लोकसंवाद संवाददाता | स्वास्थ्य | जेठ २०, २०७८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर सहयोग गरेको छ ।
नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा मनोजमान श्रेष्ठलाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको हो । यसअघि यही जेठ ८ गते महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएको ल्हासाबाट प्राप्त भएका दुई थान भेन्टिलेटर पनि उक्त अस्पताललाई दिएको थियो ।
हाल यस अस्पतालमा कामपाको सहयोगमा ३५ शय्याको विशेष कोभिड अस्पताल सञ्चालन भइसकेको छ । आज हस्तान्तरण गरिएका भेन्टिलेटर महानगरपालिकाले खरिद गरेको हो । उपकरणको मूल्य प्रतिगोटा २६ लाख ५० हजार रहेको बताइएको छ । उपकरण हस्तान्तरणपछि प्रमुख शाक्यले जसरी हुन्छ, सङ्क्रमण घटाउने र उपचार गर्नुपर्ने व्यक्तिलाई गुणस्तरीय सेवा दिने महानगरपालिका केन्द्रित रहेको बताउनुभयो ।
अरनिको समाजले आजै अस्पताललाई एक थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने सामान तथा उपकरण प्रदान गरेको छ । यसमध्ये एनेस्थेसियाको मूल्य २६ लाख ५० हजार हो ।