लोकसंवाद संवाददाता | समाचार | जेठ १२, २०७८
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी नै प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध सङ्घर्षमा उत्रिनुको विकल्प नरहेको बताउनुभएको छ ।
आज २५६५ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्न आह्वान गर्नुभएको छ ।
बृहद् जनसमुदायको भावना र आकाङ्क्षा विपरीत सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औँ शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउन नसक्ने भन्दै उहाँले द्वन्द्व र अहंकारले मानिसमा विनाश निम्त्याउने बताउनुभएको छ ।
गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि प¥याउनुभएको योगदान नेपालीहरुका लागि गर्वको विषय रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले विश्व शान्ति र मानव कल्याणका निम्ति बुद्धका उपदेश आज पनि उत्तिकै शाश्वत रहेको बताउनुभएको छ ।
अध्यक्ष दाहालले आजकै दिन परेको किराँत राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
कोरोना भाइरसको महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न पनि उहाँले आग्रह गर्नुभएको छ ।