सरकार ध्यान अनेत्र मोड्दै: घरमा अक्सिजनका सिलिन्डरै सिलिन्डर र अस्पतालहरूमा हाहाकारै हाहाकार !

सरकार ध्यान अनेत्र मोड्दै: घरमा अक्सिजनका सिलिन्डरै सिलिन्डर र अस्पतालहरूमा हाहाकारै हाहाकार !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०२, २०७८

 विश्वसँगै नेपाल पनि यति बेला कोरोना भाइरसको दोस्रो महामारीको सामना गरिरहेको छ । नेपालमा दैनिक ८ हजारभन्दा बढी सङ्क्रमित पुष्टि भइरहेको छन् भने दुई सातादेखि मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । कोरोना भाइरसको दोस्रो लहरसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख ९ हजार भन्दा बढी पुगिसकेको छ ।

नेपालमा कोरोनाका कारण हालसम्म ४ हजार ८ सय ५६ जनाले ज्यान गुमाइसकेको सरकारी आँकडा छ । नेपालमा कोरोनाको बढ्दो सङ्क्रमणसँगै अस्पतालहरू भरिभराउ का छन् भने अधिकांश सङ्क्रमितलाई अक्सिजनको आवश्यकता पर्ने गरेका कारण अक्सिजनको अभावको सामना गरिरहेका छन्। नेपालको बढ्दो सङ्क्रमणसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको बताएको छ । डब्लुएचओका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयससले कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको बताए ।

कोरोना भाइरसको महामारीबाट अति प्रभावित बनिरहेको भारतमा यति बेला विश्वभरबाट सहयोग जुटिरहेको छ । कोरोना महामारीले भारतको स्वास्थ्य प्रणाली नै ध्वस्त भइरहेका बेला विश्वको ध्यान केन्द्रित भएको हो । तर नियमित प्रेस ब्रिफिङमा डा.गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा सङ्क्रमण ह्वात्तै बढेको बताए । डा.गेहब्रेयससले भने, ‘डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ।’ 

डब्लुएचओले नेपालको अवस्था मूल्याङ्कन गरेर महामारीसँग लड्नका लागि अत्यावश्यक सहयोग चाहिएको बताए पनि सरकारकै अधिकारीहरू त्यसबाट ध्यान अन्तै मोडिरहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बीबीसीसँगको कुराकानीमा आपत्कालीन सहयोग आवश्यक रहेको भन्ने धारणा डब्ल्यूएचओको मात्र भएको र नेपाल सरकारले अहिलेसम्म त्यस्तो नठानेको बताए । उनी त्यतिमा मात्रै रोकिएनन् । उनले सरकार व्यवस्थापन गर्न सक्ने अवस्थामै रहेको समेत बताए ।

नेपालको अवस्था कस्तो छ ?

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरसँगै नेपालको अवस्था खराब बनेको छ । मृत्यु हुनेमध्ये धेरैले अस्पताल, अक्सिजन र उपचारको अभावमा ज्यान गुमाइरहेका छन् । पछिल्लो दुई साता मात्रै नेपालमा दुई लाख १५ हजारभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ भने १४ सय बढीको मृत्यु भएको छ । कोरोना परीक्षणदेखि अस्पताल हुँदै घाटसम्म लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको छ । राजधानीका धेरैजसो अस्पतालमा पुगेर पनि बिरामीले अक्सिजनको अभावका कारण ज्यान गुमाउनु परेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बेडको अभावमा अस्पतालको पेटीमा बिरामी राखेर उपचार  गरिरहेको छ ।

नेपालमा सङ्क्रमण सुरु भएयता कुल सङ्क्रमितको २५ प्रतिशत दुई सातामा मात्रै थपिएका हुन् भने कुल मृत्युको २९ प्रतिशत मृत्यु यो अवधिमा भएको छ । नेपालमा चार जिल्लामा ३५ सयभन्दा बढी, पाँच जिल्लामा दुई हजारभन्दा बढी, १९ जिल्लमा १ हजार भन्दा बढी, १५ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । बिरामीका लागि आवश्यक अक्सिजनको अभाव उच्च रुपमा बढेको छ भने अस्पतालमा शय्या र चिकित्सकहरूको अभावको सामना गर्नु परिरहेको छ । 

सरकार के भन्छ ?

कोरोना भाइरसको सङ्क्रमण तीव्र बनेर स्वास्थ्यको क्षेत्रमा ठुलो सङ्कट सिर्जना भइसक्दा पनि सरकारको गति सुस्त छ। लामो समय राजनीतिक खिचातानीमा बिताएका दलहरू पनि महामारीसँग जुध्न र आम जनताको समस्या समाधानमा उति सारो सक्रिय देखिएका छैनन् । डब्लुएचओले नेपालको अवस्था मूल्याङ्कन गरेर महामारीसँग लड्नका लागि अत्यावश्यक सहयोग चाहिएको बताए पनि सरकारकै अधिकारीहरू त्यसबाट ध्यान अन्तै मोडिरहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बीबीसीसँगको कुराकानीमा आपत्कालीन सहयोग आवश्यक रहेको भन्ने धारणा डब्ल्यूएचओको मात्र भएको र नेपाल सरकारले अहिलेसम्म त्यस्तो नठानेको बताए । उनी त्यतिमा मात्रै रोकिएनन् । उनले सरकार व्यवस्थापन गर्न सक्ने अवस्थामै रहेको समेत बताए । सङ्क्रमितको सङ्ख्या बढेर अहिलेको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था सिर्जना भइसक्दा पनि सरकार गम्भीर छैन भन्ने यो एउटा उदाहरण मात्रै हो । सरकारले यहाँ धेरै गल्ती गर्दै  आएको छ । जसका कारण आज नेपाल कोरोना महामारीको दोस्रो लहरको सामना गरिरहेको छ । खास गरी सरकारी अधिकारी, सुरक्षा निकायका शक्तिशाली व्यक्तिको घरमा अक्सिजनका सिलिन्डरै सिलिन्डर र अस्पतालहरूमा हाहाकारै हाहाकार को अवस्था सृजना गरिएको छ । 

कोरोना महामारी नसकिँदै सरकार र विपक्षीले देश भरी ठुला जुलुस र सभा गर्न प्रतिस्पर्धा नै गरे। तर दलहरू आफूहरू नै यो जटिल अवस्थाको कारक रहेको स्विकार्न तयार छैनन् । गत २७ वैशाखमा संसद्मा बोल्दै प्रधानमन्त्री केपी ओलीले सङ्कटको यो अवस्थाको जिम्मेवारी लिएर उचित व्यवस्थापनमा ध्यान दिनुपर्नेमा संसद् विघटनको विरोधमा भएका र्‍यालीको आफूले जवाफ मात्रै दिएको हल्का टिप्पणी गरेका थिए । 

नेपालको अवस्था गम्भीर हैन ?

यति बेला नेपालजस्तै विश्वका धेरै देश कोरोनाबाट आक्रान्त छन्। कोरोनाको ब्राजिली, दक्षिण अफ्रिकी, युके, भारतजस्ता भेरियन्ट निकै खतरनाक बनेर आए । युरोपमा पनि कोरोनाको दोस्रो लहरले टाउको उठाइसकेको थियो । तर उनीहरूले बेलैमा सतर्कता अपनाउँदै त्यसलाई नियन्त्रणमा लिन केही हदसम्म सफल भएका छन् । 

 यति बेला ब्राजिल भारतजस्ता देश नयाँ सङ्क्रमणको चपेटामा परेका छन् र मृत्युदर पनि बढी छ । तर नेपालमा पनि जनसङ्ख्या र परीक्षणको तुलनामा कोरोना सङ्क्रमणको महामारी भयानक देखिएको छ । पछिल्ला दिनमा करिब २ सयको हाराहारीमा दैनिक मृत्यु र ८ हजारभन्दा बढीका दरले सङ्क्रमित भेटिइरहेका छन् । सङ्ख्यात्मक रुपमा नेपालमा कम सङ्क्रमण देखिन्छ । तर जनसङ्ख्याको अनुपातमा अवस्था हेर्ने हो भने यो जटिल अवस्था हो ।

भारतमा गत सातादेखि र नेपालमा दुई दिनदेखि कोरोना सङ्क्रमितको सख्यामा कमी आउन थालेको छ । नेपालमा अहिले देखिएको कोरोना निकै सङ्क्रामक पनि देखिएको छ । एक जनाबाट कति जनामा कोरोना सरिरहेको छ भन्ने सङ्ख्या हेर्दा नेपालमा भारतमा भन्दा सङ्क्रामक देखिएको छ । भारतमा हाल सो सङ्ख्या १.१ छ भने नेपालको १.४६ रहेको छ। नेपालमा यो दर अप्रिल १० मा विश्वकै उच्च २.१ रहेकोमा बिस्तारै घट्न थालेको हो ।

मृत्युदर भारतमा प्रति १० लाखमा तीन जना छ भने नेपालमा ४.६ रहेको छ। परीक्षण र सङ्क्रमण पुष्टिको औसत नेपालमा ४६.७ प्रतिशत रहेको छ । यो निकै खतरनाक अवस्था हो । भारतमा यो दर २०.२ प्रतिशत मात्रै रहेको तथ्याङ्क छ । नेपालमा अझै पनि कोरोना सङ्क्रमणको उच्चदरमा परीक्षण, कन्ट्याक्ट ट्रेसिङजस्ता कार्य हुन सकेको छैन । जसले गर्दा नेपालको सङ्क्रमणले खतरनाक रुप लिइरहेको छ ।