अक्सिजनको क्षमता वढाउँदै चितवनका अस्पतालहरू

अक्सिजनको क्षमता वढाउँदै चितवनका अस्पतालहरू

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ ०४, २०७८

चितवन । जिल्लामा अक्सिजन अभाव हुन थालेपछि यहाँका अस्पतालले प्लान्टको क्षमता विस्तार गर्न थालेका छन् । बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि मागअनुसार अक्सिजन पुर्याउन कठिन भएको छ । जिल्लाका दुई मेडिकल कलेज र भरतपुर अस्पतालले प्लान्ट विस्तार गर्न लागेका हुन् । 

जिल्लामा कोरोनाको उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेजमा आफ्नै प्लान्ट भएपनि बिरामीको सङ्ख्या बढेपछि उद्योगबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता रहेको छ । पुरानो मेडिकल कलेजले गैँडाकोटमा रहेको आफ्नो प्लान्टलाई विस्तार गर्दैछ । अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानले २४ घण्टामा ४०० सिलिण्डर उत्पादन हुँदै आएकामा २०० सिलिण्डरको क्षमता थप गर्न लागिएको बताउनुभयो । उद्योगमा यसअघिनै प्लान्ट भएको भन्दै उहाँले ट्रान्सफरमर र स्टेपलाइजर जडान गरी यसै हप्ता थप उत्पादन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । सो मेडिकल कलेजमा हाल दैनिक ३०० सिलिण्डर आवश्यक पर्ने गर्दछ । 

चितवन मेडिकल कलेजले एक दिनमा ६००  सिलिण्डर उत्पादन हुने नयाँ प्लान्ट ल्याउँदै छ । अस्पतालका अध्यक्ष एवं प्रबन्धनिर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले एलसी खोलेर प्रक्रिया अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक साताभित्र सामान जडान हुने अपेक्षा लिएका छौँ ।” हाल अस्पतालको प्लान्टले २०० सिलिण्डर अक्सिजन हाराहारी उत्पादन गर्दै आएको । बिरामीको चाप बढेपछि हाल दैनिक ४०० सिलिण्डर अक्सिजनबाहिरबाट ल्याउनुपरेको छ । 

भरतपुर अस्पतालले नयाँ प्लान्ट थप गर्ने तयारी गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयबाट रु १२ करोड बजेट आउने भएकाले छिट्टै प्रक्रिया अघि बढाइँदै छ । दैनिक थप २४० सिलिण्डर उत्पादन हुने गरी प्लान्ट जडान गर्न लागिएको उहाँको भनाइ छ । भरतपुर अस्पतालमा हाल रहेको प्लान्टले दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन गर्छ भने खपत २०० भन्दा बढी रहेको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार दैनिक एक हजार २०० सिलिण्डर जिल्लाका अस्पतालहरूमा आवश्यक पर्दछ । यहाँका चार अस्पताल र एउटा निजी उद्योगको गरी ८८० सिलिण्डर मात्रै उत्पादन हुँदै आएको छ । दैनिक ३२० सिलिण्डर अक्सिजन जिल्लामा अपुग भएको उहाँले जानकारी दिनुभयो । 

जिल्लाको तथ्याङ्कलाई हेर्दा यहाँका अस्पताल र घरायसी प्रयोजनका लागि ६८० सिलिण्डर दैनिक अभाव हुने गरेको छ । यहाँ रहेको एकमात्र अक्सिजन ग्यास उद्योग स्वर्गद्वारीको दैनिक उत्पादन ३६० सिलिण्डर भए पनि दैनिक ३२० सिलिण्डर बाहिरी जिल्लाको भर पर्नुपरेको छ । 

यसअघि बालाजु काठमाडौँ र रुपन्देहीमा प्लान्ट भएको शङ्कर ग्यास उद्योग र परवानीपुरमा प्लान्ट भएको भाजुरत्न इञ्जिनियरिङ एण्ड सेल्सबाट अक्सिजन आउने गरेको भए पनि यतिबेला स्थानीयस्तरमै खपत भएर आउन छाडेपछि यहाँ अभाव भएको हो । 

जिल्लाका अस्पतालमा ५० प्रतिशतभन्दा बढी बाहिरी जिल्लाका सङ्क्रमितले उपचार गराइरहेका छन् । छिमेकी जिल्लाबाट सङ्क्रमित पठाउने तर अक्सिजन आउन नदिने हुँदा समस्या भएको छ । हालसम्म भने जिल्ला र बाहिरबाट जुटाएर बिरामीका लागि अक्सिजन पु¥याइँदै आएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जसरी भए पनि अहिलेसम्म बिरामीलाई अक्सिजनको अभाव हुन दिएका छैनौँ ।”