लोकसंवाद संवाददाता | समाचार | जेठ ११, २०७८
काठमाडौं । दोस्रो लहरको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा फेरि निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीका अनुसार स्थिति अझै भयावह नै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याउनुपर्ने देखिएको हो । अबको एक साता प्रभावकारी रुपमा निषेधाज्ञा गर्दा कोरोना महामारीको चेन ब्रेक हुन सक्ने उनको भनाई छ ।
त्यसैको लागि मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । बैठकमा निषेधाज्ञा थपसहित सरकारले जारी गरेको अध्यादेश, स्वास्थ्यका मापदण्ड पालनामा भइरहेको प्रयास र थप कडाइ, अस्पतालमा अक्सिजन व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा थपिएको निषेधाज्ञा जेठ १३ गते राति १२ बजे सकिँदैछ । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दै २९ गतेसम्मका लागि थपिएको थियो ।