बसन्त कुमार उपाध्याय | दृष्टिकोण | जेठ ०२, २०७८
आमाको उमेर ५४ वर्ष भयो । विगत लामो समयदेखि ब्लड प्रेसरको ओषधि प्रयोग कर्ता पनि हुनुहुन्छ, आमा ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले उपलब्धताका लागि भनेर दिइएका नम्बरहरूमा कल गर्दा अक्सर रिसिभ हुँदैनन्, जवाफमा कुनै 'रेस्पोन्स' समेत हुँदैन । सायद, उनीहरू 'अन ड्युटीमा' हुन्छन् होला । तर केही चिकित्सकहरू प्राय जति बेला पनि 'रेस्पोन्स' गर्ने गर्नु हुन्छ ।
स्थानीय तहबाट तोकिएका नागरिकलाई सेवा दिने भनिएकाहरू लगभग कसैको मोबाइल उठ्दैनन् भन्ने सर्वसाधारणका गुनासाहरू यथावत् नै छन् । यसो हुनु भनेको राज्य निरीह भइसकेको सबैभन्दा ठुलो प्रमाण हो । र यो नेपालगन्ज बासीको वास्तविकता पनि हो ।
हो, अस्पतालमा भएका चिकित्सक र स्वास्थ्यकर्मीहरू लगातार आफ्नो सेवामा खटिएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरु सके जति उनीहरूको बर कत्तले भ्याए सम्म, श्रोत र साधनले पुगेसम्म लागि परेका छन् जस्तो त लाग्छ । तर स्थानीय तहका जनप्रतिनिधिले व्यवस्थापन, आपूर्ति व्यवस्था मिलाउने र तत्काल गर्नु पर्ने निर्णय लिनु पर्नेमा बेलाबखत चुकिरहेको पनि पाइन्छ । स्थानीय तहका जनप्रतिनिधिहरू अस्पतालका बेडमा डाक्टरले चेकअप गरे झैँ हिंडिरहनुको खासै अर्थ देखिदैन ।
तर राज्यका थुप्रै अन्य संयन्त्रहरू लगभग गैर जिम्मेवार देखिएका छन् । यसबिच कतिपय कम्पनी र व्यक्तिहरू रेम्डिसिभिर इन्जेक्सन 'ब्ल्याक'मा बिक्री वितरण गरिरहेका छन् भन्ने सूचना र समाचार व्यापक रुपमा आइरहेका छन् । एक भाइलको २५ हजार रुपियाँबाट बार्गेनिङ सुरु गर्छन् भन्ने जन गुनासाहरू आउने गरेका छन् । कालोबजारीमा चिकित्सकहरुको पनि संलग्नता भन्ने बजारमा हल्ला चल्ने गरेका छन् । नेपालगन्जको भेरी अस्पतालले यो विषयमा विज्ञप्ति मार्फत स्पष्ट पार्न खोज्नु पर्यो । नेपालगन्ज मेडिकल कलेज हाता भित्रको फार्मेसीले जरिवाना नै तिर्नु र तिराउनु पर्यो ।
हुन त जसलाई पर्छ उसले नै 'फेस' गर्ने हो । अस्पताल र क्लिनिक धाउँदा धाउँदा लगभग गलिसकेका मेरा पाइला फेरी कोभिडले गलेकी 'फेस सिल्ड' लगाएर बसेकी आमा अगाडी गएर रोकिन्छन्, छोरो निःशब्द छ । केही बेर आफ्नो ब्रह्मबाट जे देख्छ त्यही गर्छ, संयमित रहँदै । बुझिने भाषामा भन्दा अङ्ग्रेजी मेडिकल साइन्सलाई लगभग असफल बनाई सकेको कोभिड-१९ बाट ग्रस्त मेरी आमा जस्तै कैयौँ सङ्क्रमितहरू मर्नु र बाँच्नु भन्दा डाक्टर भेट्न नपाएर छटपटिएको देखिन्छ ।
सूचना, मनोरञ्जन र समाचारको भरपर्दो माध्यम अहिले पनि रेडियो नै हो । हाम्रो जस्तो भूगोल भएको देशमा । आज आमसञ्चारका माध्यमहरूको व्यापकता बिच पनि रेडियोको महत्त्व कम छैन । तर त्यही रेडियो सुनेर आफ्ना दैनिक गतिविधिमा चल्ने सर्वसाधारण सायद मेरी आमा जस्तै कोरोनाका मृत्युका खबरले डराउनेसम्मको अवस्थामा पुग्ने परिस्थिति आएको छ ।
सेन्ट अप परीक्षा दिँदासम्म आमा भलिबल खेलाडी रहेको मलाई सुनाउनुहुन्छ । नआत्तिने सबैभन्दा गजबको आदत छ आमाको ।
आमा अक्सिजनको मात्रा आफैँले जाँच्नु हुन्छ बेला बेलामा । अक्सिजनको मात्रा नाप्ने उपकरणमा ९९,९८,९७,९६....सम्म देखिन्छ बेला-बेला । अक्सिजनको लेभल अक्सिमिटरमा ....९५,९४ हुँदा पनि आमा आत्तिनु भएन ।
तर पनि कोरोना सङ्क्रमित आमा शारीरिक पीडाले छटपटिएको अवस्था देख्दा मेरा आँखाहरू भरिन्छन् । बेला बेला आमाका आँखा छल्दै आफ्ना रसाएका आँखा कुहिनाले पुच्छ्न बाध्य हुन्छु ।
फेसबुक, युट्युब, टेलिभिजन भन्दा पनि रेडियोसँग रमाउने बानी भएकी रेडियो सुनेर कहिल्यै नथाक्ने मेरी आमा । अहिले रेडियो बजाएर केही मनोरञ्जन दिन खोज्दा झर्किने अवस्थामा हुनुहुन्छ । रेडियो खोल्दा आमा तर्सिने अवस्थामा पुग्नुभयो । मैले धेरै बेर फकाएर कारण सोधेँ । किन रिसाउनु भयो त हजुरको डियर रेडियोसँग ? बान्ता गरेर सुकेको घाँटीलाई थोरै फुलाउँदै (आमाले पुलुक्क) मलाई हेर्दै भन्नुभयो-'के सुन्नु मान्छे मरेको बाहेक अरु केही भन्दैन यो रेडियोले ।' आमाका लागि रेडियो अब 'डियर' रहेन । आमाले रेडियोबाट आउने बेलाबेलाका समाचार बुलेटिन तर्फ सङ्केत गर्नुभयो ।
'सानोमा जङ्गलमा भालु छ भनेर बा' ले डराउन दिनुहुन्थ्यो, आजकाल रेडियो पनि त्यस्तै (बियर) भालु जस्तो लाग्छ । रेडियो 'डियर' छैन अब 'बियर' भइसक्यो बुझिस् बाबु !' आमाका शब्द हुन यी ।
कोभिड-१९ सङ्क्रमित भएपछि पनि केही दिन आमाले आँफुलाई कम्जोर ठान्नु भएन । एक दिन त आफैँ खाना पकाउँछु भनेर किचन पस्नुभयो । तर मैले उहाँलाई सम्झाई बुझाई गरी रोक्नै पर्ने अवस्था सृजना गर्नु भयो ।
नेपालगन्ज अब 'सहर' रहेन, न त 'रहर' नै। आमाको कोभिड- १९ पोजेटिभ विषयमा खबर सुनेर हुम्लाबाट एक जना मित्रले शुभेच्छा व्यक्त गर्न कल गर्नु भएको तियो । हुम्ली साथीका शब्द -'उपल्लो भेगमा बस्ने हामीहरूलाई नेपालगन्ज झर्ने रहर हुन्थ्यो सर कुनै बेला ।'
मैले चुपचाप उहाँका कुरा सुनिरहेँ ।
मित्र फोनमा भन्नु हुन्छ -' रेडियोमा बाँकेको समाचार सुन्दा डर लाग्ने भयो सर !'
आमा र मित्रका कुरासँग अनौठोसँग मेल खान्छ । म चुपचाप सुनिरहेँ । मैले कुनै जवाफ फर्काइन ।
नेपालगन्ज कोरोनाको प्रहरमा छ । लगभग हरेक घरमा अवस्था यस्तै हो । डिसिसिएमसिको अपडेट- रिपोर्ट मा बेला बखत आँखा दौडाउँछु । सूचना अब निरर्थक लाग्न थाले । सूचना जसले दैनिक जीवनलाई सहज होइन असहज बनाउँदै त छैन ?, झैँ लाग्छ ।
मैले आमालाई सोधेँ-के गर्न पाए हुन्थ्यो भन्ने लाग्छ आमा ?
(जाली ढोका बाहिर म छु, भित्रबाट) आमाको मधुरो आवाज आयो - 'सबैलाई बचाउन चाहन्छु ।' म आमाका अगाडी फेरी एक पटक निःशब्द भएँ ।
आमाले आफैँलाई प्रश्न थप्नुभयो हुन त -'अजम्बरी को नै पो छ र संसारमा ?'
आमालाई गर्लम्म अँगालो हाल्न मन भयो, आमा ढोका खोल्दिनुस न, प्लिज !
आमा -'नाइँ, तिमीहरूले अझै धेरै काम गर्नु छ ।'
आमाले सम्झाउँदै भन्नुभयो- 'हेर बाबु सोचेको सबै पुग्दैन, तर हरेस नखानु ।'
सूचना, मनोरञ्जन र समाचारको भरपर्दो माध्यम अहिले पनि रेडियो नै हो । हाम्रो जस्तो भूगोल भएको देशमा । आज आमसञ्चारका माध्यमहरूको व्यापकता बिच पनि रेडियोको महत्त्व कम छैन । तर त्यही रेडियो सुनेर आफ्ना दैनिक गतिविधिमा चल्ने सर्वसाधारण सायद मेरी आमा जस्तै कोरोनाका मृत्युका खबरले डराउनेसम्मको अवस्थामा पुग्ने परिस्थिति आएको छ ।
म अरु स्वइच्छाले चलाउने सामाजिक सञ्जालको कुरा पटक्कै गर्दिन । किनकि आमाको त्यो सुरुचिको विषय छैन । म बेला बखत आमालाई भन्छु फेसबुक अनलाइन, युट्युब हेर्नु न समय कट्छ । आमा कहिलेकाहीँ फेसबुक चलाउनहुन्थ्यो तर सङ्क्रमण भएपछि एक दिन पनि चलाउनु भएन ।
आमा भन्नुहुन्छ-'यी त झन् ठुला जन्जाल हुन, हेर्दिन ।' आमाले एण्ड्रोयइड मोबाइल बन्द गरेको हप्ता दिन पुग्न थाल्यो ।
रेडियो नेपालबाट प्रसारण हुने बिहानको शङ्ख ध्वनिसँगै रेडियो सुन्ने बानी परेको हो आमाको । एफएम रेडियोका थुप्रै स्टेसन ट्युनिङ्ग गर्ने सम्मको आदत परेको थियो आमालाई ।
विडम्बना कोभिड-१९ पोजेटिभ भएसँगै आमा रेडियोको आवाज सुन्नै नसक्ने गरी डराउनु भएको छ । रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता त थाह छैन कति छ ? तर आमाले सचेत पूर्वक होम आइसोलेसनमा दिन कटाउँदै हुनुहुन्छ ।
नेपाल त्यसमाथि पनि देशकै नामको एक मात्र सहर नेपालगन्ज कोरोना सङ्क्रमणको चपेटमा छ । चैत मासको हुरी जस्तै फैलिएको कोभिड-१९ डढेलो झैँ जल्दै जलाउँदै छ बाँकेलाई ।
आमा प्रत्येक रात जाली ढोका बन्द गर्दै भन्नुहुन्छ- 'मैले बोलाएपछि आउनु अहिले सुत बाबु !'
मन त के मान्थ्यो र !!
ढोका बाहिर छेवैमा आँखा नचिम्लेरै रात बित्छन् । घरी घरी अक्सिमिटरको डिजिटल डिस्प्लेको उज्यालोले आमा ब्युँझिएको चाल पाउँछु ।
मध्य रात भइसक्दा पनि, नेपालगन्जमा लगातार एम्बुलेन्सका साइरन बजिरहेका हुन्छन् । कोरोनाको जगजगीमा छ नेपालगन्ज, अनि राज्यको नजर पुग्नबाट बाँकी नै छ बाँके । बाँकेमा मात्रै होइन देश भरी नै यसरी अक्सिजन पाउने आशामा अक्सिमिटरमा अड्किएको छ नागरिकको जीन्दगी !!
मे १ मा पिसिआर परीक्षाण गराएर मे २ मा 'डिटेक्डेड रिपोर्ट' आएर पोजेटिभ भए पनि १५ दिन पुगेपछि पूर्ण रुपमा स्वस्थ हुनुहुन्छ- आमा ।