माधव प्रधान : अनवरत सङ्घर्षशील सांस्कृतिक योद्धा

माधव प्रधान : अनवरत सङ्घर्षशील सांस्कृतिक योद्धा

आशिष पौडेल  |  अन्तर्मन्थन  |  जेठ ०८, २०७८

एउटा सामान्य पारिवारिक पृष्ठभूमिबाट आउनु भएको माधव प्रधानले प्रगतिशील सांस्कृतिक क्षेत्रमा जुन योगदान दिनुभएको छ त्यसको जति प्रशंसा गरे पनि कमै हुन्छ । 

आफ्नै गाँस, बासको खासै राम्रो जोहो नहुँदा नहुँदै पनि प्रगतिशील संस्कृतिको उन्नति तथा विकासमा उहाँको भोको पेट र निधारको पसिना कहिले पनि वाधक बनेन । बरु यसले सधैँ प्रेरणा मात्र दिइरह्यो । 

प्रगतिशील संस्कृति उत्थानका लागि जीवन समर्पण गर्नु भएका प्रधानको सङ्घर्षको सानो जीवन कथा हो यो आलेख ।  

पारिवारिक अवस्था

उहाँको हजुरबुवा चाहिँ किराना व्यापारी । तर, बुवा भने सामान्य जागिरे हुनुहुन्थ्यो । आर्थिक अवस्था त्यति सुदृढ होइन । ठिकै सामान्य परिवार हो उहाँको । 

जन्म र बाल्यकाल

उहाँको जन्म २०१४ सालमा ताप्लेजुङको फुङलिङमा भएको हो । उहाँको तीन दिदी बहिनी तथा तीन दाजुभाइ । 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा ताप्लेजुङको भानु माविमा भएको हो । स्कुलको दूरी उहाँको घरबाट दश मिनेटको पैदल दूरीमा थियो ।  स्कुलको डेस्क बेन्चहरू राम्रै थिए । कक्षामा झन्डै चालिसको हाराहारीमा विद्यार्थी हुन्थे । छात्राहरूको सङ्ख्या भने दश जना जति हुन्थ्यो । स्कुलको फि केही भए पनि तिरेकै हो भन्नुहुन्छ उहाँ । बस्नलाई भने उहाँको रोजाइमा फस्ट बेन्च नै पर्ने गर्थ्यो । 

सात कक्षादेखि नौ कक्षासम्म भने उहाँ काठमाडौँको वनस्थली विद्याश्रममा पढ्नु भएको हो । जो पछि सिद्धार्थ वनस्थली स्कुलको नामले चर्चित रह्यो । काठमाडौँ पढ्न थालेपछि भने उहाँको पढाई निकै राम्रो भयो । उहाँ फस्ट, सेकेन्ड हुन थाल्नु भयो । 

दश कक्षा भने उहाँले पुतलीसडकको पद्मोदय माविमा पढ्नु भयो । तर, फेरि बुवाको जागिर सरुवा भएका कारण बारा, कलैयाको त्रिचन्द्र माविमा समेत दश कक्षा पढ्नु भयो ।  तर, एसएलसी भने उहाँले २०३१ सालमा उही पुरानै भानु माविबाट दिनु भएको हो । उहाँको ब्याचमा एसएलसी दिने एक्काइस जना थिए । त्यसमध्ये तीन जना फेल भए । उहाँले फस्ट डिभिजनको अपेक्षा गर्नुभएको थियो, तर सेकेन्ड डिभिजन मात्र पास हुनु भयो । 

पहिलो पटक काठमाडौँ 

उहाँ सात कक्षा पढ्ने क्रममा पहिलो पटक काठमाडौँ आउनु भएको हो । धरानबाट विराटनगर बसमा । जसको भाडा उक्त समयमा केवल पचास पैसा मात्र थियो, उहाँ भन्नुहुन्छ । तर, विराटनगरबाट भने उहाँ प्लेनमा आउनुभएको हो काठमाडौँ । भाडा भने एक सय सत्तरी/असी हुनुपर्ने उहाँको अनुमान छ । 

फेरि उहाँको प्रश्न छ, वर्षको चार/पाँच करोड रुपैयाँ छुट्टाएर के कलाकारको संरक्षण हुन्छ ? उक्त रकम त तलब भत्तामा नै सकिन्छ । काम कसरी गर्ने ? उहाँको प्रश्न, जिज्ञासा अनि आक्रोश पनि एकैसाथ देख्न सकिन्छ । 

काठमाडौँ आएपछि उहाँलाई बुवाको साथीले भक्तपुरस्थित घरमा लैजानुभयो । अनि उहाँलाई भोलिपल्ट बुवाको अफिसमा लगियो । अफिस थियो नक्सालमा । 

प्रहरी प्रधान कार्यालयको आवा विभागमा अधिकृत हुनुहुन्थ्यो बुवा । कोठा भने क्षेत्रपाटीमा थियो । तीन/चार दिन बुवाको कोठामा बसेर उहाँलाई वनस्थली स्कुलमा लगेर बोडर्स गरियो । यस कारण पनि उहाँले खास काठमाडौँको अनुभव सँगाल्न पाउनु भएन उक्त समयमा । 

पहिलो जागिर 

एसएसलसीको नतिजा नआईकन नै उहाँले पढाउन सुरु गर्नुभयो । आफूले पहिले कखरा चिनेको र पछि एसएलसी दिएको भानु माविमा । उहाँको अङ्ग्रेजी तथा गणित एकदमै राम्रो थियो । त्यस कारण भानु माविको प्रधानाध्यापकले उहाँलाई पढाउन आग्रह गर्नुभयो । त्यसलाई स्वीकार गरेर उहाँ भानु माविको शिक्षक पनि हुनुभयो । मावि तहमा उहाँ अङ्ग्रेजी पढाउनु हुन्थ्यो,  भने निमावि तहमा भने गणित ।

उहाँको तलब त्यस बेला असी रुपैयाँ थियो । यो नै उहाँको जीवनको पहिलो कमाइ समेत थियो । असी रुपैयाँ मध्येमा उहाँले सत्तरी रुपैयाँ भने घरमा लगेर आमालाई दिनुभयो । बाँकी दश रुपैयाँ भने साथीभाइ माझ खर्चिनुभयो । आमा छोरो असी रुपैयाँ कमाउने भएछ भनेर एकदमै खुसी समेत हुनुभएको थियो । 

आइए अनि बिएको पढाई

उहाँ शिक्षकका रुपमा काम गर्दा नयाँ शिक्षाको लागि भनेर करिब दश महिना इलाममा तालिम लिने अवसर समेत पाउनु भएको थियो । उक्त समयमा उहाँले शिक्षा तर्फको आइएको प्राइभेट फर्म भर्नुभयो । उहाँ अङ्ग्रेजी तथा अरु कठिन विषयमा भने उर्तिण हुनुभयो । तर, नागरिक शास्त्र भन्ने विषयमा भने उहाँ फेल हुनुभयो । अनि 'ब्याक पेपर' दिएर पास हुनुभयो । उहाँको आइएमा भने राम्रो नम्बर आएको थियो ।

पछि उहाँले काठमाडौँ आएर त्रिचन्द्र कलेजमा अर्थशास्त्र विषयमा बिएमा 'ज्वाइन' गर्नुभयो र त्रिचन्द्र कलेजबाट नै बिए पास हुनुभयो । त्यस बेला उहाँका साथी भनेका चीनका पूर्व राजदूत टङ्क कार्की तथा मुकेश चालिसे हुनुहुन्थ्यो ।  पछि भने उहाँले कानुन विषयमा पनि स्नातक गर्नुभयो । अधिवक्ताको लाइसेन्स पनि निकालेको त हो तर, त्यतातिर भने उहाँ लाग्नु भएन । 

पछि त्रिविमा एमए पनि ज्वाइन गर्नुभयो । तर, यसै सिलसिलामा न्यू एरा भन्ने संस्थाको फिल्डका जागिर खान जानु परेकोले पढाइलाई निरन्तरता दिन सक्नुभएन । यसै बेला उहाँले देशको झन्डै पच्चीस जिल्ला भ्रमण गर्न पाउनु भयो । खासमा स्थायी जागिरेका रुपमा भने उहाँ कहिल्यै पनि रहनु भएन । तर, खाली पनि कहिले रहनु भएन । 

अलि पछि गएर भने उहाँले ग्रामीण विकास तथा समाजशास्त्रमा एमए गर्नुभयो । हाल भने उहाँ ग्रामीण विकास अन्तर्गतको एउटा विषयमा पिएचडी गर्दै हुनुहुन्छ । 

प्रगतिशील सांस्कृतिक समूह र केही काम 

उहाँको सानैदेखि गीत, सङ्गीत तथा सांस्कृतिक पक्षतिर झुकाव थियो । पछि त्रिचन्द्र क्याम्पसमा पढ्दा भने उहाँहरूले प्रगतिशील सांस्कृतिक समूह गठन गर्नुभयो । जसले गीत गाउने, सांस्कृतिक कार्यक्रम पनि गर्ने र कलाकार पनि उत्पादन गर्ने गर्थ्यो । जसमा ओम श्रेष्ठ, याम सुब्बा, पूर्ण कार्की, कुमार कार्की तथा सुनिल लगायतका साथीहरू थिए । 

पछि मोदनाथ प्रश्रित जेलबाट छुटेपछि जनसांस्कृति मञ्च गठन भयो । जसमा उहाँ केन्द्रीय सदस्यका रुपमा समेत हुनुहुन्थ्यो । उहाँको मुख्य काम भने नाच्ने, गाउने तथा कलाकारको टोली बनाएर विभिन्न जिल्ला तथा अन्य स्थानमा काम पर्दा सांस्कृतिक कार्यक्रम गर्ने नै थियो । 

पछि प्रश्रित स्थायी कमिटीको सदस्य भएपछि नेकपा एमालेको सांस्कृतिक विभाग अन्तर्गत उहाँलाई पनि समावेश गरियो । उहाँ यस क्रममा नेपाल टेलिभिजन सञ्चालक समितिको सदस्यमा मनोनीत हुनुभयो । उहाँले दुई कार्यकाल उक्त भूमिकामा काम गर्नुभयो । उक्त समयमा उहाँले नेपाल टेलिभिजनका छमछमी तथा प्रतिभाको खोजी जस्ता चर्चित कार्यक्रमहरूको संयोजन समेत गर्नुभएको थियो । 

उहाँको भूमिका नेपाल टेलिभिजनबाट प्रसारण हुने प्रगतिशील सबै कार्यक्रमहरूको संयोजनको जिम्मा उहाँको नै थियो । माओवादी जनयुद्धको समयमा भने उहाँले मेची–महाकाली अभियान अन्तर्गत शान्ति स्थापना कार्यक्रम समेत सञ्चालन गर्नुभएको थियो । जसको काम भनेको दुवै तर्फका सैनिकलाई निहत्था जनतामाथि बन्दुक नचलाउनुस् भन्ने आग्रहपूर्ण कार्यक्रमहरू हुने गथ्र्यो । 

२०७१ सालमा उहाँ नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यका रुपमा नियुक्त हुनुभयो । जसमा उहाँ सङ्गीत नृत्य विभागको प्रमुखको रुपमा काम गर्नुभयो करिब साँढे चार वर्षसम्म । उक्त अवधिमा प्रदेश नं १ को नृत्य, गीत तथा वाद्यवादनका कलाकारको बारेमा पुस्तक नै निकाल्नु पर्ने जिम्मा थियो जसमा बाह्र जिल्ला समावेश थिए । 

उहाँको नेतृत्वमा डबली भन्ने एउटा गीत, नृत्य तथा वाद्यवादनको कार्यक्रम पनि सञ्चालन भयो । उक्त कार्यक्रम भने फिल्डमा नै गएर गर्ने कार्यक्रम थियो । जस अन्तर्गत उहाँ भारत, चीन तथा  भुटानको पनि भ्रमण गर्नु भएको थियो । 

उहाँलाई पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञको रुपमा समय समयमा बोलाउने पनि गरेको समेत बताउनु हुन्छ । 

श्रृजना 

उहाँले रेडियो नेपालमा पच्चीस, तीस वटा गीत रेकर्ड गराइसक्नु भएको छ । गायिका सीमा पोखरेलले गाएको सिउँदोको सिन्दूर भन्ने गीतले उहाँलाई चर्चित बनाएको थियो । उहाँको अन्य धेरै गीत भने जेबी टुहुरेको एल्बममा उहाँकै स्वरमा रेकर्ड भएका छन् । 

विवाह 

उहाँको विवाह २०३८ सालमा भएको हो । मागी विवाह । उहाँका दुई सन्तान । दुवै छोरी । दुवै छोरीको विवाह भैसकेको छ । छोरीहरू आ-आफ्नै काममा व्यस्त हुनुहुन्छ । 

स्मृतिका कुरा

एक पटकको कुरा हो उहाँहरूले ताप्लेजुङमा कार्यक्रम गर्दा गाउनु भएको 'गाउँ गाउँबाट उठ....' भन्ने चर्चित गीत गाउँदा प्रहरीले समात्यो । तर, त्यही गीत काठमाडौँमा गाउँदा भने केही गरेन । अनि उहाँहरूले यस सम्बन्धमा त्यहाँको सिडिओसँग कुरा गर्नु भयो र यस सम्बन्धमा मुद्दा समेत पर्‍यो । के नेपाल भनेको काठमाडौँ मात्र हो भन्ने ?

अनि कार्यक्रम गर्न गएका बेला स्थानीय प्रशासनले दिने दुःख बाहेक पनि गुन्डाहरूले आक्रमण गर्ने, वाद्यवादन यन्त्र नै फुटाइदिने आदि पनि धेरै छन् । अर्को भनेको समूहमा राम्रो बोल्ने तथा राम्रो कलाकारलाई लामो समय थुन्ने आदि काम पनि भए । त्यसमा उहाँ स्वयं पनि धेरै पटक पर्नुभएको छ । 

त्यस्तै सांस्कृतिक कार्यक्रम गर्न जिल्लमा गएका बेला यहाँबाट गएका कलाकार र त्यहाँका स्थानीय कलाकार गरेर झन्डै चालीस, पचासको हाराहारीमा हुन्थे । अनि आयोजकले ती सबैलाई खाने, बस्ने व्यवस्था मिलाउन नसक्दा एक जनाको गाँस कटाएर तीन जनाले खानुपर्ने साथै एक जना मात्रै अटाउने ठाउँमा तीन जना अटाएर सुत्नुपर्ने बाध्यता पनि रहन्थ्यो । 

कार्यक्रममा जाँदा कुनै किसिमको आर्थिक उपार्जन हुँदैनथ्यो । कतैबाट केही आम्दानी भइहालेको खण्डमा त्यो सङ्गठनले नै राख्थ्यो र के मा खर्च गर्थ्यो त्यो केही थाहा हुँदैनथ्यो । 

उहाँका कुरा

लामो समय सांस्कृतिक आन्दोलनसँग रहेर उहाँले कलाकारलाई नजिकबाट चिन्ने मौका पाउनु भएको छ । र, कलाकारको संरक्षणमा समेत सक्रिय उहाँ कलाकारमा पछिल्लो समय अनुशासनको कमी रहेको गुनासो समेत गर्नुहुन्छ । साथै कलाकार मेहनत कम गर्ने तर, वाह वाही धेरै चाहिने महत्त्वाकाङ्क्षी रोगबाट ग्रसित भएको पनि उहाँको गुनासो छ ।  

तर, यो सँगै सँगै कलाको साधनामा जीवन अर्पिने कलाकारहरू पनि छन् । उनीहरूका लागि भने राज्यले नै केही गर्नुपर्ने उहाँको तर्क छ । यसमा सङ्गीत नाट्य प्रतिष्ठानले काम गर्छ भन्ने जवाफ उहाँले सरकारका तर्फबाट पाउने गर्नुभएको छ । तर, फेरि उहाँको प्रश्न छ, वर्षको चार/पाँच करोड रुपैयाँ छुट्टाएर के कलाकारको संरक्षण हुन्छ ? उक्त रकम त तलब भत्तामा नै सकिन्छ । काम कसरी गर्ने ? उहाँको प्रश्न, जिज्ञासा अनि आक्रोश पनि एकैसाथ देख्न सकिन्छ । 

साथै जुन क्रान्तिकारिता र परिवर्तनका लागि उहाँहरू भोक, तिर्खा र आफ्नो जिन्दगी नभनी लागिरहनु भयो २०६२/६३ को आन्दोलनसम्म तर, २०६२/६३ को आन्दोलन पछिको नेताको रवैया हेर्दा भने उहाँहरूले जुन त्याग तथा बलिदान गर्नुभयो त्यो भने खेर गएको भन्ने लाग्छ उहाँलाई । 

यस कारण पनि अब आउने नयाँ पुस्तालाई यसका बारेमा एक पटक पुनर्विचार गर्न पनि उहाँ सुझाउनुहुन्छ ।  यति धेरै गर्दा गर्दै पनि उहाँले हालसम्म प्राप्त गर्नुभएको भनेको हालै पारिजात स्मृति प्रतिष्ठानबाट हालै कला सम्मान पुरस्कार प्राप्त गर्नुभएको छ । यसबाहेकका राष्ट्रले दिने कुनै अन्य पुरस्कार उहाँले प्राप्त गर्नुभएको छैन ।