अन्ततः एमाले विभाजित ! नेपाल-खनाल विहीन पार्टी बनाउने अध्यक्ष ओलीको जाँगर !!

लोकसंवाद टिप्पणी

अन्ततः एमाले विभाजित ! नेपाल-खनाल विहीन पार्टी बनाउने अध्यक्ष ओलीको जाँगर !!

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ११, २०७८

२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीका दर्जनौं चिरामध्ये शान्तिपूर्ण राजनीतिक र बहुदलीय संसदीय प्रणाली स्वीकार गरेको नेकपा (एमाले) अन्ततः विभाजन हुने निश्चित भएको छ। संसदीय राजनीतिक प्रणालीभित्र वर्तमान समयमा नेकपा एमाले नै सांगठनिक रुपमा सबैभन्दा व्यवस्थित र बलियो पार्टीका रुपमा रहेको थियो । यो पार्टीमा आएको विभाजनसँगै नेपाली कम्युनिस्ट आन्दोलनमा २०२८ सालबाट विकास भएर राष्ट्रिय राजनीतिको केन्द्रमा आएको एउटा ठूलो शक्ति कमजोर बन्ने भएकाे छ । 

झापा विद्रोहबाट माले काल हुँदै तत्कालीन नेकपा माक्र्सवादीसँग एकता गरेर एमाले बनेको यो पार्टीको जीवनमा सबैभन्दा लामो समय नेतृत्व गरेका माधवकुमार नेपाल र झलनाथ खनाल नै अन्ततः त्यो पार्टीबाट कारबाहीमा परेर साधरण सदस्यबाट निश्काषन गरेपछि पार्टी विभाजनमा पुगेको हो । यो पार्टीलाई पञ्चायतकालको कठिन क्षणदेखि नै झलनाथ खनालले नेतृत्व गरेका थिए । २०६४ सालको संविधानसभाको निर्वाचनमा एमालेले देशव्यापी रुपमा हार भोगेपछि माधवकुमार नेपालले लगातार १५ वर्षपछि नेतृत्वबाट नैतिक रुपमा जिम्मेवारी लिँदै राजीनामा दिएपछि पुनः पार्टीको नेतृत्वमा आउन सकेका थिएनन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले २०५० सालमा तत्कालीन महासचिव मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्यु भएपछि पार्टीभित्र देखा परेको संकटपूर्ण अवस्थामा नेतृत्व सम्हालेका व्यक्ति हुन ।  उनले त्यसपछि लगातार १५ वर्षसम्म एमालेलाई नेतृत्व गर्दा मध्यावधि निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेर मनमोहन अधिकारीको नेतृत्वको पहिलो र लोकप्रिय कम्युनिस्ट पार्टीकाे सरकार बन्न सफल भएकाे थियाे । 

२०६५ मा पार्टी नेतृत्वमा पुनः आएका झलनाख खनालको नेतृत्वमा एमाले २०७० सालको संविधानसभाको निर्वाचनमा दोस्रो ठूलो पार्टी बन्यो र अहिले देशकै ठूलो पार्टीको रुपमा स्थापित हुने जग त्यसबेला नै बनेको हो । एमालेको अहिलेको धारालाई सांगठिक, राजनीतिक वैचारिक र सैद्धान्तिक हिसाबले यो अवस्थासम्म ल्याउन सबैभन्दा बढी लगानी रहेका नेता माधव नेपाल–झलनाथ खनाल र भीम रावलहरु नै हुन् । लामो समयदेखि एमालेको गुटगत राजनीति र सत्ता स्वार्थले अन्ततः पार्टीलाई विभाजित बनाइदिएको छ । 

पार्टी विभाजनको दिशामा गइरहेका बेला २७ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन जाँदा नेपाल समूह संसदमा अनुपस्थित भयो । त्यसपछि ओलीले पार्टीमा संवादको सुरु गरेका थिए । ३० वैशाखमा ओली र नेता नेपालबीच छलफलबाट एकताको प्रक्रिया सुरु गर्न कार्यदल बने पनि कार्यदलले काम नगर्दै पार्टी विभाजनको दिशामा गएको हो  ।

नेपालको कम्युनिस्ट आन्दोलनको ७२ वर्ष लामो इतिहासमा दर्जनौपटक फुट र एकता भएको छ । यही बिचमा २०२८ सालमा फेरि कम्युनिस्ट आन्दोलनमा नयाँ ढंगले समीक्षा गर्ने र पार्टीलाई अघि बढाउने प्रक्रिया सुरु भएकाे थियो । यसै क्रममा मोहनचन्द्र अधिकारी, सीपी मैनाली, मदन भण्डारी माधवकुमार नेपाल, झलनाथ खनालहरुले एउटा धारालाई अघि बढाए भने मोहन विक्रम सिंह, मोहन वैद्य, प्रचण्डलगायतका नेताहरुले अर्को धारलाई विकसित गर्दै लगे । कम्युनिस्ट पार्टी विभाजित बनेर यति टुक्राटुक्रा भएको थियो कि साना कम्युनिस्ट पार्टीहरु एक भएर नेकपा (एकता केन्द्र) बन्दा १० जना त महासचिवहरु नै एक ठाउँमा जम्मा भएका थिए । त्यस समयदेखि मोहनचन्द्र अधिकारीहरुले अघि बढाएको एमालेको धारा र मोहनविक्रम–मोहन वैद्यहरुले अघि बढाएको मसालको राजनीतिक धारा नै आजको कम्युनिस्ट आन्दोलनमा शक्तिशाली धाराका  रुपमा स्थापित रहेका थिए ।

कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउने क्रममा यी दुई धाराबीच नै एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्दा चीन र भियतनामपछि सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बनेको थियो । तर त्यसको तीन वर्षमा नै नेकपा अस्तित्वहीन बन्न पुग्यो भने बलियो सांगठनिक संरचना रहेको नेकपा एमाले पनि अन्ततः विभाजित हुन पुग्याे । २०७५ जेठ ३ गते एकता भएको छोटो समयदेखि नै आन्तरिक खटपट हुँदै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको गलत कार्यशैलीको सिकार कम्युनिस्ट पार्टी बनेको छ र कम्युनिस्ट आन्दोलनले धक्का खान पुगेको  रुपमा लिएकाे छ । पार्टीभित्रको सत्ता र सरकारको नेतृत्वको सत्ता दुवैमा ओली एकल रुपमा हाबी हुँदै पार्टी र सरकारमा स्वेच्छाचारिताबाट सुरु भएको विवादले अन्ततः एक भएका कम्युनिस्ट पार्टीलाई तीन तिर पुर्‍याइदिएको छ । 

तत्कालीन नेकपा रहेकै समयमा एकीकरणपूर्वका एमाले र माओवादी केन्द्रमा विभाजन आएको थियो । माओवादी केन्द्रका केही नेताहरु ओलीको कित्तामा उभिए पनि एमालेको आधा कित्ता प्रचण्डको कित्तामा उभिएका थिए । तर २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्रक रुपमा विभाजित गरिदिएपछि माधव नेपालसहितका नेताहरु एमालेमा फर्किएका थिए । तर ओलीले नेपाल समूहलाई पूर्णतः बाइपास गर्दै गतिविधि अघि बढाएपछि एमाले विभाजनको दिशामा अघि बढेको थियो ।

यसबिचमा ओलीले पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएर आफू र महासचिवलाई मात्रै राखे भने विधान संशोधन एकल रुपमा गरेर माओवादीका २३ नेतालाई केन्द्रीय समितिमा राखे । उनी त्यतिमा मात्रै रोकिएनन् र नेपाल पक्षका नेताहरुलाई एकपछि अर्को गर्दै जिम्मेवारीबिहीन बनाउँदै लगे । नेपाल–खनाल समूहले पार्टी सर्वोच्च अदालतको फैसलाअनुुसार २ जेठ, २०७५ को अवस्थाबाट सञ्चालन गर्न गरेको आग्रहलाई ओलीले सुन्ने जाँगर देखाएनन् । माधव नेपाल–झलनाथ खनाल बिहिन एमाले बनाउन नेपाल-खनाल भन्दा पार्टी अध्यक्ष बढी नै जिम्मेवार रहेको तथ्यले पुष्टि गर्दै लगेको छ । 

पार्टी विभाजनको दिशामा गइरहेका बेला २७ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन जाँदा नेपाल समूह संसदमा अनुपस्थित भयो । त्यसपछि ओलीले पार्टीमा संवादको सुरु गरेका थिए । ३० वैशाखमा ओली र नेता नेपालबीच छलफलबाट एकताको प्रक्रिया सुरु गर्न कार्यदल बने पनि कार्यदलले काम नगर्दै पार्टी विभाजनको दिशामा गएको हो  ।

खासगरी बाग्मती प्रदेशको ६ जेठमा भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाल पक्षका उम्मेदवारको जित र ओली पक्षका उम्मेदवार बनेका बादलको हारका साथै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल समूहका सांसदको हस्ताक्षरले एमाले एक नरहने अवस्थामा पुगेको हो । ओली नीति, विधि र पद्धतिमा अघि बढ्न नचाहने र नेपाल समूह ओलीले विधि मिचेर गरेका निर्णयबाट पछि हट्नुपर्ने विषय नै दुई समूहको प्रतिष्ठाको विषय बनेको थियो । 

ओली र नेपाल समूहको चर्काचर्कीकै बिच नेपाल पक्षका २६ सांसदले ७ जेठमा संविधानको धारा ७६ (५) बमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे । जसमध्ये ८ जेठमा ११ जनालाई स्पष्टीकरण सोधिएको थियो । नेपाल पक्षका नेताले स्पष्टीकरणको जवाफको सट्टा सोमबार देउवाको पक्षमा उभिदै संसद पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट हालेपछि बसेको ओली पक्षको स्थायी कमिटी बैठकले नेपाल, खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्काशित गरेपछि एमाले अब औपचारिक रुपमा विभाजनतिर गएको हो । बाँकी १२ जनालाई स्पष्टीकरण साेधिएकाे छ  ।  नेपाल पक्षीय नेताहरुले ओली कम्युनिस्ट आन्दोलनका गद्दार भएकाले उनको कारबाहीले केही फरक नगर्ने भन्दै अब पर्याप्त छलफल गरेर नयाँ पार्टी गठन गर्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन् । पार्टी विभाजनले तत्काललाई दुवै समूहका स्वार्थसिद्ध हुने भएपनि यो राजनीतिक र कम्युनिस्ट आन्दोलनमा ठूलो धक्काका रुपमा रहनेछ ।