उद्योग वाणिज्य सङ्घद्वारा अस्पताललाई १७ थान अक्सिजन सिलिण्डर प्रदान

उद्योग वाणिज्य सङ्घद्वारा अस्पताललाई १७ थान अक्सिजन सिलिण्डर प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०४, २०७८

ताप्लेजुङ । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले १७ थान अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई प्रदान गरेको छ । जिल्लामा कोरोना सङ्क्रमण दर तीव्ररूपमा बढिरहेको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भइरहेको अवस्थामा उद्योग वाणिज्य सङ्घले आज सिलिण्डर उपलब्ध गराएको हो ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीलगायत पदाधिकारी तथा सदस्यको उपस्थितिमा अक्सिजन सिलिण्डर जिल्ला अस्पतालका प्रमुख चिकित्सक सोनिङ लामालाई हस्तान्तरण गरिएको हो । वाणिज्य सङ्घले यसअघि गएको शुक्रबार आठ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङसहित विभिन्न उद्योगी, व्यापारीलगायत दाताको सहयोगबाट दुईपटक गरेर २५ थान अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई उपलब्ध गराएको वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अधिकारीले बताउनुभयो । जिल्ला अस्पताललाई उपलब्ध गराएको अक्सिजन सिलिण्डरले कोभिड–१९ सङ्क्रमित भएका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास वाणिज्य सङ्घले लिएको छ ।