लोकसंवाद संवाददाता | समाचार | जेठ २७, २०७८
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार १ राज्यमन्त्री र ७ मन्त्रीसहित ८ जना थपेसँगै २५ सदस्यीय मन्त्रीपरिषद पुरा भएको छ ।
राजपा र एमालेका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले अठारौं पटक मन्त्रिपरिषद बिस्तार गर्नुभएको हो ।
गृहमन्त्रीमा एमालेका खगराज अधिकारी, सञ्चार मन्त्रीमा नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशाकुमारी विकलाई ओलीले आज मन्त्री बनाएका हुन् ।
प्रधानमन्त्री ओलीले नियुक्त गर्नुभएको सञ्चार मन्त्री नैनकला थापा पूर्वगृहमन्त्री रामबहादुर थापाको श्रीमती हुनुहुन्छ । सर्वोच्च अदालतले जेठ ६ को आदेशअनुसार रामबहादुर थापाको सांसद पद खारेज भएको थियो।
यस्तै प्रधानमन्त्रीले कास्कीका एमाले नेता खगराज अधिकारी गृहमन्त्री बनाउनु भएको छ ।
आज गृहमन्त्रीको सपथ लिन लाग्नु भएका अधिकारी यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनुहुन्थ्यो । २०६४ सालको संविधान सभा चुनावमा पराजित हुनुभएका अधिकारीले २०७० मा टिकट नै पाउनु भएको थिएन ।
२०७४ मा कास्कीबाट चुनाव जित्नु भएको उहाँ लगत्तै एमाले प्रमुख सचेतक बन्नु भएको थियो । नेकपाको एकता भएपछि भने उहाँ हटेर देव गुरूङ प्रमुख सचेतक बन्नु भएको थियो ।
यसअघि गत जेठ २१ गते प्रधानमन्त्री ओलीले राजपाका एक उपप्रधानसहित १० मन्त्रीहरूसमेटेर मन्त्रिमण्डल पुनर्गठन गर्नु भएको थियो । त्यसबेला जसपाबाट राजेन्द्र महतो उपप्रधान तथा सहरी विकास मन्त्री हुनु भएको थियो भने अन्य मन्त्रीमा शरदसिंह भण्डारी ऊर्जा, अनिलकुमार झा खानेपानी, लक्ष्मणलाल कर्ण भूमि सुधार, एकवाल मियाँ खेलकुद, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया पर्यटन, चन्दा चौधरी महिला तथा बालबालिका, रेनुका गुरूङ महिला राज्यमन्त्री तथा चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री बनाइएका थिए।
हालैको २५ सदस्यीय ओली मन्त्रिपरिषद