पानीमा समेत कोरोना भाइरस भेटियो, मानव स्वास्थ्यमा थप चुनौति

पानीमा समेत कोरोना भाइरस भेटियो, मानव स्वास्थ्यमा थप चुनौति

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ १२, २०७८

काठमाडौं । भारतमा पानीमा पनि कोरोनाको भाइरस पाइएको छ । उत्तर प्रदेशमा गंगा र यमुना नदी र लखनाउमा ढलको पानीमा कोरोनाको भाइरसको अवशेष पाइएको दैनिक भास्करको समाचारमा जनाइएको छ । भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले देशभरका विभिन्न राज्यबाट संकलित पानीको अध्ययन गरिरहेको छ ।

अध्ययन टोलीका प्रमुख डा उज्ज्वला घोषालका अनुसार लखनऊबाट संकलित पानीको नमूनामा कोरोना भाइरस पुष्टि भएको छ । यस्तै मुम्बईको ढलको पानीमा समेत कोरोना भाइरस पाइएको छ ।टोलीले अरु शहरबाट संकलित पानीमा पनि अध्ययन गरिरहेको जनाएको छ । अध्ययन टोलीले तयार पारेको रिपोर्ट केन्द्रीय सरकारलाई पठाएको छ । केही दिनमै सरकारले यसबारेमा औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

ढलको पानीमा कोरोना भाइरस पुष्टि हुनुमा संक्रमितको दिसा प्रमुख कारण हुनसक्ने विज्ञहरुको अनुमान छ । धेरै देशमा गरिएको अध्ययनले ५० प्रतिशत संक्रमितको दिशामा कोरोना भाइरस पुग्ने गरेको पुष्टि गरेको थियो । शहरका ढलका पानीमा भाइरस पुष्टि भए पनि त्यो फैलिन्छ कि फैलिदैन भन्ने भने अध्ययनकै क्रममा रहेको डा उज्ज्वलाले बताइन् । अब हामी यसैबारे गम्भीर अध्ययन गर्दैछौं ।