जिते पनि के, हारे पनि के ?

जिते पनि के, हारे पनि के ?

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  बैशाख १४, २०७६

अर्जुन उवाच –

    कथं भीष्ममहं संख्ये द्रोणं च मधुसूदन ।
    इषुभिः प्रतियोत्स्यामिपू जार्हावरिसूदन ।। ४ ।।

भावार्थ– हे मधुसूदन ! युद्धभूमिमा पितामह भीष्म र गुरु द्रोणाचार्यका विरुद्ध म कसरी वाणले लडुंला ? किन कि हे अरिसूदन ! ती दुबै पूजाका पात्र हुन् । 

विशिष्टार्थ – जीवका शरीरमा दुई शक्तिहरू निरन्तर क्रियाशील रहन्छन् । एक  ‘नर’  र अर्को  ‘नारायण’ । नर मूलाधारमा रहेर चैतन्य सत्व (मन) लाई अवैषयिक अज्ञानज तमः मा  मिलाउनका लागि र नारायण सहस्रारमा रहेर सोही चैतन्य सत्वलाई अवैषयिक ज्ञान जगतमा ल्याएर पालन गर्ने चेष्टा गर्दछन् । यस चेष्टाको फल नै अर्थात् ती दुई शक्तिहरूको समवायजनित बल नै जीवभाव वा जीवत्व हो । चैतन्य सत्व (मन) जस्तै ती दुई शक्तिको आकर्षणमा पर्दछ त्यस्तै प्राण पनि पर्दछ । एक पटक भित्र एक पटक बाहिर, जुलाहाको कपडा बुन्ने सोइलो जस्तै चलिरहन्छ । मन सूक्ष्म र स्वाधीन छ प्राण स्थूल र अधीन छ, मन जीवत्व हो भने प्राण जीवन हो । केवल यही फरक छ । ती नर नारायणलाई माया–ब्रम्ह वा मायिक शक्ति– ब्राम्हीशक्ति पनि भन्दछन् । मायालाई  त्यागेर ब्रम्हमा जाने चेष्टा गर्दैमा नै मायाले तत्क्षणात् तानिहाल्छ । मन तब प्राणको आवागमनरूप पीङ जस्तै माया–ब्रम्हको ठीक वीचमा हल्लिरहन्छ, अर्थात्् एक पटक आत्मज्ञानको शक्तिले माथि पुग्छ फेरि विषय ज्ञानको दोषले तल ओर्लन्छ । आत्म ज्ञानमा – ‘म’ नै सबैको प्रभव तथा  ‘म’ बाट नै सबै प्रवर्तित यस प्रकारको स्वाधीनभाव आउंछ । विषय– ज्ञानमा – तपाई सर्वज्ञ गुरू, म अज्ञशिष्य यस प्रकारको अधीन भाव आउंछ । यी दुवै भावहरूलाई नै यथाक्रम गरेर आत्मभाव तथा जीवभाव भन्दछन् । जीवभावको संशय आत्मभावमा समाधान हुन्छ । यो श्रीकृष्णार्जुनको कथोपकथन नै जीवात्मभावको संशय समाधान हो । यी दुबै एउटैका भिन्न अवस्थाहरू हुन् । म नै संझन्छु मैले नै संझाउछु, मायाको आकर्षणमा पर्नाले अर्जुन नपर्नाले भगवान् ! योग मार्गको आत्म कुटीरमा यस्तै नै प्रत्यक्ष हुन्छ । साधकले अव सम्झनु पर्छ ‘अर्जुन उवाच’ को अर्थ  के हो ? ‘श्री भगवानुवाच’ वाक्यको अर्थ के हो ?

संख्ये– सं = सम्यक्, ख=आकाश, य=यान, ए=स्थिति, अर्थात् देहाभिमानलाई त्यागेर सम्पूर्ण रूप आकाशयान (चिदाकाश) मा स्थित भएर । इषुभिः– आत्ममन्त्र तथा यो परस्पर समन्वय गर्नाले प्राण अतीव सूक्ष्म तथा तीव्रवेगशाली हुन्छ, यसैको नाम इषु वा वाण हो । यसैबाट अन्तरावरण समूहको भेदन हुन्छ ।

साधक अर्जुन संसारबीज नष्ट गर्नका लागि खडा भएका छन्, किन्तु मायिक विकलताले गर्दा ज्ञान ढाकिनाले उनलाई अनेक संशयहरू भैरहेका छन् । अतः आत्मभाव मधुसूदनलाई लक्ष्य गरेर सोच्दछन्  देहबाट अलग भएर तथा मनलाई आकाश जस्तो निर्लिप्त बनाएर सूक्ष्म प्राण चालन जस्तो श्वासको ठक्करले मनलाई कसरी मारूँला ? अर्थात् भीष्म मनको अहंत्व एवं द्रोण मन चालित बुद्धिलाई  कसरी नष्ट गरूँला ? त्यस बेला मन्त्र उच्चारण शक्ति  संकुचित हुन्छ, प्राणको आकर्षण कसरी संभव होला ? अरू पनि यसै ममत्वले नै हाम्रो वृद्धि एवं यस वृद्धिले नै हाम्रो समृद्धि या विभूति हुन्छ, यस ममत्वको बलले विश्वलाई अहंमय (जस्तो ऊखुमा गुलियोपन) बनाउंदछु तथा प्राकृतिक बुद्धिबलले तत्वनिरूपणद्वारा विज्ञान विद् भएर विभूतिवान् भएको छु, अतः यी दुबै नै मेरा पूजनीय हुनु हुन्छ, नाश गर्न उचित छैन, यस्तै भ्रम हुन्छ ।

साधक अर्जुन संसारबीज नष्ट गर्नका लागि खडा भएका छन्, किन्तु मायिक विकलताले गर्दा ज्ञान ढाकिनाले उनलाई अनेक संशयहरू भैरहेका छन् । अतः आत्मभाव मधुसूदनलाई लक्ष्य गरेर सोच्दछन् देहबाट अलग भएर तथा मनलाई आकाश जस्तो निर्लिप्त बनाएर सूक्ष्म प्राण चालन जस्तो श्वासको ठक्करले मनलाई कसरी मारूँला ? अर्थात् भीष्म मनको अहंत्व एवं द्रोण मन चालित बुद्धिलाई कसरी नष्ट गरूँला ? त्यस बेला मन्त्र उच्चारण शक्ति संकुचित हुन्छ, प्राणको आकर्षण कसरी संभव होला ?

    गुरूनहत्वा हि महानुभावान्
    श्रेयो भोत्तुं भैक्ष्यमपीह लोके ।
    हत्वार्थ कामांस्तु गुरूनिहैव
    भुञ्जीय भोगान् रुधिरप्रदिग्धान् ।। ५ ।।

भावार्थ – यी सबै महानुभावहरूको वध नगरिकन नै यदि मलाई यस संसारमा भीख मागेर खानु परे पनि त्यो कल्याण नै ठान्दछु । परन्तु यिनीहरूको वध गर्नाले यस लोकमा नै आत्मीयहरूको रगतले मुछिएका धन कामरूप भोगहरू भोग्नु पर्नेछ ।

विशिष्टार्थ– अतएव अति प्रतापशाली ती दुबैलाई नष्ट नगरेर यदि इहलोक अर्थात् – प्राकृतिक आधिपत्यमा रहेर काम्यकर्मद्वारा अभावको आपूरण (भैक्ष्य)  गर्नु पर्छ भने पनि त्यो पनि असलै हुनेछ,  परन्तु ती दुबैलाई नष्ट गरेर प्रकृति माथि आधिपत्य जमाउनु उचित हुँदैन । किन कि अहंत्व नरहेमा संवेद रहदैन तथा प्राकृतिक वुद्धि नरहेमा यो असल यो खराब भन्ने विवेक पनि रहदैन, त्यस अवस्थामा विषय भोग वा शरीर धारण विडम्बना मात्र हुनेछ । (यहाँ गुरून् गौरवका लागि बहुवचन प्रयोग भएको छ) ।

    नचैतद्विद्यः कतरन्नभोगरीयो 
    यद्वाजयेन यदि वा नो जयेयुः
    यानेव हत्वा न जिजीविषाम
    स्तेऽ वस्थिता प्रमुखे धार्तराष्ट्राः ।। ६ ।।

भावार्थ– यस युद्धमा हामीहरूले विजय प्राप्त गरौंला या उनीहरूले हामीहरूलाई जित्लान्, हामी दुईका वीचमा कुन श्रेष्ठ होला भन्ने कुरा पनि त जान्दैनौं । जसलाई मारेर हामीहरू जीवित रहन पनि चाहदैनौं तिनै दुर्योधनादिहरू हाम्रो सामुन्ने खडा छन् ।

विशिष्टार्थ – अर्जुनका मनमा एक पछि एक अनेक भावनाहरू उत्पन्न हुन्छन् वास्तवमा कुन राम्रो  हो ? प्रकृतिको वशमा रहनु असल हो कि प्रकृतिलाई वशमा राख्नु । प्रकृतिको वशमा रहनाले संसार बीज नष्ट हुंदैन, फेरि प्रकृतिलाई वशमा राख्दा विषय भोग रहदैन । परन्तु जसलाई साथमा लिएर अर्जुनलाई विषय भोग गरूँला भन्ने छ ती सबै मानसिक वृत्ति समूह नष्ट गरेर जीवित रहनुमा कुनै फल नरहनाले उनलाई बाँच्ने इच्छा पनि हुँदैन, ती सबै मानसिक वृत्ति समूह अर्थात् दुर्योधनादि नाता कुटुम्ब उनका सामुन्ने खडा छन् । त्यसैले उनी दोधारमा परेका छन् ।

    कार्थण्यदोषोपहत स्वभावः
    इच्छामि त्वां धर्मसंमूढचेताः ।
    इच्छ्रेयः स्यान्निश्चितं ब्रूहि तन्मे
    शिष्यस्ते ऽ हंं शाधि मां त्वां प्रपन्नम् ।। ७

भावार्थ– आत्मीय जन विनाशरूप कातरता र कुलक्षयकृत दोषवाट प्रभावित म कर्मको विषयमा संदिग्धचित्त भएको छु । अतः म तपाईलाई सोध्छु, जुन कल्याणकारी हुन्छ त्यो निश्चय गरेर भन्नुहोस्, म तपाईकै शिष्य हुँ आप्mनो शरणमा परेको मलाई उद्धार गर्नुहोस् ।

विशिष्टार्थ – जुन मनुष्यले मानव जीवनका समस्याहरू हल गर्दैन त्यसलाई कृपण भनिन्छ । भौतिक जगत्का समस्याहरूबाट मुक्ति पाउनु छ भने सदगुरुको शरणमा जानु पर्दछ । अव अर्जुनलाई बोध भैसकेको छ । कार्थण्यदोषको  प्रभाव  पर्नुको  कारण  ममता  परायण हो । ‘अर्जुनस्य प्रतिज्ञेद्वे न दैन्यं न पलायनम्’ अर्थात् क्षात्रस्वभावमा दीनता र पलायन दुवै हुँदैनन् भन्ने अर्जुन यहाँ आफ्नो कर्तृत्व अभिमानलाई त्यागेर गुरुपदमा आत्म समर्पण गर्दछन् र भन्दछन् – ममता परायणले गर्दा मेरो बोध शक्ति ढाकिएको छ, चित्त पनि धर्मको विषयमा मोहग्रस्त भएको छ, त्यसैले म सोध्छु जे गर्दा कल्याण हुन्छ त्यसको निश्चय गरेर मलाई भन्नुहोस् । म तपाईको शिष्य हुँ, तपाईको शरणमा परेको छु, मलाई यथोचित शिक्षा दिएर उद्धार गर्नुहोस् ।

शिष्यत्व स्वीकार गरेर शरणापन्न नभइकन गुरुबाट तत्व उपदेश प्राप्त हुन सक्दैन । यो कुरा प्रकाश्यमा जस्तो हो त्यस्तै भित्र पनि हो  । कारण क्रियाकालमा अहंकार (कर्तृत्वभाव) त्याग गरेर भक्तिपूर्वक गुरुचरणमा आत्म समर्पण नगरिकन अरू कुनै प्रकारले पनि अन्तर्दृष्टि खुल्दैन । तत्वज्ञान लाभ पनि हुँदैन । त्यसैकारण स्दगुरुको शिष्यत्व स्वीकार नै यस श्लोकको उपदेश हो ।

    न हि प्रपश्यामि ममापनुद्यात्
    यच्छोकमुच्छोषणमिन्द्रियाणाम्
    अवाप्यभूमावसपत्नमृद्धं
    राज्यं सुराणामपि चाधिपत्यम् ।। ८ ।।

भावार्थ – यस पृथ्वीको निष्कण्टक राज्य तथा स्वर्गको आधिपत्य प्राप्त गरेर पनि जुन कर्मले इन्द्रियहरूलाई सुकाउने मेरो यो शोकलाई निवारण गर्नसक्छ त्यो निश्चितता म देख्दिन ।

विशिष्टार्थ – भूमि = क्षेत्र, यो शरीर हो । असपत्न = निःशत्रु । दैवप्रतिकूलता, असत्वृत्ति तथा प्राकृतिक विकृति यिनै तीन शत्रु हुन् । दैव = पूर्वकृत संचित कर्म हो । संचित कर्मको क्षय नहुनाले कि वा पुरूषकारले त्यस संचित कर्मलाई अतिक्रमण नगरिकन नवीन कर्मको फल प्राप्त हुन सक्दैन । असत्वृत्ति = विषयाशक्ति हो, प्राकृतिक विकृति = वायु, पित्त, कफको प्रकोप हो । आसनप्राणायामआदिद्वारा यस शरीरका विषयमा जति जति परिज्ञान भैरहन्छ त्यति नै त्यति निःशत्रु राज्य हुन्छ, अनि विशेष विशेष क्रियाले जुन योगसिद्धिको लाभ हुन्छ त्यसैलाई ऋद्धि वा विभूति भन्दछन् । योगसिद्ध भएर विभूति भूषण हुनाले नै शरीर असपत्न ऋद्ध राज्य हुन्छ ।

सुर (स+उ+र) स=ईश्वर (प्राणो हि भगवानीशः अतएव प्राण, उ = सहस्रार – स्थिति पद, र = तेज, प्राण सहस्रारमा स्थिर भए पछि जुन तेजोराशिले प्रकाश पाउंछ त्यही सुर हो । त्यस तेजको अगाडि पछाडि नाद विन्दुमा मन समर्पण गर्नाले जुन शक्ति  लाभ  हुन्छ  त्यही ‘ सुराणां अधिपत्यं ’ हो ।

संजय उवाच –

    एवमुक्त्वा हृषीकेशं गुडाकेशः परन्तपः ।
    न योत्स्य इति गोविन्दमुक्त्वा तुष्णीं बभूवह ।। ९ ।।

भावार्थ– संजयले भने – गुडाकेश, परन्तप अर्जुनले हृषीकेशसंग यस्तो भनेर फेरि गोविन्दलाई म युद्ध गर्दिन, यो स्पष्ट भनेर चूप लागे ।

विशिष्टार्थ– गुडाकेश परन्तप अर्जुन (साधक) जब पूर्वोक्त प्रकारले भनिरहेका थिए, तब उनी कूटस्थ चैतन्यलाई हृषीकेशरूपमा प्रत्यक्ष गर्दथे र देख्दथे – कूटस्थ चैतन्य नै इन्द्रिय समूहका नियन्तारूपले विराजमा छन् ।  अनि फेरि जसै जे हुने होस् म युद्ध (क्रिया) गर्दिन भनेर स्थिर रहन्छन्  तब गोविन्दरूपको प्रकाश हुन्छ (गोविन्द= गो–विश्व समूह, पञ्चकोष समन्वित यो शरीर हो, विद् = जान्नु । जो विश्वको ज्ञाता, साक्षी, धाता हो उही पुरुष गोविन्द हो) अर्थात् साधक कूटस्थ ब्रम्हलाई विश्वकोषका सर्व साक्षी, धाता स्वरूपले देखेर उनैलाई ”सर्वस्व पुरुष” प्रत्यक्ष गर्दछन् । यस्तो हुँदामा नै अनासक्तिभाव उत्पन्न हुन्छ, तव साधकमा एकदम तुष्णीभाव –निस्तब्धता आउंछ । यस अवस्थामा इन्द्रिय समूह निष्क्रिय रहन्छ, मन चेष्टा शून्य भएर कुनै कुराको पनि अवलंबन नगर्नाले आफैं स्थिर रहन्छ । यो तूष्णीभाव गुडाकेश एवं परन्तप नभै कनै हुन सक्दैन । जसले निद्रालाई पनि निद्रित गर्न सकेको छ, जसले निद्रालाई सम्पूर्ण रूपले आप्mनो अधीनमा राखेर प्रयोजन अनुसार निद्रा भोगकालमा पनि माया चक्रद्वारा स्वप्नजालमा  पर्दैन अर्थात् जाग्रत स्वप्नमा जो सर्वदा आत्म चैतन्यमा रहन्छ त्यही नै गुडाकेश हो र जो आसनसिद्ध भएको छ अर्थात् शिरा प्रशिराका पथ कु्र वायुपित्त कफसंग आवद्ध रहनाले शुरू शुरूमा  आसन कालमा घुँडा कम्मर, पिठ्यूँ आदि स्थानमा पीडा भएर जुन विध्न उत्पन्न हुने गर्छ दृढ अभ्यासले त्यो सबै नष्ट गरेर अनायास स्थिरासनमा लामो समयसम्म जो रहन सक्दछ, कुनै प्रकारको कातरताको अनुभव गर्दैन, बरु आरामको अनुभव गर्दछ त्यही पुरूष परन्तप हो । त्यस्ता पुरूषको उद्यमलाई कुनै पनि प्राकृतिक सैन्यबलले भंग गर्न सक्दैन ।