बागमती प्रदेशमा ८६ प्रतिशतलाई निको कोरोना

बागमती प्रदेशमा ८६ प्रतिशतलाई निको कोरोना
ढुसी काेराेन

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २१, २०७८

काठमाडौं । बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकामध्ये करिव ८६ प्रतिशत निको भएका छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये करिव ८६ प्रतिशत अर्थात २ लाख ५७ हजार ९ सय ३२ जना निको भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ । प्रदेशभर हालसम्ममा कुल १८ लाख २९ हजार ७ सय ५२ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ३ लाख २ सय ९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
 
त्यस्तै बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण निको भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका प्रवक्ता डा.पुरुषोतम सेढाईले बताए ।

उनका अनुसार, सोही अवधिमा प्रदेशभर ७ हजार ९ सय ६४ जनाको कोरोना परिक्षण गर्दा २ हजार ८ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो ।बागमती प्रदेशका १३ जिल्लामा कुल संक्रमितको १३।२९ प्रतिशत अर्थात् ३९ हजार ८ सय ९७ जना संक्रमित सक्रिय रहेका उनले बताए । सक्रिय संक्रमित मध्ये ३६ हजार ६ सय ७४ जना होम आइसोलेशनमा बस्दै आएका छन् ।

अन्य संक्रमितहरु प्रदेशका विभिन्न अस्पतालहरुले संचालन गरेको भेन्टिलेटरमा २ सय ५९ जना, आईसीयूमा ६ सय ४२ जना, एचडीयूमा १ हजार ४ सय १७ जना, अस्पतालको बेडमा ७ सय ९८ जना र ७१ जना संस्थागत आइसोलेशनमा उपचाररत रहेका छन् ।

बागमतीमा मृत्युदर ०.८२ प्रतिशत
बागमती प्रदेशमा कोरोना संक्रमणका कारण कुल संक्रमितमध्ये ०।८२  प्रतिशत अर्थात् २ हजार ४ सय ५६ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा मात्रै २१ जनाको मृत्यु भएको प्रवक्ता डा. सेढाईले बताउनुभयो ।

मृत्यु हुनेमा प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा ३ जना महिला र ४ जना पुरुष गरी ७ जनाको मृत्यु भएको उहाँले  बताउनुभयो ।  त्यस्तै ललितपुरमा ५ जना, धादिङमा २ जना, भक्तपुर, नुवाकोट, काभ्रे, रसुवा, सिन्धुली, दोलखा र चितवनमा १÷१ जनाको संक्रमणको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा एक जना १८ वर्षका किशोरसहित ९० वर्ष उमेर समुहका व्यक्तिहरु रहेका छन् ।