आशिष पौडेल | अन्तर्मन्थन | जेठ २१, २०७८
इतिहास विषयको स्नातकोत्तरमा नेपाल प्रथम हुनुभएका राजकुमार पोखरेल कुनै विशिष्ट र उच्च सम्मानित परिवारबाट आउनु भएको व्यक्ति होइन । सेवा आयोगको परीक्षामा कहिले पनि असफलताको मुख देख्नु नपरेको उहाँ लेक्चरर हुँदै विभागीय प्रमुखदेखि सहायक डिनसम्म भइसक्नु भएको छ ।
एउटा सामान्य अस्थायी जागिरे तथा स्थायी किसानको छोरोले आफ्नै लगन, मेहनत र सङ्घर्षले प्राप्त गरेको यो सफलता साँच्चै लोभलाग्दो छ । सफलता केवल परिणाममा मात्र देख्ने तर, त्यसको पछाडिको. मेहनत, लगन, सङ्घर्ष र अन्तर्द्वन्द्व नदेख्नेका लागि पनि यो आलेख एउटा प्रेरणादायी कथा हुनसक्छ ।
पारिवारिक अवस्था
उहाँको परिवार सामान्य खेतीपातीबाट गुजारा चलाउने किसान परिवार हो । हुनत् बुवालाई जागिरे भन्दा पनि मिल्छ । तर, बुवा कहिल्यै पनि स्थायी जागिरे रहनु भएन उहाँको । पछिल्लो समय उहाँको बुवा गाउँ पञ्चायतको सचिव हुनुहुन्थ्यो । त्यो पनि अस्थायी नै । अनि पछि उहाँ गाउँ पञ्चायतको उपप्रधान पञ्च पनि बन्नुभयो । तर, मूल पेसा भने किसानी नै रह्यो । यस कारण पनि उहाँ आफ्नो परिवारलाई किसानको परिवार भन्न मन पराउनु हुन्छ ।
जन्म र बाल्यकाल
उहाँको जन्म २०१६ सालमा धनकुटामा भएको हो । उहाँको तीन दाजुभाइ अनि पाँच दिदी बहिनी । उहाँको बुवा पछि बसाइ सराइ गरेर झापा आए पनि उहाँ भने धनकुटामा हजुरआमासँगै बस्नु भएको हो । एक प्रकारले भन्दा पालन पोषण हजुर आमाले नै गर्नुभएको हो ।
प्रारम्भिक शिक्षा
उहाँको कखरा भने हजुरआमाबाट नै भएको हो । हजुरआमा सामान्य अक्षर चिन्नेसम्म हुनुहुन्थ्यो । हजुरआमाले एउटा किताब ल्याउनु भएको थियो । शायद वर्णमालाको होला । त्यही हेरेर उहाँले लेख्न सिक्नु भएको हो ।
स्कुले शिक्षाको प्रारम्भ भने उहाँको सरस्वती प्राविबाट भएको हो । त्यसबेला डेस्क बेन्चको भर्खर शुरुवात भएको थियो । शिक्षकहरू पनि आफ्नै टोलका थिए । सरस्वती प्राविको त्यस बेलाको प्रधानाध्यापक भनेको दुर्गा पोखरेल हुनुहुन्थ्यो । उहाँ पछि मन्त्री पनि हुनुभयो । उहाँले नै एबिसिडी पढाउनु भएको हो ।
एउटा कक्षामा झन्डै दश जना जति विद्यार्थी हुन्थे । छात्राहरू भने झन्डै एक तिहाई हुन्थे । उहाँ भने अलि सानो भएको हुनाले फस्ट बेन्चमा नै हुन्थ्यो । शुल्क भनेर खासै शुल्क तिर्नुपरेन । तर, कहिलेकाहीँ यसो स्कुल चलाउन गाह्रो पर्दा घरबाट केही सहयोग गर्ने कुरा बेग्लै रह्यो उहाँ भन्नुहुन्छ ।
निमावि र मावि
उहाँ एक वर्ष भने झापाको चकचकेस्थित फूलबारी निमाविमा पढ्नु भयो छ कक्षा । फेरि फर्केर आफ्नै थातथलो खोज्दै पुग्नुभयो धनकुटा । अनि धनकुटाको गोकुण्डेश्वर माविमा त्यसपछिका पढाइ सुचारु गर्नुभयो अर्थात् सात कक्षादेखि दश कक्षासम्म ।
त्यसबेला गोकुण्डेश्वरमा छात्र र छात्राको छुट्टै विद्यालय थियो । उहाँ सात र आठ कक्षा भने छात्रहरू मात्रै पढ्ने विद्यालयमा पढ्नु भयो । २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि स्कुल पनि सहशिक्षाको रुपमा गयो । अनि नौ र दश भने उहाँले सहशिक्षाको रुपमा पढ्नु भयो । कक्षामा झन्डै पचास जना जति विद्यार्थी हुन्थे । छात्राको सहभागिता झन्डै एक तिहाइ ।
उहाँले २०३१ सालमा एसएलसी दिनु भएको हो । त्यसबेला झन्डै सत्तरी जनाले एसएलसी दिएका थिए । झन्डै पचास जना एसएलसी पास भएका थिए । उहाँको भने सेकेन्ड डिभिजन आयो ।
एसएलसी पछि
एसएलसी पछि उहाँको पढाई नियमित भएन । उहाँ पहिले घरेलु अन्तर्गत इलेक्ट्रिसियनको तालिममा जानुभयो । जसबाट उहाँले एक सय पचास कमाउनु भयो । त्यसपछि उहाँले एउटा अफिसमा मुखियाको जागिर पनि खानुभयो झन्डै पाँच महिना । तलब थियो एक सय पैँसट्ठी रुपैयाँ । यो नै उहाँको आधिकारिक पहिलो तलब अर्थत् कमाइ । पहिलो तलब घर खर्चमै सकियो उहाँ भन्नुहुन्छ ।
एउटा विषय थियो युरोपियन हिस्ट्री, जसलाई अहिले इन्टरनेशनल हिस्ट्री पनि भनिन्छ । उहाँले तीन महिनाको बिचमा त्यसको कोर्स सबै सिद्ध्याउनु भयो । तीन महिना पछि कक्षा सञ्चालन भयो । तर, सरले विषय त्यति राम्रो पर्गेल्न सक्नुभएन । उहाँको कारणले झन्डै डेढ महिना अलमल नै भयो ।
यसपछि उहाँको यात्रा शिक्षण पेसा तर्फ मोडियो । उहाँ धनकुटाकै बेलहाराको बाल कल्याण प्राविमा पढाउन थाल्नु भयो । तलब थियो दुई सय पच्चीस । झन्डै दुई वर्ष काम गर्नुभयो उक्त प्राविमा । परिवेशम नमिलेका कारण क्याम्पस भर्ना गरिएन, उहाँ भन्नुहुन्छ । अनि २०३४ सालमा झापामा आएर उहाँ क्याम्पस भर्ना हुनुभयो । झापाको मेची क्याम्पसमा ।
२०३६ सालको आन्दोलनले पढाइ केही धकेलियो । उहाँले २०३७ सालमा मात्र आइए सकाउनु भयो । अनि २०४० मा बिए । मानविकी तर्फको ।
पहिलो काठमाडौँ यात्रा
उहाँको पहिलो काठमाडौँ यात्रा २०३८ सालमा भएको हो । विद्यार्थी राजनीतिको दौरान भएको थियो त्यो यात्रा पनि । उहाँ त्यसबेला मेची क्याम्पसमा अखिलका तर्फबाट हर्ताकर्ता जस्तै हुनुहुन्थ्यो । अनि अनेरास्ववियुको छैठौँ महाधिवेशनका लागि भनेर गाडी रिजर्भ गरेर नेतृत्व गरेर काठमाडौँ आउनु भएको थियो ।
काठमाडौँमा पहिलो पटक उहाँ उत्रेको भनेको पुरानो बसपार्कमा हो । काठमाडौँ केही घुम्नु पनि भयो त्यसबेला । एक प्रकारको रमाइलो पनि लागेको थियो काठमाडौँमा। तर, काठमाडौँ पुलिसको दमन थियो । उहाँ राजनीतिक उद्देश्यका लागि आएको । ढिला भएका कारण होटल पाइएन । त्यसबेला आठ बजे होटेल सबै बन्दै हुन्थे ।
अनि काठमाडौँ कहाँ बस्ने समस्या पर्यो । अनि पुरानो बसपार्कको आडैमा एउटा घरको ट्वाइलेटमा रातभरि बसेको बताउनुहुन्छ उहाँ । उहाँहरू पाँच जना हुनुहुन्थ्यो । अरु भन्दा पनि राति कोही ट्वाइलेट आयो भने के गर्ने भन्ने समस्या पर्यो । अझ त्यसमाथि महिला आइन भने अर्को समस्या हुन्छ भन्ने लाग्दै थियो ।
तर, चार बजे एक जना पुरुष आए । बत्ती बालेपछि रातभरि नसुतेका आँखा देखिएन । अनि हामी फलानो ठाउँमा आएको, फटाहाहरूले छेकेर जान दिएनन् भनेर ती पुरुषलाई बताउनु भयो । र, त्यहाँबाट आफ्नो गन्तव्य तर्फ लाग्नुभयो फेरि ।
फेरि काठमाडौँ
काठमाण्डौँ ले उहाँलाई सजिलै छोडेन । बिएको जाँच सकेपछि उहाँ फेरि काठमाडौँ हानिनु भयो । ललितपुरको सुनाकोठीमा एउटा बोर्डिङ स्कुलमा पढाउनु भयो झन्डै आठ महिना । त्यसपछि भने धनकुटा गएर फेरि शिक्षण कर्मलाई नै निरन्तरता दिनुभयो ।
झन्डै तीन वर्ष धनकुटाको हाइस्कूलमा पढाए पछि उहाँ फेरि २०४४ सालमा एमए गर्नका लागि फेरि काठमाडौँ आउनु भयो । त्रिभुवन विश्वविद्यालयमा भर्ना गर्नुभयो । २०४६ मा सकिनु पर्ने पढाइ ०४६ को आन्दोलनले केही पुनः पछाडि धकेलिदियो ।
उक्त समयमा भने उहाँको राजनीतिक सक्रियता अलि कम भयो । त्यसले पढ्ने समय प्रशस्त मिल्यो । उहाँ पढ्नमा रुचि पनि राख्ने मानिस । उहाँले त्यसबेला त्रिविमा टप नै गर्नुभयो । इतिहास विषयमा । तर, त्यसपछि भने उहाँको लामो समय झापाको मेची क्याम्पसमा प्राध्यापनमा बित्यो । झन्डै सत्र वर्ष उहाँले मेची क्याम्पसमा पढाउनु भयो ।
उहाँ लामो समय लेक्चरर रहनु भयो । त्यसबेला पाँच जनाको कोटामा पचहत्तर जनाको आवेदन परेको थियो । तर, उहाँले त्रिविको सेवा आयोगमा असफलताको मुख देख्नु परेको छैन । रिडरका लागि फस्ट डिभिजन ल्याएको दश वर्ष पुग्नु पर्ने हुन्थ्यो । एक पटक खुल्दा उहाँको आठ वर्ष मात्र भएको थियो । अर्को पटक खुल्दा भने उहाँ रिडर भई हाल्नु भयो । २०६५ सालमा । अनि २०६८ सालमा उहाँ प्रोफेसर हुनुभयो ।
केही स्मरण
कुरो २०४५ सालको हो । त्यसबेला उहाँ एमए पढ्दै हुनुहुन्थ्यो पहिलो वर्षमा । उहाँलाई भने छिटै दोस्रो वर्ष पनि सकेर निस्कन पाए हुन्थ्यो भन्ने हतारो थियो । तर, त्यसबेला भारतले नेपाललाई नाकाबन्दी गरेको थियो । अत्यावश्यक बस्तुको अभाव थियो । शायद त्यसैले होला सरकारले त्रिविको होस्टल समेत बन्द गर्यो करिब तीन महिनाको लागि ।
उहाँ अब एक जना भाइकोमा गएर बस्न थाल्नुभयो लैनचौर, जहाँबाट केशर पुस्तकालय तथा ब्रिटिस काउन्सिल नजिक पर्थ्यो । उहाँले त्यो तीन महिनाको दौरान थुप्रै सन्दर्भ सामग्री तथा कोर्सका किताब पनि पढ्न भ्याउनु भयो । अनि केशर पुस्तकालयमा जत्तिको अन्तर्राष्ट्रिय इतिहासका पुराना किताब अन्त नरहेको पनि उहाँको अनुभव छ ।
त्यसबेला एउटा विषय थियो युरोपियन हिस्ट्री, जसलाई अहिले इन्टरनेशनल हिस्ट्री पनि भनिन्छ । उहाँले तीन महिनाको बिचमा त्यसको कोर्स सबै सिद्ध्याउनु भयो । तीन महिना पछि कक्षा सञ्चालन भयो । तर, सरले विषय त्यति राम्रो पर्गेल्न सक्नुभएन । उहाँको कारणले झन्डै डेढ महिना अलमल नै भयो ।
सरले एक दिन तपाईँले यी चिजहरू कहाँ पढ्नु भयो भनेर पनि सोध्नुभयो । ती पुस्तक केन्द्रीय पुस्तकालयमा थिएनन् । अनि उहाँले केशर पुस्तकालयमा पढेको पनि बताउनु भयो ।साथीहरूले अब इन्टरनल एसेस्मेण्टमा सरले रुवाउने भो, पनि भने उहाँलाई । तर, लेख्ने मैले हो के रुवाउनु, उहाँको आत्मविश्वास थियो ।
बिस नम्बरको एसेसमेण्टमा उहाँको अठार आयो । अरूको भने सोह्र भन्दा माथि आएन । विद्यार्थीहरूले विरोध पनि गरे । यसको छानबिनको लागि एउटा कमिटी पनि गठन भयो । यसको उत्तर यसरी लेखिएको छ कि त्यसलाई क्रस गरेर जाने हामी मध्ये विज्ञ कोही छैन र एक जनाले जाँची सकेको कपी अब फेरि जाँच्ने भन्ने कुरो हुन्न भनेर एक जना सरले भनेपछि उहाँको नम्बर अठार नै कायम भयो ।
अर्को एउटा यस्तै प्रसङ्ग छ, दोस्रो वर्षको रिजल्ट भयो त्यसमा पनि उहाँले टप गर्नुभयो । तर, एक पटक डिपार्टमेण्टको जिम्मेवार मान्छेले अर्को साथीलाई तिमी उसको भन्दा चाँडो भिलेज प्रोफाइल बुझाउनु, एकै पटक आउने हो, उसको भन्दा नम्बर तिमीलाई धेरै दिउँला भनेको उहाँले प्रत्यक्ष सुन्नुभयो ।
त्यसपछि उहाँले गएर एनडिएसको डेपुटी डाइरेक्टरलाई आफूलाई भनेको कुरा सुनाउनु भयो । अनि उहाँले पन्ध्र दिन भित्र बुझाउन सक्छौ त भनेर सोध्नुभयो । डाटाहरू तयार थिए त्यसकारण उहाँले सकिन्छ भन्नुभयो । र, दसौँ दिनमा लगेर भिलेज प्रोफाइल बुझाउनु भयो । तर, यता भने थाहा नपाएको जसरी बस्नु भयो एक हप्ता ।
अनि पछि सोध्दा पहिले नै बुझाइसकेको बताउनु भयो । त्यसपछि उहाँको दुई जना विद्यार्थीका प्रोफाइल भिडाएर हेर्नुपर्छ भनेर उहाँ डेपुटी डाइरेक्टरको जानु भएको रहेछ । तर, उहाँले उक्त कुरा पहिले नै जानकारी गराइसकेकोले उहाँले प्रोफाइल दिनु भएनछ ।
पछि रिजल्ट आउँदा अर्को विद्यार्थी भन्दा उहाँको थेसिस तथा भिलेज प्रोफाइल दुवैमा टप नम्बर आयो । उहाँले नेपाल टप नै गर्नुभयो । तर, यस घटना पछि शिक्षकले देखाउने यस्ता चाकडी मनोवृत्ति र लिच्चडपन शैक्षिक क्षेत्रमा शत्रुले पनि भोग्नु नपरोस् भनेर पढाउँदा आफू निकै सचेत रहेको समेत उहाँले बताउनु भयो ।
उहाँले प्रोफेसर, रिडर अनि पिएचडी जस्ता आफ्ना धेरैजसो परीक्षाहरू झापाको मेची क्याम्पसमा रहँदै सकाउनु भएको हो । उहाँलाई त्रिविको सेन्ट्रल डिर्पाटमेण्टमा बसेर काम गर्ने रहर थियो । तर, उहाँले झापाबाट पिएचडी सकेर आउँदा पनि त्यो अवसर पाउनु भएन । पछि उहाँले काठमाण्डौंमा पद्म कन्या क्याम्पसमा बिताउनु भयो पाँच, छ वर्ष ।
त्यसपछि उहाँको प्रमोसन भएर प्रोफेसर समेत भइसक्नु भएको थियो । प्रमोसन पछि उहाँ त्रिविको कर्मचारी सरुवा गर्ने ठाउँमा आफैँ पुग्नुभयो । अब बल्ल उहाँलाई आफूले खोजेका सेन्ट्रल डिपार्टमेण्टमा बसेर काम गर्ने अवसर प्राप्त भयो ।
आफूले आफ्नो सरुवा गर्न मिलेन, अनि मातहतका कर्मचारीलाई लगाएर उहाँ सेन्ट्रल डिपार्टमेण्टमा आउनु भयो । त्यसयता उहाँको त्रिविको बसाइ अहिलेसम्म जारी छ । हाल भने उहाँ त्रिविको इतिहास विभागको डिपार्टमेण्ट हेड हुनुहुन्छ । उहाँले चार वर्ष सहायक डिन भएर पिएचडीको कार्यक्रम चलाएर काम पनि गरिसक्नु भएको छ ।
विवाह
उहाँको विवाह २०४८ सालमा भएको हो । मागी विवाह नै हो । सङ्गठनमा बसेर काम गर्दा पनि धेरैले देखादेखीमै प्रेम विवाह गरेको उहाँ सम्झनुहुन्छ । तर, महिलाहरू प्रति उहाँको त्यस प्रकारको आशक्ति कहिले रहेन, उहाँ भन्नुहुन्छ । मागी विवाह हुनुको कारण पनि शायद त्यही होला, उहाँले प्रस्ट्याउनु भयो ।
उहाँको दुई छोरा । जेठो छोराले एमबिए सकेर आफ्नै काम गर्दै हुनुहुन्छ । कान्छो छोरो भने बिइ सकेर घरमै काम गर्दै र विदेश जाने तयारी पनि गर्दै हुनुहुन्छ ।
प्रकाशन
उहाँका झन्डै दश बाह्रवटा पुस्तक प्रकाशन भएका छन् । जसमा केही कोर्सका किताबहरू पनि छन् भने केही अनुसन्धानसँग सम्बन्धित छन् ।
उहाँ झापामा हुँदा त्यहाँ सिमाना सम्बन्धी विवाद उठ्यो । त्यसलाई लिएर उहाँले एउटा किताब लेख्नुभएको छ, नेपालको पूर्वी सिमानामा भारतीय अतिक्रमण लगायत झापा विद्रोह, नेपाली कम्युनिस्टहरुको गन्तव्य यात्रा, नारायणहिटी दरबार र देशभक्तको अवसान आदि उहाँका प्रकाशनहरू हुन ।
उहाँ इतिहासको विद्यार्थी तर, पिएचडीको विषय भने नेपाली कम्युनिष्टहरुसँग सम्बन्धित छ, अ जर्नी अफ द कम्युनिस्ट अफ नेपाल, ट्वान्टी थ्री इयर्स हिस्ट्री अफ सिपिएन युएमएल ।
सम्मान तथा पुरस्कार
उहाँले एमएमा नेपाल प्रथम भएबापत महेन्द्र विद्या भूषण (ख) अनि पिएचडी सकेपछि भने महेन्द्र विद्या भूषण (क) साथै त्रिविद्वारा प्रदान गरिएको विशिष्ट पुरस्कार प्राप्त गर्नुभएको छ ।