लोकसंवाद संवाददाता | समाचार | जेठ ११, २०७८
काठमाडौं । कपिलवस्तुका नेकपा (माओवादी केन्द्र)का नेता दीपक पाण्डेको निधन भएको छ । गोली प्रहारबाट गम्भीर घाइते भई उपचाररत पाण्डेको सोमबार राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।
गत बुधबार राति पाण्डे र भारतीय नागरिक ईयाज अख्तरमाथि तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार गरेका थिए । पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको थियो भने भारतीय युवालाई एक गोली लागेको थियो ।
सुरुमा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार गरिएको पाण्डेको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हेलिकप्टरबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । तर, अस्पताल ल्याइएको एक घण्टामा नै सोमबार राति पाण्डेको ज्यान गएको हो ।
उनीहरुमाथि आक्रमण गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली छन् । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सभा सदस्य सहसराम यादवका स्वकीय सचिवसमेत रहेका ओमप्रकाशले व्यक्तिगत रिसइबीका कारण गोली प्रहारको योजना बनाएको स्विकारीसकेको प्रहरीले जनाएको छ ।