो खान पाउँने र बोजुको माया पाउँने आशा बोकेर भए पनि साँझ बिहान बोजुको घर आँगन र सिकुवा नटेकी नहुने हामीलाई । घरमा मात्रै होइन हाट बजारबाट फर्कँदा होस या त गाउँघरमा कुनै पूजाआजा, बिहे, वर्तबन्ध अथवा मर्दा पर्दाको भोज भयो भने पनि बोजुले टपरीमा पोको पारेर हामी नातिना तिनाहरुलाई मासु, चिउरा, रोटी, केरा लगायतका खाने कुुराहरु ल्याइदिनु हुन्थ्यो ।

घरबाट पैदल डेढ घण्टाको बाटोमा बिहिबारे हाट लाथ्यो, जुन अहिले पनि लाग्छ । बिहिबारे बजार नजिकै वाबुन भन्ने ठाउँमा बोजुको माइती अर्थात हाम्रो बुढो मावाली । माइतीघर नजिकै लाग्ने बिहिबारे हाट बोजु त्यति टुटाउनुहुुन्न थियो । सानो छँदा भालुखोला तरी उकालो चढेर बुढो मावाली गाउँ वाबुन हुँदै बिहिबारे हाट हिडेर पुग्नु निक्कै कठिन भएता पनि बोजुले मासु, चिउरा, चकलेट, रंगिन मिठाई, जेरी, समोसा लगायतका मिठा–मिठा खानेकुराहरु खुवाउनु हुने हुदा बोजुसंग बजार जान हामी नातीनातिनाहरु मरिहत्ते गथ्यौं । बोजु पनि सबै नातानातिनीहरुलाई पालैपालो लिएर मात्रै बिहिबारे हाट जानु हुन्थ्यिो । कहिले काही त बिहिबारे हाट दिनै पिच्छे लागे पनि हुन्थ्यो जस्तो लाथ्यो ।

अझै पनि मलाई राम्रोसँग याद छ कि बोजुको त्यो माया हामी र हाम्रो घर परिवारका सदस्यहरुमा मात्रै सिमित थिएन । गाउँघर छरछिमेकमा दुःखमा परेका देखि लिएर बाटो हिड्ने बटुवाहरुलाई समेत सहयोग गर्ने, दिएर पुर्याएर खाने र उत्तिकै माया गर्ने गर्नु हुन्थ्यो । र हामीलाई पनि त्यस्तै शिक्षा दिनु हुन्थ्यो । 

बोजुको मन यति सम्म धर्माती थियो कि प्रत्येक शुक्रबार चैनपुर बजारबाट हाटबजार भरेर हिउँखोला एक्लेबेसीबाट ठाडै उकालो गिरेको चौतारी हुँदै घर फर्कने बजारेहरुका लागि चौतारीमा माटोको गाग्रोमा रोखेको चिसो पानीको व्यावस्था गर्न फुपु, काकी, दिदी लगायत हामीलाई अह्राउनु हुन्थ्यो । हिउँखोला देखिको उकालोमा कतै पानीको मुल नभएको र वस्ति पनि नभएकाले तिर्खाएका बजारेहरुलाई पानी दिदा धर्म हुन्छ भन्दै प्रत्येक शुक्रबार दुई–तीन बजेतिर चौतारीबाट अलि वर रहेको हाम्रै धारेखेतको धाराबाट पानी ओसारेर बजारबाट फर्किएका बजारे तथा बटुवाहरुलाई दिनु पर्थ्यो । बजारे र बटुवाहरुलाई मात्रै होइन गाउँघरमा कतै मरिमराउ परेर सदगजका लागि हिउँखोला लगेको भए घरदेखि तल सित्तलेको चौतारीमा मलामी फर्कने बेला मलामीहरुका लागि पानी, जाड, फलफूलहरु लगेर बाढ्न लगाउँनु भएको समेत याद छ ।  

बोजुको मूलघर भरी परेवा, रुपी, गौथली, भंगेरा हुने र बारी भरी ढुकुर, जुरेली लगायतका चराचरुङ्गीहरुको गुड हुने । सानो उटपट्याङ उमेरमा गुलेली बोकेर चराचुरुङ्गीको शिकार गर्न खुबै हिडियो । तर बोजुले घर वरिपरीका चराचुरुङ्गीहरुलाई खेदाउन र मार्न कहिल्यै दिनु भएन । बोजुको छेउमा गुलेली बोकेर हिड्नै हामी डराउँने । अनेक कथा र उख्खानहरु झिकेर उनिहरुको पनि हामी मान्छेको जस्तै घर हुन्छ, बाउँ, आमा, छोराछोरीहरु सबै हुन्छ भन्दै चराचुरुङ्गी कहिल्यै मार्नु हुन्न भनेर सम्झाउँनु हुन्थ्यो । सम्झाउँदा नमाने चर्को श्वरमा कराउनु हुन्थ्यो । 

बोजु बस्ने घर हामी दाजुभाईहरुको मात्रै नभएर एक हिसाबले गाउँ भरीकै मूलघर जस्तै थियो । दशैमा मार हान्दा होस वा टिकाको दिन टिका थाप्दा । हामी दाजुभाइसँगै गाउँटोलका सबै जात र वर्गका मानिसहरु घर आँगनमा अटिनअटी भेला हुन्थे । घर आँगन भरी मान्छे भएर दशै मनाउँनुको रमाइलो नै बेग्लै । तिहार लगायत अन्य चाँडबाडको रमाइलो पनि कम्तिको हुन्थेन । बोजु हुंदा सधै उज्यालो लाग्ने बोजु बस्ने मूलघर बोजुको निधन पछि पुग्दा भने कताकता अध्यारो लाग्यो । न बार्दली र धुरीमा चराचुरुङ्गीहरुको बास छ, न त सिकुवा र आँगनमा गाउँलेहरुको आगमन । लाग्यो हिजो बोजु हुनुहुन्थियो र सब थियो, आज बोजु हुनुहुन्न त्यसैले केही छैन । 

प्राय साँझ परे पछि बोजु चुला छेउको कुनामा बसेर तुङबा तान्दै हामीलाई मिठा–मिठा कथा र ज्ञानगुनका कुराहरु सुनाउँनु हुन्थियो । स्योक्पा, बनझाक्री, चुडेल्नि र राँकेभुतका कथाहरु सुनेपछि बारीको एकडिल माथि भएको घर जानु पनि साह्रै डर लाथ्यो । 

‘धर्माती मान्छे मरे पछि उ माथी आकाशको जुुन तारा जस्तै रातमा पनि टिलिलि चम्किरहन्छुङ’ साँझ बाहिर सिकुवा या आँगनमा मुढामा बसेर हावा खादै गफ गरिरहदा ज्ञानगुनका कुरासँगै बोजुले सबैलाई भन्ने गर्नु हुन्थ्यो  । 

कहिले काही सम्झने गर्छु जीवनमा धेरै नाम कमाएर अल्पायुमै स्वर्गबास हुनु भएका मेरो बाजे र बाजेको साथ छुटेपछि पनि सधै अरुकै सुखदुःखमा सहयोगी बनेर बाँच्नु भएकी मेरी बोजु स्वर्गवास हुनु भएपछि वहाँले भन्नु भए झै माथि आकाशको जुन, तारा वा के हुनु भयो होला ? 

बाजे र बोजु स्वर्गबास हुनु भए पछि जुन, तारा वा जे हुनु भए पनि हामी छोरा नातीहरु मिलेर केही वर्ष अगाडी वहाँहरुको नाममा हाम्रै घरबारीमा श्री धर्मेश्वर शिव मन्दिर बनाइदिएका छौं । अवश्य पनि बाजे र बोजु स्वर्गमा भेट भएर कहिले काही छोरा नातीहरुले बनाइदिएको मन्दिर दर्शन गर्नसंगै आउनु हुन्छ होला र हिजो झै हामी सबैलाई उत्तिकै माया र आशिर्वाद दिनु हुन्छ होला । 


संखुवासभा, हाल–हङकङ