कोरोना कहरमै बागलुङ नगरभित्र धमाधम कालोपत्र

कोरोना कहरमै बागलुङ नगरभित्र धमाधम कालोपत्र

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ २५, २०७८

बागलुङ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा लिन सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा नागरिकहरु घरभित्रै सीमित रहेको समयमा बागलुङ नगरपालिकाले भने नगरभित्रका भित्री र ग्रामीण सडक धमाधम कालोपत्र र मर्मत गरिरहेको छ ।

असार मसान्तभित्र नगरपालिकाको झण्डै १० किलोमिटर जीर्ण सडक कालोपत्र तथा मर्मत गर्ने नगरपालिकाले जनाएको छ । बागलुङ बजारलाई खाल्डाखुल्डीमुक्त गराउने अभियानअन्तर्गत अहिले पुराना तथा कालोपत्र उप्किएका, खाल्डाखुल्डी परेका तथा बाढीपहिराले बिगारेको सडक कालोपत्रको योजना छ । 

अहिले बागलुङ बजारको पुरानो अदालत रोडबाट कृषि विकास बैंक हुँदै गोदाम घरसम्मको सडक कालोपत्र सम्पन्न भइसकेको छ । कोरोना कहरमा मजदुरलाई एकै स्थानमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक कालोपत्र गरिरहेको नगरपालिकाका इञ्जीनियर गौरव शर्माले बताउनुभयो ।

अहिले एक किलोमिटरभन्दा बढी सडक कालोपत्र भइरहको र जेठ मसान्तभित्र पाँच किलोमिटर र असार मसान्तभित्र १० किलोमिटर सडक कालोपत्र गरिने इञ्जीनियर शर्माको भनाइ छ । 

बागलुङ नगरभित्रको जीर्ण सडक कालोपत्र तथा मर्मत शीर्षकमा सडक बोर्ड तथा बागलुङ नगरपालिकाको साझेदारीमा सडक कालोपत्रको काम भइरहेको छ । चार वर्षअघि बागलुङ नगर खानेपानीको आयोजना विस्तारका क्रममा बनेका खाल्डाखुल्डीले बजार कुरुप बन्दै आएको थियो । 

असार मसान्तसम्म मुख्य सडकका खाल्डाखुल्डी मर्मत भइसक्ने नगरपालिकाको भनाइ छ । एक करोड ३८ लाखको लागतमा ९.२५ किलोमिटर सडक कालोपत्र, खालटाखुल्डी मर्मत गर्ने योजना छ ।

आरएस निर्माण सेवाले सडक बोर्डको  ९२ लाख र बागलुङ नगरपालिकाको  ४६ लाख लागतमा कालोपत्रको काम गरिरहेको छ । उक्त रकमबाट बागलुङ बजारको देउराली चोक, तीनतलेबाट धारपानीसम्म, पुरानो वन कार्यालयबाट बुद्धचोक हूँदै पेन्सन क्याम्पसम्म, कुडुँलेको तिरुपती चोक हुँदै ठुलस्वारासम्मको सडक र पुरानो वन कार्यालयबाट बागलुङ एफएमसम्मको सडक कालोपत्र हुनेछ ।

यस योजना कार्यान्वयन भए बागलुङ बजारका सबै मुख्य सडक असार मसान्तभित्र कालोपत्र भइसक्नेछन् । बागलुङ बजारको हुलाकचोकबाट जिल्ला अदालत हुँदै रुद्रेपिपलसम्मको सडक भने सघन शहरी पूर्वाधार विकास आयोजनाले सडक कालोपत्र गर्न पूर्वाधार निर्माण गरे पनि सडक कालोपत्र भएको छैन । 

नगरपालिकामा धेरै पहिले कालोपत्र भएका तर अहिले निकै जीर्ण भएको सडक अहिलेको प्राथमिकतामा परेको र १० किलोमिटर सडक कालोपत्र र मर्मत हुनासाथ अधिकांश बागलुङ बजारका सडक कालोपत्र र खाल्डाखुल्डीमुक्त भइसक्ने नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“गत वर्ष कोरोनामा धेरै विकासे आयोजना प्रभावित बने तर अहिले सरकारले निर्माणको काम नरोक्ने भनेका कारण स्वास्थ्य सुरक्षा अपनाएर विकास निर्माण भइरहेको छ” नगरप्रमुख पौडेलले भन्नुभयो ।