लोकसंवाद संवाददाता | समाचार | जेठ २८, २०७८
काठमाडौ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री दिपक मनाङेलाई पदमुक्त गर्नुभएको छ । कामचलाउ हैसियतमा रहेका मुख्यमन्त्री गुरुङले मनाङेलाई पदमुक्त गरिएको पत्र प्रदेशप्रमुखलाई पठाउनुभएको हो ।
बहालवाला मन्त्री भएर पनि विश्वासको मत नदिएपछि मनाङेलाई गुरुङले पदमुक्त गर्नुभएको हो । बिहीबार मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने क्रममा मतदानका बखत मनाङे प्रदेशसभामा अनुपस्थित रहनुभएको थियो ।
मनाङेले सम्हाल्दै आएको युवा तथा खेलकुद मन्त्रालय अब आफैले सम्हाल्ने गुरुङले प्रदेश प्रमुखलाई पठाएको पत्रमा उल्लेख छ। मनाङ ‘ख’ बाट प्रदेशसभामा निर्वाचित मनाङेलाई मुख्यमन्त्री गुरुङले केही दिनअघि मात्रै मन्त्री बनाउनुभएको थियो ।