लोकसंवाद संवाददाता | समाचार | जेठ ११, २०७८
काठमाडौं । सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी जानकारी दिए । अब शर्माले सीसीएमसीको प्रमुखका साथै प्रधानमन्त्री नेतृत्वको कोभिड निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी पनि सम्हाल्नेछन् ।
शर्मासँग नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमान्डरको समेत भूमिका निर्वाह गरिसकेको अनुभव छ । यसअघि सरकारले शर्माको नेतृत्वमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी)को निर्माण कार्य अघि बढाएको थियो ।
यसअघि सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । उपप्रधानमन्त्री पोखरेल अब प्रधानमन्त्री मातहतको निर्देशक समितिको सदस्य मात्र रहने छन् ।