लोकसंवाद संवाददाता | समाज | जेठ २६, २०७८
म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका–५ अर्मनमा जथाभावी खनिएको सडकका कारण पहिरो सिर्जना भएको छ । सडक विस्तार गर्दा खनिएको माटोको सुरक्षित व्यवस्थापन नगर्दा अर्मनको हाँडेभिर बस्ती पहिरोको जोखिममा परेको हो । पोकबाट नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक विस्तारका क्रममा नेटाखण्डको पाखोमा फालिएका ढुङ्गा–माटोले हाडेभिरको बस्ती, स्वास्थ्यचौकी जोखिममा पर्नुका साथै खानेपानीको मुहान, सिँचाइको नहर र खेतीयोग्य जमिन पुरिएको छ ।
पहिराले खिमबहादुर रोका, कर्णबहादुर रोका, रनवीर रोकासहित हाडेभिरका सात घर उच्च जोखिममा परेका छन् । माथिल्लो हाडेभिर खोल्लाका दलबहादुर थापाका परिवार सडकबाट आएको पहिरोले यसअघि नै विस्थापित भएका थियो । स्थानीयवासी अस्तमान घर्तीले सडक विस्तारका लागि स्काभेटरले पहाड खन्न थालेसँगै पहिरो सक्रिय भएको बताउनुभयो ।
“बाह्र वर्षअघि सडक खन्दा मेरो १० रोपनी पाखोबारी पहिरोमा परिणत भएको थियो”, उहाँले भन्नुभयो, “अहिले फेरि सडक फराकिलो बनाउन खनेको माटो पाखोमा फालिँदा पहिरो चलेर उठिबास लगायो ।” चालु आर्थिक वर्षमा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले नेटा–अर्मन–किमचौर हुँदै ताराखोला जोड्ने सडक स्तरोन्नतिका लागि त्रिशक्ति–श्रमजीवी जेभीसँग रु ८१ लख ४६ हजार ६५६ मा ठेक्का सम्झौता गरेको थियो ।
पूर्वाधार कार्यालय र निर्माण व्यवसायीको लापरवाहीका कारण पाखो खनेर बस्तीतर्फ माटो फालिँदा पहिरो चल्न थालेको हाँडेभिरका बासिन्दा चित्रकला सापकोटाले बताउनुभयो । “सडक खन्दा निस्कने माटो एक किलोमिटरसम्म टाढा लगेर व्यवस्थापन गर्ने सम्झौता कार्यान्वयनमा सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले चासो देखाएका छैनन्”, उहाँले भन्नुभयो, “डोजरले पहाडको भित्ता कोपरेर पाखाभरि माटो फाल्दा रुख, बिरुवा र बारीमा लगाएको खेतीबाली मासिएको छ ।”
पाखोमा पालिएको माटो आकाशबाट पानी पर्नासाथ पहिरो बनेर बग्न थालेको हो । पहिराले ३५ घरधुरीले उपभोग गर्ने खानेपानी आयोजना र आठ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने नहर पुरेपछि धानको ब्याड राख्न नपाएको स्थानीयवासी हर्कबहादुर रोकाले बताउनुभयो । “मुहान पुरिएपछि खानेपानी आपूर्ति भएको छैन”, उहाँले भन्नुभयो, “नहर पनि पहिराले पुरिएकाले हाडेभिर र काँशेबगरमा धानको ब्याड राख्न समस्या भएको छ ।”
निर्माण व्यवसायी प्रकाश बानियाँले सम्झौतामा उल्लेखित एक किलोमिटर क्षेत्रभित्र माटो व्यवस्थापन गर्न ठाउँ नपाएको बताउनुभयो । “एक किलोमिटर वरपर माटो फाल्ने ठाउँ नै भेटिएन”, उहाँले भन्नुभयो, “माटो फाल्ने ठाउँ नपाउँदा समस्या भएको हो । त्यहाँ ३० मिटर ग्यावियन पर्खाल लगाएर काम रोक्ने सोचेको छु ।”