लोकसंवाद संवाददाता | समाचार | जेठ २१, २०७८
नेपाल यतिबेला कोरोना भाइरसको महामारीको दोस्रो लहरसँग जुझिरहेको छ। कोरोना महामारीको सामना गरिरहेको समयमा बिहीबार बेलायतका डेली मेल पत्रिकामा ‘कोरोनाको नेपाल भेरियन्ट हाम्रो विदाका लागि चुनौतिपूर्ण’ शीर्षकमा समाचार छापियो ।
कोरोना भाइरसका विभिन्न भेरियन्टले विश्वमा तहल्का मच्चाइरहेका बेला बेलायती पत्रिकाले नेपाल भेरियन्ट फेला परेको दाबी गरेपछि त्यसले नयाँ तरंग पैदा गरिदियो ।
सो समाचारमा नेपालबाट सुरु भएको ठानिएको नयाँ प्रकार युरोपमा पनि फैलिसकेको र तिनमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशंका रहेको दाबी गरिएको छ । नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको समाचारले स्वास्थ्य अधिकारीहरुलाई समेत आश्चर्यमा परे । त्यसलगत्तै विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले नेपालमा नयाँ भेरियन्ट फेला परेको विषयमा कुनै जानकारी नभएको बतायो । डब्लुएचओ नेपालले ट्विटमार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७) डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।’
कुन देशको भेरियन्ट कुन ?
हालैमात्र विश्व स्वास्थय संगठनले कोरोना भाइरसका नयाँ भेरियन्टहरुको नामाकरण गरेको छ । डब्लुएचओले ग्रीक अल्फाबेटका आधारमा संसारमा भेटिएका भेरियन्टको नयाँ नाम दिएको हो। भारतमा पहिलोपटक भेटिएको भाइरस बी.१.६१७.२ भेरियन्टलाई डेल्टा र अर्को भेरियन्ट बी.१.६१७.१ लाई कप्पा नाम दिइएको छ। सन् २०२० सेप्टेम्बरमा ब्रिटेनमा सबैभन्दा पहिले भेटिएको कोरोना भाइरसको बी १.१.७ भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको बी.१.३५१ लाई बीटा, नोभेम्बर २०२० मा दक्षिण अफ्रिकामा भेटिएको पी.१ भेरियन्टलाई गामा, मार्च २०२० मा अमेरिकामा भेटिएको भेरियन्ट बी.१.४२७/बी.१.४२९ लाई एपलिसन, अप्रिल २०२० मा ब्राजिलमा भेटिएको पी.२ भेरियन्टलाई जीटा, बी.१.५२५ भेरियन्टलाई इटा, फिलिपिन्समा भेटिएको पी.३ भेरियन्टलाई थीटा र २०२० नोभेम्बरमा अमेरिकामा पाइएको बी.१.५२६ भेरियन्टलाई लोटा नाम दिइएको छ । भारतमा सबैभन्दा बढी संक्रमण फैलाउन डेल्टा अर्थात बी.१.६१७.२ भाइरस जिम्मेवार रहेको ठानिएको छ ।
नेपालमा भेटिएको भेरियन्ट कुन हो ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भेरियन्ट अफ कन्सर्नभित्र राखेका र विभिन्न देशमा फैलिएका भेरियन्टलाई अल्फा, डेल्टा, गामा, कप्पा नाम राखेको छ । नेपालमा फैलिएको कोभिड–१९ भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो । यो भाइरस पहिलो पटक भारतमा फेला परेको थियो । यही भेरियन्टलाई विभिन्न देशमा भारतीय भेरियन्ट भनेपछि भारतले आपत्ति जनाएपछि यसको नाम डेल्टा राखिएको हो । यसबाहेक नेपालमा अल्फा (बी.१.१.७), र कप्पा (बी.१.६१७.१) भाइरस पनि फेला परेको छ ।
ब्रिटिश पत्रिकामा नेपालमा नयाँ भेरियन्टको दाबी आएपछि स्वास्थ्य मन्त्रालयले त्यसबारे बेलायतका नियामक निकायलाई जानकारी माग्दै इमेल गरेको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा यूकेमा देखिएको अल्फा भेरिअन्ट र भारतमा देखिएका डेल्टा तथा कप्पा भेरिअन्ट पुष्टि गरेको छ । दोस्रो लहरका क्रममा उच्च संक्रमण दर देखिनुको कारण डेल्टा भेरियन्टलाई मानिएको छ ।
कुनै पनि देशमा नयाँ भेरियन्ट देखिएको पुष्टि हुन पर्याप्त वैज्ञानिक आधार हुनुपर्ने भाइरस विज्ञको दाबी छ। नयाँ भेरियन्ट पुष्टि गर्नका लागि जीन सिक्वन्सिङ गरेर त्यसको नतिजा आउनुपर्छ । जुन नतिजा अरुभन्दा फरक हुन आवश्यक छ ।
नेपालले भारतस्थित प्रयोगशालामा गराएको जीन सीक्वन्सिङको जेठ ४ गते आएको नतिजामा भारतमा देखिएका डेल्टा तथा कप्पा भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार जीन सीक्वन्सिङका लागि २४८ वटा नमुना संकलत गरिएको छ। जसलाई प्रयोगशालामा परीक्षण नै नगरिएको अवस्थामा नयाँ भेरियन्टको दाबी गलत भएको स्वास्थ्य मन्त्रालयले धारणा सार्वजनिक गरिसकेको छ ।